PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

ओलीको 'ब्याडलक' : टाढाका भन्दा निकटका तगारो!



प्रकाश भण्डारी

ओलीको 'ब्याडलक' : टाढाका भन्दा निकटका तगारो!

चितवन : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई १० औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न सकस छ। राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन गरेर विरोधीलाई आफू शक्तिशाली भएको देखाउन चाहेका ओलीको आकांक्षामा 'ब्रेक' लाग्ने निश्चित जस्तै छ।

उपाध्यक्ष भीम रावलले ओलीलाई अध्यक्ष पदमा चुनौती दिएका छन्। अझ त्यो भन्दा बढी चुनौती उनलाई आफ्नैबाट छ। आफू निकटका नेताहरुको किचलो मिलाउनु ओलीको टाउको दुखाइ बनेको छ। ओली समूहकै दुई गुटहरुबिचमा किचलो बढेपछि शनिवार निर्धारित समयमा महाधिवेशनको बन्द सत्र सुरु हुन सकेन।

ओली समूहमा रहेका उपगुटहरुको टकराव महाधिवेशनमा सतहमा आएको छ। एकातिर महासचिव ईश्वर पोखरेलको गुट सक्रिय हुँदा अर्कोतिर वरिष्ठ उपाध्यक्ष पदका लागि स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र उपमहासचिव विष्णु पौडेलको समूह लागिपरेको छ। उनीहरुबिचको टकराव यतिसम्म छ कि राजकीय पदको आश्वासनलाई समेत ओली निकटका नेताले अस्वीकार गरेका छन्।

नेम्बाङले मानेन्

एमालेका स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्बाङ ओलीका सबैभन्दा विश्वासिला पात्र मानिन्छन्। प्रतिनिधि सभाको दुई पटकको विघटनको बेला आफ्नो छवि धुमिल हुँदा पनि नेम्बाङको साथ ओलीलाई नै रह्यो। ओलीलाई अप्ठेरोमा काँध थाप्ने मात्रै होइन उनको भूमिका ओलीको सल्लाहकारको जस्तो देखिन्थ्यो।

नेम्बाङलाई सजिलै मनाउन सकिने भएकाले ओलीले उनलाई हरेक घटनामा अघि सार्ने गरेका थिए। तर एमालेको १० औं महाधिवेशनमा भने नेम्बाङ पनि उनका लागि तगारो बनेका छन्।

शुक्रवार राति सौराहमा आफू बास बसेको होटल पार्क सफारीमा बोलाएर नेम्बाङलाई मनाउन ओलीले कोसिस गरेका थिए। तर, उनको कोसिस शनिवारसम्म पनि सफल भएन। ओली निकट स्रोतका अनुसार नेम्बाङलाई राष्ट्रपतिको लोभ देखाएर ओलीले मनाउन खोजेका थिए। वरिष्ठ उपाध्यक्षबाट नेम्बाङ पछि नहटेपछि ओलीलाई झन सकस परेको छ।

'मेरो दाबी कायमै छ। जनमतको जिम्मा कसले लिन्छ?,' नेम्बाङले भने।

ईश्वर पोखरेल तगारो

२ पटक महासचिव भइसकेका इश्वर पोखरेल अहिले वरिष्ठ उपाध्यक्षमा दाबी गरिरहेका छन्। उनी ओली समूहका सबैभन्दा बिलियो वरिष्ठ उपाध्यक्षको आकांक्षी पनि हुन्।
ओली निकट नेताहरुले विधान महाधिवेशनमै पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाउन विधानमा व्यवस्था गरिएको बताउने गरेका थिए। तर, सजिलै वरिष्ठ उपाध्यक्ष हुन भने उनलाई सकस छ।

विष्णु कि शंकर ?

महासचिव पदमा पनि वरिष्ठ उपाध्यक्ष पदमा जस्तै ओली गुटकै टकराव छ। लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेल र उपमहासचिव विष्णु पौडले महासचिवका दाबेदार हुन्। दुवै नेता ओलीका विश्वास पात्र पनि।

महासचिवमा ओलीले विष्णु पौडेललाई भन्दा शंकर पोखरेललाई अघि सार्ने रणनीति बनाएपछि पौडेल-नेम्बाङले मोर्चाबन्दी गरेको एमालेका नेताहरु बताउँछन्।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपा र पछि एमालेको विवाद उत्कर्षमा पुगेका बेला ओलीलाई काँध थाप्ने मध्यका एक नेता थिए पौडेल। उता पोखरेल पनि लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट हटेपछि केन्द्रको राजनीतिमा सक्रिय हुन ओलीसँगै देखिने गरेका थिए।

९ औं महाधिवेशनमा उपमहासचिवमा पराजित बनेका पोखरेलले पनि यसपटक आफू पछि नहटने ओलीलाई बताइसकेका छन्।

ओली गुटको किचलो इतरलाई हाइसञ्चो

ओली समूभित्रको किचलोलाई ओली इतर समूह भने सदुपयोग गर्ने रणनीतिमा छ। अध्यक्ष पदका उम्मेद्वार भीम रावलले ओली निकटका नेताहरुलाई समेत आफ्नो पक्षमा पार्न महाधिवेशनको सुरुवातदेखि नै पर्यत्न गरिरहेका छन्। 

उपाध्यक्षका उम्मेद्वार घनश्याम भुसालको रणनीति पनि ओली निकटलाई तान्ने नै छ। ओली निकट नेताहरु लफडामा अल्झिँदा रावल-भुसाल भने प्रतिनिधिसँग मत माग्न थालिसके। उनीहरुका लागि ओली गुटको किचलो अवसर बन्न सक्ने एमालेका नेताहरु बताउँछन्।

यद्यपि प्रतिनिधि छनोटमा सर्वसम्मत गराएर ओलीले आफू निकटकलाई स्थान दिएका छन्। त्यसैले ओली इतरका उम्मद्वारलाई महाधिवेशनमा निर्वाचन भए पदाधिकारीमा अटाउन मुस्किल देखिएको छ।

विधान संसोधनले पनि दिएन राहत

ओलीले आफू निकटहरुलाई मिलाउन यति सम्म गरेका छन् कि असोजमा विधान महाधिवेशनले पारित गरेको विधान सौराहमा संसोधन गरे।आकांक्षीहरुको संख्या धेरै भएपछि नेताहरुलाई मनाउन विधान संसोधनको निर्णय गरेको ओली निकटहरु बताउँछन्। तर, उनको यो कदम पनि सफल हुने सम्भावना कम छ।

'सर्वसम्मतिका लागि विधान संसोधन गरेका हौँ। तर त्यसले पनि सर्वसम्मत नेतृत्व चयन हुने सम्भावन कम छ,' ओली निकट एक नेताले भने।

पदाधिकारीको संख्या १५ बाट बढाएर ओलीले १९ बनाउने निर्णय केन्द्रीय कमिटीबाट गराएका छन्। केन्द्रीय कमिटीको आकार पनि २२५ बाट ३०१ बनाइएको छ। ओलीको उक्त रणनीति पनि सफल नहुने देखिएको छ।

रावलले कुनैपनि हालतमा पछि नहटने अडान र आफ्नै समूहमा देखिएको विभाजनको सकस ओलीलाई छ। आफ्नो समूहको टकरावलाई ओलीले रोक्न नसके त्यसो प्रत्यक्ष वा अप्रत्यक्ष फाइदा भने इतर समूहलाई हुने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell