PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

बन्दसत्रको अघिल्लो रात वरिष्ठ उपाध्यक्षका दाबेदार नेम्वाङलाई ओलीले राखे आफैँ बस्ने रिसोर्टमा



प्रकाश भण्डारी

बन्दसत्रको अघिल्लो रात वरिष्ठ उपाध्यक्षका दाबेदार नेम्वाङलाई ओलीले राखे आफैँ बस्ने रिसोर्टमा

काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेतालाई सर्वसम्मत नेतृत्व चयनका लागि गृहकार्य गर्न अनुरोध गरेका छन्।

ओलीले आफू निकट नेताहरूसँग नेतृत्व चयनबारे छलफल गर्दै आएका छन्। बिहीबार नै चितवनमा आइपुगेका ओली पार्क सफारी रिसोर्टमा बसेका छन्। उनले आफू निकटका नेताहरूसँगै शुक्रबारको उद्घाटन अघि चितवनका व्यवसायीलाई पनि भेटेका थिए। व्यक्तिगत भेटघाट भनिए पनि उक्त भेट आम निर्वाचनका लागि भएको नेताहरूको भनाई छ।

ओली महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र विष्णु रिमाल लगायतका नेतालाई लिएर व्यवसायी केएल भुसालको घरमा पुगेका थिए।

ओलीले आफू निकट नेताहरुसँग कति घनीभूत रूपमा छलफल गरिरहेका छन् भने उनले आफू निकट नेतालाई आफू बास बसेकै होटेलमा बास बस्नका लागि बोलाएका छन्। शनिबार बन्द सत्र र मनोनयनको कार्यसूची छ। त्यसअघि ओलीले नेम्वाङलाई आफैँसँग राखेर गृहकार्य गरेका हुन्।

स्रोतका अनुसार हिजो रातिको केन्द्रीय कमिटीको बैठकअघि नै नेम्वाङलाई ओलीले आफू बास बसेकै होटेलमा सारेका थिए। नेम्वाङकै पहलमा केन्द्रीय कमिटी र पदाधिकारीको आकार बढाउने निर्णय भएको हो। नेम्वाङले आफूलाई अध्यक्ष ओलीले पार्क सफारी रिसोर्टमा सर्न अनुरोध गरेपछि पहिला बास बसेको ठाउँबाट सरेको बताए।

'अध्यक्षले मलाई यतै आउनुस् भन्नुभयो त्यसपछि म यता सरेको छु,' उनले भने। नेम्वाङले वरिष्ठ उपाध्यक्षका लागि दाबी गरिरहेका छन्।

स्रोतका अनुसार उनले नै सर्वसम्मतिका लागि ओली गुटका नेताहरूलाई मनाएका छन्। ईश्वर पोखरेल र नेम्वाङले वरिष्ठ उपाध्यमा दाबी गरिरहेका छन्। सर्वसम्मति भएमा स्थिति फरक हुने नेम्वाङले बताए।

'चुनाव भयो भने एउटा कुरा हुन्छ। सर्वसम्मति भयो भने परिस्थिति अर्कै हुन्छ,' उनले भने।

ओली निकट नेताहरूले सर्वसम्मतिका लागि अध्यक्षमा दाबी गरिरहेका उपाध्यक्ष भीम रावललाई मनाउन कोसिस गरिरहेका छन्। हिजोको केन्द्रीय कमिटीको बैठकमा पनि सर्वसम्मत पदाधिकारी चयन गर्नुपर्ने प्रस्ताव गरिएकोमा रावलले त्यसको विरोध गरेका थिए। रावलले आफ्नो उम्मेदवारी फिर्ता नहुने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell