PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

ओली समूहमा पदको रस्साकस्सीः नेम्वाङलाई राष्ट्रपति बनाउने आश्वासन, सहमति नहुँदा बन्द सत्रमा ढिलाइ



प्रकाश भण्डारी

ओली समूहमा पदको रस्साकस्सीः नेम्वाङलाई राष्ट्रपति बनाउने आश्वासन, सहमति नहुँदा बन्द सत्रमा ढिलाइ

चितवनः नेकपा (एमाले) को पदाधिकारी भागबन्डाको विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओली समूहभित्र नै रस्साकस्सी देखिएको छ। आकांक्षी व्यवस्थापनमा अध्यक्ष ओलीलाई समस्या परिरहेको निकट स्रोत बताउँछ। नेता व्यवस्थापनका लागि गोदावरीमा सम्पन्न विधान महाधिवेशनको निर्णय नै उल्ट्याइए पनि सम्बोधन नहुने निश्चित जस्तै देखिएको छ। पदाधिकारी भागबन्डाको विवाद नमिल्दा बन्द सत्र सुरु गर्न ढिलाइ समेत भएको छ।

ओलीको निकट रहेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, वर्तमान महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल तथा नेताहरु शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ लगायतबीचमै पदका लागि रस्साकस्सी छ।

साथै, माधव नेपालसँगबाट एमालेमै रोकिएको समूहबाट भीम रावल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, योगेश भट्टराई, युवराज ज्ञवाली लगायतको व्यवस्थापन पनि ओलीलाई सकस देखिएको छ। माओवादी केन्द्रबाट एमालेमा आएका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी लगायतका नेता व्यवस्थापनको चुनौती पनि ओलीमा छ।

राजकीय पदको आश्वासन

आफ्नै समूहभित्र भागबन्डामा समस्या भएपछि ओलीले शुक्रबार महाधिवेशन उद्घाटन भएपछि निकट नेताहरुलाई आफूसँगै बोलाएर मिलाउने प्रयास गरेका छन्। अध्यक्ष ओलीले नेम्वाङ, पोखरेल तथा पौडेल लगायतका नेताहरुलाई मिलाउन राजकीय पदको समेत आश्वासन दिएको स्रोत बताउँछ।

स्रोतका अनुसार नेम्वाङलाई एमालेको सरकार बनेमा राष्ट्रपतिको उम्मेदवार बनाउने आश्वासन दिएका छन्। नेम्वाङले वरिष्ठ उपाध्यक्षमा दाबी गरिरहेका छन्। यस्तै, पोखरेलको दाबी पनि सोही पदमा छ। हाल अध्यक्षको उम्मेदवारी घोषणा गरेका भीम रावलाई उक्त स्थानमा मनाउन सकिने रणनीतिमा पनि ओली समूह छ। ओलीले आफू बसेको होटलमा अहिले रावलसँग छलफल गरिरहेका छन्।

‘आफ्नै समूह व्यवस्थापनमा चुनौती देखिएको छ। आकांक्षी धेरै भएकाले सबैलाई समेट्न कठिन छ तर, भोलि पार्टी सरकारमा गए विभिन्न राजकीय पदमा व्यवस्थापन गर्नेगरि मिलाउने प्रयत्न भइरहेको छ’, एमाले स्रोतले भन्यो।

अध्यक्ष ओलीले पदाधिकारीमा सहमतिको प्रयास हुने बताइसकेका छन्। तर, केन्द्रीय कमिटीमा भने ओली निर्वाचनमो पक्षमा छन्।

ओली समूहभित्र नै पद व्यवस्थापनमा सकस हुँदा महाधिवेशनको बन्द सत्र सुरु गर्न ढिलाइ भएको छ। शनिबार बिहान १० बजेदेखि बन्द सत्र सुरु गर्ने भनिए पनि अझैसम्म सुरु भएको छ। ओलीले आफू बसेकै होटेलमा नेताहरुसँग परामर्श गरिरहेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell