PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

ओलीले अबेर राति बैठक बोलाएर किन पदाधिकारी र केन्द्रीय कमिटी सदस्य थपे?



प्रकाश भण्डारी

ओलीले अबेर राति बैठक बोलाएर किन पदाधिकारी र केन्द्रीय कमिटी सदस्य थपे?

चितवन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशन उद्घाटन गरेर पदाधिकारी संख्या थप गरेका छन्। शुक्रवारै महाधिवेशनको उद्घाटन थियो भने राति ओलीले केन्द्रीय कमिमटीको बैठक बोलाएर पदाधिकारीको आकारमा परिवर्तन गरेका हुन्। एमालेको नीति र बिधिका लागि ललितपुरमा असोजमै विधान महाधिवेशन गरेको थियो। राष्ट्रिय महाधिवेशनमा नेतृत्व मात्रै चयन हुने भन्दै विधान महाधिवेशनले विधान, नेतृत्व छनोट र पार्टीको सिद्धान्त तय गरेको थियो। शुक्रवारको निर्णयलाई शनिवार सुरु हुने बन्द सत्रमा प्रस्तुत गरेर पारित भएपछि कार्यान्वयन हुने छ।

पदाधिकारी थप

शुक्रवार बसेको एमालेको केन्द्रीय कमिटीको अन्तिम बैठकले एमालेको पदाधिकारी संख्या १५ बाट बढाएर १९ बनाउने निर्णय गरेको छ। केन्द्रीय कमिटीको बैठकमा ओलीले पदाधिकारी बढाउने प्रस्ताव गरेकोमा केन्द्रीय कमिटी सदस्यले पारित गरेका हुन।

केन्द्रीय कमिटी सदस्य संख्या ३ सय १ बनाउने बैठकको निर्णय छ। ललितपुरमा भएको विधान महाधिवेशनले केन्द्रीय कमिटी संख्या १५ जना पदाधिकारी सहित २२५ हुने निर्णय गरेको थियो।

केन्द्रीय सदस्य संख्याको एक तिहाइ पोलिट्ब्युरो अर्थात ९९ सदस्यीय बनाउने निर्णय भएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। स्थायी कमिटीको संख्या भने यथावत छ । विधान महाधिवेशनले ४५ सदस्यीय स्थायी कमिटी हुने निर्णय गरेको थियो।

यस्तै, केन्द्रीय कमिटीको बैठले ४ जना पदाधिकारी थपेको छ। अब पदाधिकारी संख्या १९ सदस्यीय हुने छ। उक्त कमिटी सर्वसम्मत चयन हुने ओली निकटका नेताहरुले बताएका छन्।

अब अध्यक्ष १, बरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ७, उपमहासचिव ३ र सचिव संख्या ७  हुने छ। आयोगहरू २५ सदस्यीय, प्रदेश र जिल्लाको आधार संख्या  ७५ हुने भएको छ। यसअघि एमालेको विधान महाधिवेशनले अध्यक्ष १, बरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ४, महासचिव १, उपमहासचिव १ र सचिव ७ जना गरी १५ सदस्यीय राखेको थियो।

किन बढाइयो केन्द्रीय कमिटी र पदाधिकारी?

एमालेका नेताहरुले महाधिवेशनमा भन्दा धेरै अघिदेखि सर्वसम्मत नेतृत्व चयन गर्ने गृहकार्य गरेका थिए। तर, ओली समूहकै नेताहरु गुट बनाएर पदाधिकारीका आकांक्षी देखिएपछि ओली दबाबमा थिए। यता तत्कालीन बरिष्ठ अध्यक्ष माधवकुमार नेपाल समूहमा रहेका र १० बुँदे सहमति गरेर एमालेमा क्रियाशिल भएका उपध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेद्वारी दिएर ओलीको सर्वसम्मत हुने इच्छामा ब्रेक लगाएका थिए। ओली निकट नेताहरु शंकर पोखरेल र विष्णु पौडेलको बिचमा महासचिवका लागि प्रतिस्पर्धा हुने देखिएको थियो। स्थायी कमिटी सदस्य सुवास नेम्बाङ र ईश्वर पोखरेलकै बिचमा बरिष्ठ उपाध्यक्षका लागि प्रतिस्पर्धा हुने देखिएपछि ओली झनै नेतृत्व छनोटका विषयमा सकसमा परेका थिए।

हाल एमालेमा मुख्यगरी तीन समूह क्रियाशिल छन्। पूर्व माओवादी, एमालेको १० बुँदे सहमतिबाट आउने र संस्थापन पक्ष। तीन समूहका नेताहरुले पदाधिकारीमा दाबी गरेका थिए। ओलीले सर्वसम्मत नेतृत्व गर्न चाहे पनि आकांक्षी नेताहरुको संख्या धेरै भएपछि एमालेमा नेतृत्व चयन गर्न सकस भएको थियो।

पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाएर ओलीले नेताहरुको व्यवस्थापन गर्न लागेको एमालेका नेताहरुले बताएका छन्। ४ जना मात्रै उपाध्यक्ष रहने एमालेको विधान महाधिवेशनले टुंगो लगाएको थियो। तर, त्यसमा एमालेका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल हाल पार्टीमा क्रियाशील छन्। ज्ञवाली र शाक्यले उपाध्यक्षमै दोहोरिन चाहेका छन् भने रावलले अध्यक्षका लागि दाबी गरिरहेका छन्। कम्तिमा पनि पुरानै पदमा दोहोरिन एमालेको ९ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीले जोडबल गरिरहेका छन्। पूर्व माओवादी समूहलाई पनि पदाधिकारीमा समेटेर लैजानपर्ने भएकालेले ओलीले पदाधिकारी संख्याको आकार बढाएको ओली निकट नेताहरुको मत छ।

सर्वसम्मत गर्न जोड

एमालेको पदाधिकारी संख्या बढाउनुको अर्को अर्थ हो पदाधिकारी चयनलाई सर्वसम्मत गर्नु। आकार बढाएर सर्वसम्मत नेतृत्व चयनका लागि पहल हुने तामाङको भनाई छ। उनका अनुसार हिजोको केन्द्रीय कमिटीको बैठकमा ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि नेताहरुलाई आग्रह गरेका थिए। महाधिवेशन सुरु नहुनु भन्दा धेरै सयम अघिदेखि नेतृत्व चयन सर्वसम्मत गर्न जोड गरेका ओलीले आफ्नो गृहकार्य असफल हुने देखेपछि पत्रकार सम्मेलन गरेर आफू कसैलाई पनि सर्वसम्मत नेतृत्व छनोटका लागि दबाव नदिने बताएका थिए। उनले निर्वाचनबाट नेतृत्व चयन हुने उद्घोष गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell