PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

देउवाकै सामुन्ने ओलीले सरकारलाई लगाए 'दक्षिणपन्थी'को आक्षेप : काम गर्न चाहे पनि हिजो मेरा खुट्टा तान्ने आज उहाँका पछि छन्



पहिलोपोस्ट

देउवाकै सामुन्ने ओलीले सरकारलाई लगाए 'दक्षिणपन्थी'को आक्षेप : काम गर्न चाहे पनि हिजो मेरा खुट्टा तान्ने आज उहाँका पछि छन्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार विरुद्ध प्रधानमन्त्रीलाई मञ्चमै राखेर दक्षिणपन्थीको आरोप लगाएका छन्। 

एमालेको १० औं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिन पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मञ्चमा राखेर 'परमादेशको सरकार' भन्दै दक्षिणपन्थीको संज्ञा दिए। 

'अहिले केहीले हसिया हतौडाको झण्डा बोकेर कम्युनिस्ट सरकार ढालेर दक्षिण पन्थी सरकार बनाउनेले पनि हसिया हतौडा बोकेका छन्,' उनले भने। 

सरकारको विषयमा टिप्पणी गर्न वाञ्छनीय नभएको भन्दै उनले सरकार विरुद्ध व्यंग्य गरे। 

'सरकारको सम्बन्धमा केही भन्न चाहन्न प्रधानमन्त्रीलाई बोलाएर सरकारको टिप्पणी गर्नु वान्छनीय होइन,' उनले भने, 'प्रधानमन्त्रीले काम गर्न चाहनुहुन्थ्यो। उहाँलाई काम गर्न दिइएको पो छैन कि। किनकि हिजो मलाई अफ्ठ्यारो पार्ने मेरा खुट्टा तान्ने उहाँको पछि छन्।' 

उनले प्रधानमन्त्री देउवाले चाहे पनि शान्ति प्रक्रिया पूरा गर्न नसक्ने दाबी गरे। 

विकास आफूले मात्र गर्न सक्ने दावी

ओलीले आगामी ९ वर्ष भित्र दिगो विकास लक्ष्य हासिल गर्ने बताएका छन्। 

एमालेको १० औं महाधिवेशनको उद्घाटन गर्दै ओलीले नेपाललाई अल्पविकशील राष्ट्रवाट विकासशील राष्ट्रमा स्तरोन्नती गराएको दावी गर्दै भने - 'हामी देशलाई छोटो समयमै एउटा समृद्ध राष्ट्र बनाउनु छ।' 

एमाले जाति, भाषाका नाममा जनता भिडाएर सद्‍भाव भाड्ने कुराको विरोधमा रहेको भन्दै सामाजिक सद्‍भावको पक्षमा रहेको उनले बताए। 

'हाम्रो नीति विद्‍वेषमा होइन, राष्ट्रिय एकताको हो,' उनले भने, 'हामी वास्तविक अर्थमा सही ढंगले यथार्थ ढंगले त्यसलाई प्रयोग गर्न चाहन्छौँ। स्वाधिनता भन्यौँ। तर वास्तविक अभ्यास भएन। एमालेले वास्तविक स्वाधिनताको अभ्यास थालेको छ।'

आफ्नो पालामा लिपु लेक, लिम्पियाधुरा समेटर नक्सा जारी गरेको भन्दै संवादबाट त्यसलाई फिर्ता लिनुपर्ने बताए। 'हामीले वास्तविक रुपमा नक्सामा समेटिएको भूमि फिर्ता नलिँदासम्म हेपिएको महसुस गरिरहने छौँ,' उनले भने।

देउवाकै सामुन्ने 'परमादेश सरकार' भन्दै ओलीले भने : अब जनमतको सरकार बनाउँछौं

ओलीले अब आफूहरु चुनाव केन्द्रित हुने उद्घोष गरेका छन्। चितवनस्थित नारायणी नदी किनारमा आयोजित १० औं महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै ओलीले अब आफूहरु निर्वाचनको तयारीमा जुट्ने बताएका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा नै उनले देउवा सरकार परामादेशबाट बनेको भन्दै ओलीले महाधिवेशनपछि एमाले जनमतको सरकार बनाउन लाग्ने बताएका हुन्।

'मैले परामादेशबाट सरकार नबनाउँ भनेको हो। अब हामी चुनावको तयारी तर्फ जान्दैछौं। जनमततर्फ जाँदैछ,' उनले भने।

ओलीले अब हुने निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी समेत गरे। भने, 'चुनाव आउँदैछ। एमालेले बहुमत ल्याउँछ। तर एमालका लागि होइन। देश बनाउन बहुमत ल्याउँछौं।'

उनले नेपाललाई अन्धकार युगबाट यहाँ सम्म ल्याउन एमालेले ठूलो भूमिका खेलेको भन्दै देशमा अहिले देखिएको समस्य ठिक ढंगले पहिचान गरेर समाधान गर्ने क्षमता आफूहरुसँग मात्र रहेको बताए।

अन्तरिक्षको बाटो आफ्नो पालामा फिर्ता लिएको ओलीको दाबी

ओलीले नेपालको उपस्थिति आफ्नो पालामा अन्तरिक्षसम्म पुर्‍याएको दाबी गरेका छन्। 

एमालेको १० औं महाधिवेशनको उद्घाटन गर्दै उनले भने, 'धर्तीको अर्विट छेडेर सानो भए पनि भूउपग्रह पठाएका छौँ। अब ठूलो पठाउने छौँ।' 

उनले आफ्नो पालामा अन्तरिक्षमा अरुले ओगटेको नेपालको बाटो फिर्ता लिएको दाबी गरे। 

'स्याटेलाइटका लागि हाम्रो मार्ग रहेनछ। अरुले ओगटेको हाम्रो मार्ग फिर्ता लिएका छौँ। अब अन्तरिक्षमा हाम्रो मार्ग छ। हामीले दाबी गरेका छौँ,' उनले भने। 

'जलमार्ग नदीका मार्गका सम्बन्धमा भारतसँग सहमति भइसकेको छ। हामीले काम गरिरहेका छौँ,' उनले भने।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell