PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

लाखौं खर्चिएको स्टेज देखियो तर देखिएन व्यवस्थापनः समयको भएन ख्याल, पिउने पानीको अभाव



प्रकाश भण्डारी

लाखौं खर्चिएको स्टेज देखियो तर देखिएन व्यवस्थापनः समयको भएन ख्याल, पिउने पानीको अभाव

चितवन: नेकपा (एमाले) ले १०औं राष्ट्रिय महाधिवेशनको प्रचार महिना दिन अघिदेखि नै थालेको थियो। भव्य बनाउन भन्दै कार्यकर्तासँग कम्तिमा १ सय रुपैयाँ उठाएको एमालेले साढे ७ करोड खर्च हुने जनाएको छ। एमालेले स्टेज निर्माणमा मात्रै ५० लाख खर्च भएको जनाएको छ।

कार्यकर्ता सहभागिताका हिसाबले एमालेको १०औँ महाधिवेशन शुक्रबार दिनभर भीडभाडपूर्ण रह्यो। देशभरिका कार्यकर्ता उतारिएको महाधिवेशन व्यवस्थापकीय कमजोरी भने सजिलै देख्न सकिन्थ्यो। नारायणघाट बजारको मुख्य राजमार्ग क्षेत्र दिनभर अस्तव्यस्त रह्यो भने सहभागीको लागि गरिएको व्यवस्थापन समेत चुस्त रहन सकेन।

५० लाखमा स्टेज तर बनेनन् शौचालय

एमालेका नेता कार्यकर्ता बस्नका लागि भव्य मञ्च बनाइएको थियो। मञ्चमा एमालेको केन्द्रीय कमिटी सदस्य, केन्द्रीय निकाय, विदेशी पाहुन लगाउयतलाई राख्ने ठाउँ बनाइएको थियो। मञ्चको अगाडिको भुँइमा कार्यकर्तालाई राखियो। हजरौँ कार्यकर्ताको उपस्थितिमा उद्घाटन सम्पन्न भए पनि सहभागीका लागि शौचालयको भने अभाव देखिएको थियो। मञ्चको पछाडिको भागमा केही शौचालय भए पनि कार्यकर्तालाई पछाडि जान अनुमति थिएन। त्यसैले कार्यकर्ता दिनभर दिसापिसाब च्यापर बस्न बाध्य भए। नदी किनारमा रहेको सानो खोँचमा नै कार्यकर्ताले पिसाब गरे। शौचालयको राम्रो प्रबन्ध नगरिएकाले यसरी खोचमा लुकेर कार्यकर्ता पिसाब फिर्न बाध्य भएका हुन्।

पिउने पानीको प्रबन्ध खै?

महाधिवेशनलाई शक्ति प्रदर्शनका हिसाबले लिएको एमालेले प्रदर्शनमा ध्यन त दियो तर व्यवस्थापनमा भने आयोजकको राम्रो ध्यान जान सकेन। शौचालयको राम्रो प्रबन्ध मात्रै नगरिएको होइन पिउने पानीको समेत कार्यकर्ताले अभाव महसुस गर्नुपर्‍यो। हजारौँ कार्यकर्ताको उपस्थितिले भीडभाडपूर्ण अवस्थामा पिउने पानीको अभावका कारण कार्यकर्ता कार्यक्रमस्थबाट निस्किएर पिउने पानी किन्न नारायणगढ बजारक्षेत्र निस्किरहेका थिए। व्यापारीहरुले फाट्टफुट्ट पानी ल्याएको भए पनि कडा सुरक्षा व्यवस्थाका कारण सहभागीलाई किन्न समस्या परेको थियो।

समय ख्याल नै गरेन एमालेले

आफूलाई अरु पार्टीको तुलनामा अब्बल पार्टी भएको दाबी गर्ने एमालेले ठूला भेला आयोजनामा भने समयको ख्याल गर्न छोडेको छ। टाढा टाढाका सहभागीले नारायणी किनारमा बिहानै भीडभाड भइसकेको थियो। १२ बजे उद्घाटन समारोह सुरु हुने बताइएको भए पनि निकै ढिलो गरी मात्रै कार्यक्रमको सुरुवात भएको थियो। हिजै कार्यकर्तामाझ १०औँ महाधिवेशनको माहोल बनाउन हवाइमार्गबाट अध्यक्ष केपी शर्मा ओली चितवन आइपुगेको भए पनि उनी बास बसेको सौराहको पार्क सफारी रिसोर्टबाट नारयणी किनारमा पुग्ने निकै अबेर गरेका थिए। डेढ घण्टा ढिलो गरी सुरु भएको कार्यक्रममा सबैभन्दा पछी आउने एमालेका शीर्ष नेतामध्येका ओली नै थिए। विदेशी पाहुनालाई पर्खाएर ओली ढिलोगरी मात्रै महाधिवेशन स्थलमा उपस्थित भए।

तराई र पश्चिम नेपालका विभिन्न ठाउँबाट आएका सहभागी कार्यक्रम सुरु नभएपछि भने लामो समयसम्म झोक्रिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell