काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व बदल्ने कुरा मुख्य रहेको बताएका छन्।
शनिवार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति सभापति पदका उम्मेदवार कृष्ण बानियाँ(सबुज) समुहको उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आफु महामन्त्री हुने कुरा गौण भएपनि पार्टीको नेतृत्व बदल्ने कुरा भने मुख्य रहेको बताए।
'यो अधिवेशनबाट कांग्रेसको मुल अनुहार, कांग्रेसको मुख्य नेतृत्व हामी बदल्न सक्छौँ कि सक्दैनौँ त्यो सबैभन्दा ठुलो प्रश्न हो। हाम्रो अगाडिको सबैभन्दा ठुलो प्रश्न यो हो। हामी कोही केही नभएर केही हुँदैन तर कांग्रेसको मुख्य नेतृत्व बदल्नुपर्छ' उनले भने।
थापाले पार्टीको नेतृत्व बदल्न चाहानेहरुको बिचमा एकता र समझदारी हुनु आवश्यक रहेकोमा जोड दिए। १२ औँ महाधिवेशनमा एकै ठाउँमा रहेका नेताहरु पुनः एकै ठाउँमा उभिनुपर्नेमा उनले बताए।
‘अधिवेशन भनिसकेपछि संख्या हुन्छ। गणित हुन्छ। संख्याले, गणितले भनिरहेको छ, पार्टीको नेतृत्व बदल्नको लागि नेतृत्व बदल्ने संकल्प गरेर मैदानमा आउनुभएको नेताहरुको बिचमा एकता हुन आवश्यक छ' उनले भने, 'सकिन्छ, १२ औँ महाधिवेशनमा एकै ठाउँमा रहेका सबै नेतागण एकै ठाउँ उभिनुपर्छ। एक ठाउँमा उभिएर देशभरीबाट आएको साथीहरुको जुन उत्साह छ, त्यो उत्साहलाई संगठित गरेर, संयोजन गरेर नयाँ नेतृत्व ल्याउनैपर्छ।’
