PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

नारायणगढमा उत्रिए त सात लाख एमाले कार्यकर्ता? थरिथरि अनुमान



निशा गुरुङ

नारायणगढमा उत्रिए त सात लाख एमाले कार्यकर्ता? थरिथरि अनुमान

नारायणगढः नेकपा (एमाले) को १०औं महाधिवेशनको उद्घाटन सत्रमा बाक्लो मात्रमा एमाले नेता कार्यकर्ता उपस्थित भएका छन्। सवा एक बजेबाट सुरु भएको उद्घाटन सत्रका लागि नारायणगढमा मंगलबारबाटै नेता कार्यकर्ता जम्मा हुन थालेका थिए।

शुक्रबारबाटै एमालेका नेता कार्यकर्ता नारायणगढमा ओइरिएका थिए।

महाधिवेशन अत्याधिक रुपमा सफल भएको अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्बोधनकै क्रममा व्यक्त गरिसकेका छन्।

नारायणगढमा कति आए कार्यकर्ता?

एमालेले १०औं महाधिवेशन गर्ने भएपछि चितवनमा ५ लाख कार्यकर्ता देशभरबाट उतार्ने दाबी गरेको थियो। एमाले चितवनकी अध्यक्ष पार्वती रावलले भने महाधिवेशनमा करिब सात लाख मानिसको उपस्थिति भएको दाबी गरिन्। 'हामीले पाँच लाख उपस्थिति हुने अपेक्षा गरे पनि करिब सात लाख मानिस सहभागी भए,' रावलले दाबी गरिन्।

उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ पनि यस पटक मानिसको संख्या अधिक भएको बताउँछन्।

नारायणी किनारमा २०४६ सालपछि पहिलो पटक यति धेरै मानिसको उपस्थिति भएको श्रेष्ठले बताए।

'संघले हरेक दुई वर्षमा चितवन महोत्सव गर्दै आएको छ। महोत्सवमा सर्वाधिक धेरै मानिस आउँदा पनि एक दिनमा ६० हजार जनासम्मको रेकर्ड छ,' उनले भने।

उनको अनुमानमा आज नारायणी नदी किनारमा डेढ लाखभन्दा बढीको उपस्थिति थियो। यसो त नारायणीतिर भरिभराउ हुँदा पनि मानिस नारायणगढको मुख्य सडक र भित्री सडकमा नाराबाजीसहित आउजाऊ चलेको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवानराज थापाले महाधिवेशनको उद्घाटनमा तीन लाख जति सहभागी भएको आकलन गरे।

पूर्वी नेपालबाट महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन आएका कार्यकर्ता जाममा परेका थिए। जामका कारण सवारी साधन कार्यक्रमस्थलमा जान नपाएपछि नसकेपछि कार्यकर्ता बोकेका गाडीहरु भरतपुर विमानस्थल नजिकैबाट फर्केका थिए। जाम खुलाउन प्रहरीले भित्री सडकबाट सवारीसाधन पठाएको थियो। ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell