PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सौराहाको बन्दसत्रमा दुई माओवादी कार्यकर्ता एमालेमा प्रवेश, ओलीले 'बाल नदिँदा' निराश हुँदै गेटबाटै फर्किए



नेत्र तामाङ

सौराहाको बन्दसत्रमा दुई माओवादी कार्यकर्ता एमालेमा प्रवेश, ओलीले 'बाल नदिँदा' निराश हुँदै गेटबाटै फर्किए

चितवनः शनिबार चितवनको सौराहामा बेग्लै उमंग थियो। एमालेको १०औँ महाधिवेशन बन्दसत्र सुरु हुँदै गर्दा माहोल एकाएक रमाइलो देखिन्थ्यो। बन्दसत्रमा उत्साहपूर्ण सहभागिता देखिन्थ्यो प्रतिनिधिको।

तर नेतृत्व चयनका लागि शीर्ष नेताहरुबीच कुरा नमिल्दा बन्दसत्र तोकिएको समयमा सुरु हुनै सकेन।

बिहान १० बजेका लागि तोकिएको बन्दसत्र बल्ल ३ बजे सुरु हुने छाँट देखियो। ओली आउने भएपछि गेटमा केही युवा तयारी अवस्थामा बसे। उनीहरुको हातमा खादा र सिन्दुर थियो।

उनीहरु कोही नभएर माओवादी कार्यकर्ता थिए। जो एमाले प्रवेश गर्नका लागि आतुर भइरहेका देखिन्थे। उनीहरुको चाहना थियो एमाले अध्यक्ष केपी शर्मा ओलीबाट टीका लगाउनु अनि खादा लगाउनु।

तर ओलीले उनीहरुको चाहनालाई ओलीले वास्तै गरेनन्। ३ बजेर १० मिनेटमा ओली सिधै बन्दसत्रतिर छिरे।

उनी बन्दसत्रभित्र छिरेपछि उनीहरुलाई थुमथुमाउँदै एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले सिन्दुर लगाइदिए। अनि खादा लगाइदिए। यसरी एमालेमा प्रवेश गर्नेमा चितवनस्थित रत्ननगर नगरपालिका वडा १५ का स्थानीय कार्यकर्ता जीतवीर घलान र झलक लामिछाने हुन्।

एमाले प्रवेश गरेपछि दुबै जनालाई रत्ननगर वडा कमिटीका एमाले अध्यक्ष आशिक तामाङले स्वागत गरे। स्वागत गर्न पाए पनि उनी त्यति खुसी देखिएनन्।

जीतवीर र झलक त झन् खिन्न देखिन्थे। खादा लगाएको केही बेरमा उनीहरुले खादा फुकाले।

अध्यक्षबाट टीका लगाउने योजना पूरा भएन है?

जवाफमा टाउकोमात्र हल्लाए झलकले। निराश उनले थप बोल्न चाहेनन्। ओली छिरेको गेटतिरै नजर लगाउँदै थिए उनी।

जीतवीरले भने आफूहरुले रत्ननगरका मेयर नारायण वनसँग भेट्न चाहेको बताउँदै थिए। न त मेयरसँग भेट, न त ओलीको हातबाट टीका र खादा।

त्यसपछि दुबै जना निराश भएर बन्दसत्रभित्र नछिरी बाहिर निस्किए।

एमालेमा प्रवेश गर्ने एक जना माओवादी कार्यकर्ता भएको वडा १५ का वडाध्यक्ष हुमनाथ लामिछानेले बताए।

'जीतवीर माओवादी कार्यकर्ता हुन्। झलकबारे त्यति जानकारी भएन। सायद दुबै जना शिक्षक हुनुपर्छ,' वडाध्यक्ष लामिछानेले भने।

एमालेबाट वडाध्यक्ष जितेका लामिछाने हाल माधव नेपालको पार्टी एकीकृत समाजवादीमा सक्रिय छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell