PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

नारायणी तीरका ७० ‘स्ट्रिट क्याफे’ बन्द गरेर महाधिवेशनमा सहभागी हुन एमालेको उर्दी



निशा गुरुङ

नारायणी तीरका ७० ‘स्ट्रिट क्याफे’ बन्द गरेर महाधिवेशनमा सहभागी हुन एमालेको उर्दी

काठमाडौं: नेकपा (एमाले) को १०औँ महाधिवेशनका लागि चितवनको नारायणी नदी किनारमा स्टेज बनाइएको छ। नदीका दुबैतर्फबाट महाधिवेशनलाई अवलोकन गर्न सकिने गरी व्यवस्था मिलाइएको एमाले महाधिवेशन मुल व्यवस्थापन समितले जनाएको छ। ५ लाख कार्यकर्तालाई नारायणी किनारमा उतारेर राष्ट्रिय महाधिवेशनको उद्घाटन हुने एमालेको दाबी छ।

महाधिवेशनमा प्रधानमान्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै विभिन्न दलका नेताहरु सहभागी हुनेछन्। महाधिवेशनमा भारत, बंगलादेश, कम्बोडियालगयातका देशका नेता भाग लिनेछन्। चिनियाँ कम्युनिस्ट पार्टीको भिडियो सन्देश सुनाइने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

महाधिवेशनमा ११ गते साँझ ६ बजेसम्म उम्मेद्वारी दर्ता हुनेछ। १२ गते ८ बजेबाट मतदान हुनेछ। १०० भोटिङ मेसिनमध्ये ९० वटामा मतदान हुने उनले जनाए। मंसिर १३ गते निर्वाचनको मत परिणाम घोषणा हुनेछ।

पसल बन्द गर्न एमालेको आदेश

तामझामका साथ महाधिवेशन गर्न लागेको एमालेले महाधिवेशन स्थल नजिकै रहेका चटपटे/पानीपुरी र चियापसल 'स्ट्रिट क्याफे' स्टल सञ्चालन गर्न नदिने भएको छ। नदी किनारमा सधैं सञ्चालनमा रहेका पसलहरुलाई एमालेले शुक्रबार बन्द गर्न निर्देशन दिएको हो। पसल बन्द गरेर महाधिवेशनमा सहभागी हुन निर्देशन दिएको व्यापारीहरुले बताएका छन्। शुक्रबार नदी किनार सहभागीले भरीभराऊ हुने भन्दै पसल बन्द गर्न उनीहरुलाई लिखित रुपमै निर्देशन आएको व्यापारीहरुको भनाई छ।

'यहाँ राख्ने ठाउँ नै हुँदैन भोलि एक दिन बन्द गर्नुस् भनेर पत्र आएको छ,' एक व्यापारीले भने।

नदी किनारमा ७० वटा स्टल छन्। बजार ब्यवस्थापन समितिले आफूहरुलाई पत्र पठाएको र नगरपालिकाले पनि पसल बन्द गर्न आग्रह गरेको उनीहरुको भनाइ छ। अर्का एक व्यापारीले शुक्रबार एमालेको महाधिवेशनमा आफ्नो व्यापार हुने भए पनि एमालेले आदेश दिएकाले पसल बन्द गर्नुपर्ने बताए।

भने, 'धेरै राम्रो व्यापार भोलि नै हुने थियो। तर पसल नै नराख्नुस भन्नुभएको छ। पसलहरु बन्द हुन्छन।'

साढे ७ करोड खर्च गरेर एमालेले महाधिवेशन गर्न लागेको हो। पार्टीका कार्यकर्ताबाट अनिवार्य रुपमा १ सय रुपैयाँ उठाएर महाधिवेशन गर्न लागिएको एमालेको भनाई छ। प्रचार विभागका प्रमुख भट्टराईले कसैसँग पनि एमालेले चन्दा मागेर महाधिवेशन गर्न नलागेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell