PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सर्वसम्मत हुनबाट रोक्नमात्र मेरो उम्मेद्वारी भन्नु हाँसउठ्दो कुरा : भीम रावल, ‘ओलीले स्नेह देखाउनुभयो’



पहिलोपोस्ट

सर्वसम्मत हुनबाट रोक्नमात्र मेरो उम्मेद्वारी भन्नु हाँसउठ्दो कुरा : भीम रावल, ‘ओलीले स्नेह देखाउनुभयो’

चितवन: नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमालेको अध्यक्ष पदमा उम्मेद्वारी दिएपछि अध्यक्ष केपी ओलीको सर्वसम्मत हुने इच्छामा ब्रेक लागेको छ। रावलको उम्मेद्वारीपछि पनि एमालेको १० औं महाधिवेशनमा पदाधिकारी चयनमा सर्वसम्मत गर्ने प्रयास भइरहेको छ। यद्यपि महासचिव लगायतका पदमा एमालेका नेताहरुले उम्मेद्वारी घोषणा गरिरहका छन्। पदाधिकारी चयनमा एमालेले अधिकांश ठाउँमा सर्वसम्मत विधि अपनाएको थियो। रावल लगायतका नेताहरुले उम्मेद्वारी फिर्ता नलिने अडान लिइरहेका छन्। अब अध्यक्ष ओली र रावलबिच अध्यक्ष पदका लागि प्रतिस्पर्धा हुने भएको छ। एमालेको विधानअनुसार छानिने १५ जना पदाधिकारीका लागि एमालेभित्र समूह नदेखिएको भए पनि आकांक्षी नेताहरुको संख्या धेरै छ। यस्तो अवस्थामा रावलले अध्यक्ष पदमा जित्न के कस्तो तयारी गरिरहेका छन् भनेर रावलसँग पहिलोपोस्टकर्मी प्रकाश भण्डारीनेत्र तामाङले सौराह पुगेका रावललाई सोधेका छन् :

अध्यक्षको उम्मेद्वारी दिएपछि पार्टीभित्रको माहोल कस्तो पाउनु भएको छ?

पहिले पहिलेको महाधिवेशनमा धेरै लामो समयदेखि उम्मेद्वारी दिने तयारी गर्थ्यौँ, प्रचारप्रसार गर्थ्यौँ र जिल्ला जिल्लमा जान्थ्यौँ। अहिले त्यो हुन सकेन, विभिन्न कारणले। त्यसले गर्दा जिल्लामा कस्तो स्थिति छ भन्ने त सबै ठाउँको जानकारी छैन। समग्रमा हामी जुन अवस्थामा छौँ। जे स्थिति हामीले देख्यौँ। त्यो स्थितिमा नेकपा एमालेका अधिकांश कार्यकर्ता नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ भन्ने मलाई लागेको छ।

नेतृत्व परिवर्तन पक्षमा कार्यकर्ता छन् भन्नुभयो, तपाईको आफ्नै तयारी चाहिँ कस्तो छ नि?

एमालेका कार्यकर्ता धेरै परिपक्क हुनुहुन्छ। धेरै लामो संघर्ष गरेर आउनुभएको छ। आज सञ्चारको युग हो। सञ्चार माध्यमबाट वा पार्टीका भेलाबाट आफ्ना विचार सार्वजनिक गर्ने हो। तर त्यो समय त छैन। तर हामीले विगतमा जुन गतिविधि गर्दै आयौँ। त्यसमा कार्यकर्ता परिचित हुनुहुन्छ। त्यसैलाई विश्वास गरेर मलाई ९ औं महाधिवेशनमा सबैभन्दा धेरै मत दिएर उपाध्यक्षमा जिताउनुभएको हो। यस बिचमा जे जति घटना भए त्यसको जिम्मेवार को को हो। केन्द्रमा मात्रै होइन सातै वटा प्रदेशमा एमालेको सरकार ढलेको छ। यसलाई एमालेका प्रतिनिधिले बुझ्नुभएकै छ।

महाधिवेशन प्रतिनिधि छनोटमा पनि केही ठाउँमा विवाद भएको थियो। त्यसमा तपाइले पार्टीमै पनि फरक मत राख्नु भयो। कति ठाउँमा छ त्यस्तो?

धेरै ठाउँमा देखिएको छ यस्तो स्थितिमा। यो मैलेमात्रै भनेको होइन। सम्बन्धित जिल्लाका अध्यक्षहरुले लिखित उजुरी दिनुभएको छ। मौखिक रुपमा गुनासो गर्नुभएको छ। कैलालीको लम्किचुहामा खासगरी समस्या देखिएको छ। प्रतिनिधिको यतिकै छानिएको छ। यस्तो कुराले लोकतन्त्रलाई बलियो बनाउँदैन। मैले यस्तो कुरा सच्याउनुपर्छ भनेको छु।

ओली पक्षका धेरै प्रतिनिधि छनोट भएका छन्। यस्तो अवस्थामा तपाइले अध्यक्षमा दाबी गर्नुभएको छ। जित्ने आधार के छन्?

एमालेको संगठनात्मक प्रणालीलाई हेर्नुभयो भने नेकपा एमालेको कार्यकर्ता देशभक्तिपूर्ण भावनाले उत्प्रेरित छन्। विधि र पद्धतिको पक्षमा छन्। ९ औं महाधिवेशनमा हामी प्यानल बनाएर प्रतिस्पर्धा गरेका थियौँ। तर प्रतिनिधिहरुले सन्तुलन कायम गराइदिनुभयो। म विभिन्न महाधिवेशनमा निर्वाचित भएरै आएको छु। कतिपय ठाउँमा निर्वाचन नभएका घटना र कतिपय ठाउँमा प्रतिनिधि छनोटमा निर्वाचन नभएको घटना छन्। कतै सर्वसम्त भए पनि नभए पनि प्रतिनिधिहरुले पार्टीको सैद्धान्तिक पक्षलाई ध्यान दिनुभएको छ। कतिपय मानिसले महाधिवेशनलाई जित हारको मात्रै विषय ठान्छन्। या कुनै व्यक्ति पदमा जाने कुरालाई जित हारका रुपमा मात्रै हेर्छन्। जित हारको कुरा गर्ने हो भने वर्तमान अध्यक्ष ८ औं महाधिवेशनमा अध्यक्षमा र म उपाध्यक्षमा लडेका थियौँ दुबै जनाले हार्‍यौ। अरु निर्वाचनमा पनि मानिसहरु हारेका छन्। हामीले पार्टीमा उठाएका कुरा स्थापित गर्ने कुरा प्रमुख कुरा हो। र ति कुरालाई स्थापित गरेर नेतृत्व दिने कुरा हो। त्यसमा म सफल हुन्छु त्यसमा आशावादी छु।

नारायगढमा हामीले एमसीसी मुर्दावाद भन्दै नारा लगाएको देख्यौँ। तपाईहरु महाधिवेशनमा आइपुग्नु हुन्छ भनेर होला?

नारायगढको चोक चोकमा एमसीसीको विरोधमा नारा लगाएको हो भने त्यस कुरामा म खुसी छु। त्यसरी नारा लगाउने जनसमुदायलाई म धन्यवाद दिन चाहन्छु। एमसीसीले नेपाल उपनिवेशकरणको बाटोमा जान्छ। पृथ्वीनारायण शाहले एकीकरण गरेको देशमा हामी कहिले उपनिवेश भएको छैन। थुप्रै कुराहरु त्यसमा छन्। त्यसका विरुद्धमा जनताले कुरा उठाएका हुन् भने त्यो एकदमै राम्रो कुरा हो। म आवाज उठाउने सबैलाई धन्यवाद दिन चाहन्छु।

ओली राष्ट्रियताको नाराले नै चर्चित हुनुभयो, तपाइ पनि राष्ट्रियताको पक्षमा कुरा गर्ने नेता। ओलीले उठाएको राष्ट्रिय मुद्दाले तपाइ छायाँमा पर्नु भएको हो जस्तो लाग्दैन?

होइन, जतिबेला भारतीय नाकाबन्दी थियो त्यतिबेला उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो म उपप्रधानमन्त्री थिए। त्यो हामीले संयुक्त रुपमा सामना गरेका हौ नि। त्यो नाकाबन्दी भनेको अन्तरार्ष्ट्रिय कानुन विपरित छ तत्काल हट्नुपर्छ भनेर प्रखर रुपमा आवाज उठाउनेमध्ये उपप्रधानमन्त्री र रक्षा मन्त्री भएर पनि म हो। यति त्यो बेलाको अडानको श्रेय प्रधानमन्त्रीलाई जान्छ भने मलाई नजानुपर्ने केही स्थिति देख्दिन।

अस्ति मात्रै ओलीले रावलले मलाई चुनौति दिनुभएको छैन भन्नुभएको छ। तपाइलाई उहाँले चुनौतिको रुपमा लिनुभएको छैन। यसलाई कसरी हेर्नुहुन्छ?

उहाँले के सोचेर भन्नुभयो उहाँले जान्ने कुरा हो। तर उहाँको जुन शब्दहरु थिए यसमा भारी बिसाउनु/स्नेहपूर्ण हो भन्नुभयो। सकारात्मक रुपमै उहाँले भन्नुभएको छ। मैले स्थायी कमिटीको बैठकमा पनि के भने मलाई सबै कमरेडले मत दिएर जिताउनु पर्‍यो। उम्मेद्वारी प्रति सदभाव देखाउनुस भनेर औपचारिक रुपमा पनि भने। उहाँले मलाई भारी बिसाउनुस भनेर भनेको हो भने उहाँ ७० वर्षको भइसक्नुभो। मलाई विश्वास गरेर मेरो नेतृत्वमाथि विश्वास गरेर दिनुस् भने। मेरो उम्मेद्वारी किन भनेर त भनिसकेको छु।

संस्थापन पक्षले केपी ओलीलाई सर्वसम्मत हुन नदिन मात्रै तपाइको उम्मेद्वारी हो भनेर आरोप लगाइरेहको छ नि?

यो हाँसो उठ्दो कुरा हो। नेकपा एमालेको स्थायी कमिटी या अरु कुनै कमिटीमा निर्वाचन नगर्ने भनेर कहाँ निर्णय गरेको छ? ती मान्छेका मन मनका कुरा त हुन्। अहिले तपाईले महासचिवमा विभिन्न नेताहरुले दाबी गर्नुभएको देखिसक्नुभएको छ। म मात्रै निर्वाचनमा उठ्ने कुरा छैन नि। जबजको सिद्धान्तले प्रतिस्पर्धालाई अंगिकार गरेको छ। पार्टीभित्र र राज्य चलाउन पनि जनताबाट अनुमोदित भएको हुनुपर्छ भनेको छ। एमालेको सिद्धान्त मान्नेले कसैले उम्मेद्वारी दिँदा सर्वसम्मत हुनबाट रोक्नका लागि हो भन्छ भने त्यो सिद्धान्त नबुझेको मान्छे हो। मैले पार्टीलाई सिद्धान्तमा चलाएर समस्या देखा परेका समस्या समाधान गर्ने कुरा गरेको छुँ।

एमालेको १५ पदाधिकारीमा अरु क-कसको के छ? यो महाधिवेशनमा टिम हुन्न भनिएको छ।

समूहगत रुपमा उम्मेद्वारी नदिने निर्णय गर्‍यौ। त्यस्तो निर्णय गरेको हुनले म एक्लो उभिएको तपाइँले देख्नुभएको हो। ८ औं महाधिवेशनमा पनि र ९ औं महाधिशेनमा पनि समूहगत रुपमा उम्मेद्वारी दियौँ। उहाँ र म दुबैले ८ औं महाधिवेशनमा हार्‍यौ। अहिले समूहगत रुपमा उम्मेद्वारी नदिने भनेर नदिएको हो। यदि समूहगत रुपमा दिने भए यत्रो नेकपा एमालेको कार्यकर्ता पंक्तिमा समूह बनाएर केन्द्रीय कमिटी लगायतमा आफ्नो सूची प्रस्तुत गर्थे।

वरिष्ठ उपाध्यक्षका लागि अध्यक्षमा उम्मेद्वारी दिएर लबिङ गर्नुभयो भन्ने आरोप छ?

लोकतान्त्रिक परिपार्टीमा सबैले आफ्नो धारणा राख्छन्। मैले किन भनेर भनिसकेको छु। त्यसका लागि मत दिनुस् भनेर आम कार्यकर्तामाझ आह्वान गरिरहेको छु। म पार्टीको अध्यक्ष भएर एमालेलाई अहिलेको समस्याबाट मुक्ति दिलाउनमा कटिबद्ध छु।

त्यसो भने तपाइको उम्मेद्वारी फिर्ता हुँदैन?

म अध्यक्ष पदको उम्मेद्वारी दिएर काठमाडौंबाट सौराह आइसके। यति अगाडी बढिसक्दा पनि कतिपय साथीहरुले तपाइको उम्मेद्वारी टिक्छ कि टिक्दैन भन्ने साथीले मलाई शुभेच्छा दिनुभएदेखि म त्यसप्रति खुसी हुने थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell