चितवन : नेकपा एमालेको महाधिवेशनको उद्घाटन अहिले नारायणी नदी किनारमा हुँदैछ। उद्घाटन सत्रका लागि एमालेको नेतृत्व तहका साथै विभिन्न राजनीतिक दलका प्रमुख र नेताहरु कार्यक्रमस्थल पुगिरहेका छन्। उद्घाटन सत्रमा एमालेले ५ लाख मानिस उतार्ने भन्दै त्यही अनुसार व्यवस्थापन गरेको दाबी गरेको छ।
एमालेले उद्घाटनमा सयौं अतिथि अट्ने गरी स्टेज बनाएको छ। एमालेले नदी किनारमा बनाएको स्टेजको चर्चा केही दिन देखि व्यापक छ। कारण स्टेजको मूल्य।
महाधिवेशनका लागि करिब साढे ७ करोड खर्च गर्ने बताएको एमालेले स्टेजमा मात्रै ५० लाख खर्च गरेको छ। त्यसैले पनि यसपटकको अधिवेशनमा उक्त स्टेजको धेरै चर्चा भयो।
लाखौं मूल्यमा स्टेज त बन्यो। त्यही स्टेज र महाधिवेशन नियाल्न हजारौं मानिस अहिने नारायणी नदी किनार पुगिरहेका छन्। तर, एमालेले 'भिड' व्यवस्थापन भने फितलो देखिएको छ।
लाखौं संख्यामा मानिस उतार्ने दाबी गरेको एमालेले आधारभूत सेवाको समेत व्यवस्थापन गर्न सकेको छैन। ५० लाखको स्टेज वरिपरि शौच गर्ने स्थान नहुँदा खुलामा नै मानिसहरु शौच गरिरहेका छन्।
