PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोभिड-१९ को नयाँ भेरियन्टले विश्वभर तरंग, संक्रामक ‘ओमिक्रोन’ लाई रोक्न अफ्रिकी देशमाथि यात्रा प्रतिबन्ध लगाइँदै



पहिलोपोस्ट

कोभिड-१९ को नयाँ भेरियन्टले विश्वभर तरंग, संक्रामक ‘ओमिक्रोन’ लाई रोक्न अफ्रिकी देशमाथि यात्रा प्रतिबन्ध लगाइँदै
File Photo : Charles Rex Arbogast / Associated Press

कोरोना भाइरस महामारीबाट मुक्ति पाइने केही प्रारम्भिक संकेतहरू देखिँदै गर्दा कोभिड १९ को नयाँ भेरियन्टले सबैलाई चिन्तित बनाएको छ। विश्वभरका स्वास्थ्य अधिकारीहरू शुक्रवार दक्षिण अफ्रिकामा पत्ता लागेको नयाँ कोरोना भेरियन्टबारे चिन्तित देखाए।

अनुसन्धानकर्ताहरूले भाइरसको सो म्युटेसन (उत्परिवर्तन) खोप-प्रतिरोधी छ/छैन भनेर पत्ता लगाउदैँ गर्दा युरोपियन युनियन (ईयू) र बेलायतले सीमामा कडाइ गर्ने निर्णय गरेको छ।

एक दक्षिण अफ्रिकी वैज्ञानिकले लन्डनको प्रतिबन्धलाई ‘भ्याक्सिन रंगभेद’को लक्षण भनिरहँदा युरोपेली आयोगका प्रमुख उर्सला भोन डर लेयनले भने ईयूले पनि अफ्रिकी क्षेत्रबाट हवाई यात्रा रोक्ने बताइन्।

‘सबै युरोपमा धेरै छिटो, निर्णायक र एकताबद्ध रूपमा कार्य गर्न आवश्यक छ’, भोन डर लेयनले भनिन्, ‘यो नयाँ भेरियन्टले निम्त्याउने खतराको बारेमा हामीले स्पष्ट नबुझ्दासम्म यी देशहरूमा सबै हवाई यात्राहरू प्रतिबन्ध गरिनुपर्छ।’

त्यसलगत्तै बसेको ईयू राष्ट्रहरुको बैठकले अफ्रिकी मुलुकमा यात्रा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। ईयू राष्ट्रहरूले दक्षिणी अफ्रिकाका देशहरूमा नयाँ कोरोना भाइरस भेरियन्ट फेला परेपछि आपतकालीन उडान प्रतिबन्ध लगाउने ईयू आयोगका प्रवक्ता एरिक मेमरले बताएका छन्। मेमरले बेल्जियममा युरोपको भेरियन्टको पहिलो केस फेला परेपछि सदस्य राष्ट्रहरूले प्रतिबन्ध लगाउन सहमत भएको बताए।

‘सबै २७ ईयू राष्ट्रका स्वास्थ्य प्रमुखहरू शुक्रवारको आपतकालीन बैठकमा यात्रा प्रतिबन्ध लगाउन सहमत भए,’ मेमरले ट्विटरमा लेखेका छन्।

यो प्रतिबन्ध बोत्सवाना, इस्वाटिनी, लेसोथो, मोजाम्बिक, नामिबिया, दक्षिण अफ्रिका र जिम्बाब्वेका यात्रुहरूमा लागू हुने उनले बताए।

B.1.1.529 को रूपमा चिनिएको नयाँ भेरियन्ट दक्षिण अफ्रिका, बोत्सवाना र हङकङमा पनि पहिचान गरिएको छ। डब्लुएचओले यसलाई 'भेरियन्ट अफ कन्सर्न' घोषित गरेको छ।

डब्लुएचओले शुक्रवार ‘ओमिक्रोन’ नाम दिएको उक्त नयाँ भेरियन्टमा प्रारम्भिक प्रमाणहरूका आधारमा अन्य भेरियन्टहरूको तुलनामा पुनः संक्रमणको उच्च जोखिम रहेको बताइएको छ। वैज्ञानिकहरूले यो अहिलेसम्मको सबैभन्दा भारी उत्परिवर्तित भएको संस्करण भएको बताएका छन्। जसको अर्थ वुहानको मूल स्ट्रेन प्रयोग गरेर डिजाइन गरिएका कोभिड खोपहरू त्यति प्रभावकारी नहुन पनि सक्छ।

वासिङ्टनमा भने शीर्ष अमेरिकी संक्रामक रोग अधिकारी एन्थोनी फाउसीले सम्भावित अमेरिकी यात्रा प्रतिबन्धमा कुनै निर्णय नगरिएको बताए। अमेरिकामा नयाँ भेरियन्टको कुनै सङ्केत नदेखिएको र यो हालको खोप प्रतिरोधी छ कि छैन स्पष्ट नभएको फाउसीले बताएका छन्।

डब्लुएचओले यसै साता मात्रै पहिलो पटक पहिचान गरिएको यो भेरियन्टविरूद्ध खोपहरू कत्तिको प्रभावकारी छ भनेर निर्धारण गर्न हप्ता दिनसम्म लाग्ने बताएको छ।

बेलायती स्वास्थ्य मन्त्री साजिद जाभिदले नयाँ भेरियन्टको ‘सेक्वेन्स’ पहिलो पटक हङकङले दक्षिण अफ्रिकाबाट यात्रा गरेका व्यक्तिबाट अपलोड गरेको बताए।

दक्षिण अफ्रिकी वैज्ञानिकहरूले देशमा संक्रमणमा अचानक उकालो लाग्नुको पछाडि नयाँ भेरियन्ट कारण हुनसक्ने आशंका गरेका छन्। तर, देश बाहिर यो कति टाढासम्म फैलिएको छ भन्ने बारे भने यकिन भन्न सकिने अवस्था नरहेको उनीहरुले बताएका छन्।

युरोपमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को पहिलो  केस बेल्जियममा पहिचान गरिएको थियो। नयाँ भेरियन्ट बोत्सवाना, इजरायल र हङकङमा देखिएको छ।

दक्षिण अफ्रिकामा नयाँ भेरियन्टको धेरै जसो केसहरू सबैभन्दा धेरै जनसंख्या भएको प्रान्त गौटेङमा देखिएको छ। दक्षिण अफ्रिकामा लगभग २४ प्रतिशत जनसंख्यालाई मात्रै पूर्ण रूपमा खोप लगाइएको छ। जसले त्यहाँ संक्रमण द्रुत गतिमा फैलिनलाई प्रोत्साहित गर्न सक्ने वैज्ञानिक पाण्डेमिक इन्फ्लुएन्जा मोडलिङ समूहका सदस्य डा माइक टिल्डस्लेले बताएका छन्।

डेनमार्कले सबै कोभिड-१९ केसहरु सेक्वेन्स गरेको भएपनि नयाँ म्युटेसनको कुनै संकेत फेला नपरेको डेनिस स्वास्थ्य अधिकारीहरूले बताएका छन्। इजरायलले अफ्रिकाका अधिकांश भूभागमा यात्रा प्रतिबन्ध लगाएको छ।

ब्राजिलको स्वास्थ्य नियामक निकाय ‘अनभिसा’ले केही अफ्रिकी देशहरूबाट यात्रा प्रतिबन्धित गर्न सिफारिस गरेपनि राष्ट्रपति जैर बोल्सोनेरोले त्यसलाई खारेज गरिदिएका छन्। बोल्सोनेरोलाई जनस्वास्थ्य विशेषज्ञहरूले महामारीको व्यवस्थापन, लकडाउनविरूद्धका र्‍याली र खोप नलिने निर्णयको व्यापक रूपमा आलोचना गरेका थिए। विश्वमा भाइरसबाट सबैभन्दा धेरै मृत्यु हुनेको संख्यामा अमेरिकापछि ब्राजिल दोस्रो नम्बरमा आउँछ।

इटालीले पछिल्लो १४ दिनमा दक्षिणी अफ्रिकी राज्यहरू भ्रमण गरेका मानिसहरूलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ। फ्रान्सले दक्षिणी अफ्रिकाबाट उडानहरू रद्द गरेको छ। त्यस्तै, बहराइन र क्रोएसियाले पनि केही देशबाट आउनेलाई प्रतिबन्ध लगाउनेछन्।

यता, एसियामा पनि भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण फैलिने जोखिम छ। भारतले सबै राज्यहरूलाई दक्षिण अफ्रिका र अन्य ‘जोखिममा’ रहेका देशहरूका अन्तर्राष्ट्रिय यात्रुहरूको परीक्षण र स्क्रिन गर्नको लागि निर्देशन जारी गरेको छ। यता, जापानले सीमामा कडाइ गरेको छ।

डब्लुएचओका अनुसार अहिलेसम्म नयाँ भेरियन्टको १०० भन्दा कम ‘सेम्पल सेक्वेन्स’ रिपोर्ट गरिएको छ।

दक्षिण अफ्रिकाको प्रतिक्रिया

दक्षिण अप्रिकी स्वास्थ्यमन्त्री जो फाहलाले देशविरुद्ध उडान प्रतिबन्ध लगाउने निर्णय ‘अनुचित’ भएको पत्रकारहरुसँग बताएका छन्।

‘यात्रा प्रतिबन्ध लगाउने सन्दर्भमा केही देशहरूको प्रतिक्रिया र त्यस्ता नियमहरू विश्व स्वास्थ्य संगठनले निर्देशित गरेको मापदण्डको पूर्ण विपरित छ,’ मन्त्री फहलाले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell