PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

ओली नीति : देउवा-उपेन्द्रलाई रिझाउने, प्रचण्ड-नेपाललाई बिझाउने



प्रकाश भण्डारी

ओली नीति : देउवा-उपेन्द्रलाई रिझाउने, प्रचण्ड-नेपाललाई बिझाउने

चितवन : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रवार चितवन आइपुगे। एमालेको १० औं महाधिवेशनको निम्तोअनुसार देउवाले चितवनको यात्रा गरेका थिए। अध्यक्ष केपी शर्मा ओलीसँगै एमालेको महाधिवेशन उद्घाटनस्थल नारायणी किनारमा देखिएका देउवा अरु नेताभन्दा लामै समय कार्यक्रममा बसे। तर, ओलीको भाषण सुन्न धैर्य भने गरेनन्। ओलीको सम्बोधन सुरु नहुँदै देउवा निस्किए।

एमालेको निम्तो सत्ता गठबन्धनकै अर्का नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गर्दा देउवाले भने सहज रुपमा लिए। देउवा प्रचण्डलाई निम्तो दिएका ओलीले एकीकृत समाजवादीका अध्यक्ष तथा आफ्ना पूर्व सहकर्मी माधव नेपाललाई महाधिवेशनमा निम्तो नै दिएनन्। एकीकृत समाजवादी अवैध पार्टी भएको ओलीको दाबी छ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लिलामणी पोखरेल गठबन्धनका तर्फबाट महाधिवेशनको उद्घाटनमा शुभकामनका लागि उपस्थित थिए। प्रतिनिधि सभा विघटनपछि ओलीलाई साथ दिएका लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरलाई छेउमै राखेर महाधिवेशन उद्घाटन गरेका ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापालाई पनि कार्यक्रममा उपस्थित गराउन सफल रहे। हार्दिकताका साथ एमालेको महाधिवेशनलाई सम्पन्न गर्न चाहेको दाबी गरिरहेका ओलीले उद्घाटन सत्रबाटै सत्ता गठबन्धनलाई सन्देश दिन खोजेका छन् - देउवासँग सम्बन्ध बिग्रिएको छैन।

देउवाको बचाउमा ओली

आफू नेतृत्वको सरकार ढलाएकोमा सत्ता गठबन्धनसँग ओली आक्रामक छन्। देउवा सरकारलाई उनको आरोप हुनेगरेको छ - परमादेशको सरकार। उनले एमालेको सार्वजनिक सभाहरुमा गर्ने सबैभन्दा कडा टिप्पणी पनि परमादेशको सरकार हो। देउवा सरकारप्रति आक्रामक देखिने ओली शुक्रवार भने केही सालिन भएर प्रस्तुत भए। बरु उनले देउवाको बचाउ गरे। 'सरकारको सम्बन्धमा केही भन्न चाहन्नँ। प्रधानमन्त्रीलाई बोलाएर सरकारको टिप्पणी गर्नु वान्छनीय होइन। प्रधानमन्त्रीले काम गर्न चाहनुहुन्थ्यो। उहाँलाई काम गर्न दिइएको पो छैन कि। किनकि हिजो मलाई अफ्ठ्यारो पार्ने मेरा खुट्टा तान्ने उहाँको पछि छन्,' ओलीले भने। पूर्व एमालेका नेता माधवकुमार नेपाल, माओवादी अध्यक्ष प्रचण्ड लगायतको चर्को आलोचना गरेका ओलीले देउवाको भने उल्टै बचाउ गरे। देउवालाई प्रचण्ड-नेपालले काम गर्न नदिएको ओलीको भनाइ थियो। त्यसो त ओली-देउवा सम्बन्ध दुई पटकको प्रतिनिधिसभा विघटनका बेला पनि बिग्रिएको भने थिएन। सत्ता गठबन्धनकै प्रचण्ड, नेपाल, उपेन्द्र यादव लगायतका नेताहरुसँग दुस्मनी साँधिरहेका ओलीले देउवासँग भने हार्दिकता खोजिरहेका थिए। देउवा पनि ओली सरकार ढल्ने निश्चित नभएसम्म उनको विकल्पमा उभिन तयार भएनन्। देउवाले सरकार गठन गरिसकेपछि पनि उनीहरुबिच अप्रतक्ष रुपमा थुप्रै पटक सल्लाह भएको ओली निकट नेताहरु बताउछन्। अहिलेको सत्ता गठबन्धनलाई छिन्नभिन्न पार्न र निर्वाचनमा कांग्रेसलाई एक्लै उत्रन ओलीले रणनीति नै बनाएका छन्। जसमा देउवा पनि सकारात्मक नै भएको पछिल्ला घटनाक्रमले देखाउँछ। देउवा ओलीलाई चिढाउने पक्षमा छैनन्। यसअघि गृहमन्त्री बालकृष्ण खाँणले ओली निवास बालकोटमा देउवाको दूतको रुपमा पटकपटक वार्ता गरेका थिए।

उपेन्द्रले गरे ओलीको अघि देउवाको आलोचना

सत्ता गठबन्धन देउवा सरकार गठनलगतै सुस्ताएको थियो। गठबन्धनमै लफडा हुदा लामो समयसम्म सरकार बिस्तार हुन सकेन। सरकारमा भागबण्डका विषयमा लिएर गठबन्धनका नेताहरुबिच मतभेद भएको थियो। जसपाका अध्यक्ष उपेन्द्र यादवले देउवा सरकारले नेपाललाई पार्टी विभाजनका लागि सहज हुनेगरी अध्यादेश ल्याउँदा चर्को बिरोध गरेका थिए। शुक्रवार पनि उनले देउवाकै अघि सरकारको आलोचना गरेका छन्। उनले अहिले राज्य राम्ररी सञ्चालन हुन नसकेको बताए। 'अहिले राज्यका सबैजसो निकाहरु निस्प्रभावी भएका छन्,' यादवले सरकारको आलोचना गर्दै भने। उनले सरकारका कामलाई चुस्त बनाउनुपर्ने बताएका छन्। उनले एमालेको महाधिवेशनमा आएर गठबन्धनका तर्फबाट सरकारको आलोचना गर्नुको अर्थ छ। पछिल्लो समय गठबन्धनसँग असन्तुष्ट रहेका नेताहरुलाई ओलीले फकाउने गरेका छन्। उक्त रणनीति यादवको हकमा पनि लागू हुने एमाले नेताहरुको भनाइ छ।

साथ खोज्दै ओली

ओलीले पछिल्लो समय भन्ने गरेको वाक्य हो - फेरि पनि एमाले निर्वाचनबाट सिंहदरवारमा फर्कन्छ। तर, एमाले विभाजनको अवस्थामा भएकाले केही कमजोर भएको भने ओलीले स्वीकार्ने गरेका छन्। त्यसका लागि आफ्नो मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस भएको ओलीको भनाइ छ। उनले चुनावमा सत्ता गठबन्धन बाहिरका नेताहरुलाई मोर्चाबन्दी गर्ने प्रयास जारी राखेका छन्। राप्रपासँग अहिले पनि ओलीको सहकार्य जारी छ। प्रतिनिधि सभा विघटनपछि ओलीको सबैभन्दा कडा रुपमा बचाउ गर्ने पार्टी नै राप्रपा थियो। शुक्रवार पनि राप्रपाका अध्यक्ष कमल थापाले फेरि पनि एमाले सञ्चालनका लागि ओलीको आवश्यकता भएको बताए। ओलीले गरेका कामको प्रशंसा गरेका थापाले भने,'तपाइहरुले फेरि पनि एउटा साहासिक निर्णय गर्नुहुने छ। देशको आवश्यकतालाई बुझ्नुहुने छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell