पोखरा : नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल विजयी भएका छन्। शनिबार भएको पुन मतदानमा बरालले आफ्नो प्रतिस्पर्धी सुदीपमोहन भट्टराईलाई पराजित गरेका हुन्। पुन भएको मतदानमा बरालले ९ सय ९५ र भट्टराईले ९ सय १५ मत प्राप्त गरेका थिए। १ हजार ९ सय २६ मत खसेको थियो।
यसअघि शुक्रबार भएको निर्वाचनमा पाँचैजना उम्मेद्वारले ५० प्रतिशत मत कटाउन सकेनन्। कांग्रेसको विधान अनुसार ५० प्रतिशत बढी मत प्राप्त गर्न नसकेमा पुनः पहिलो र दोस्रो हुने उमेद्वारबीच चुनाव गराउनुपर्ने व्यवस्था छ। सोही अनुरुप शनिबार पुन बराल र भट्टराईबीच प्रतिस्पर्धा भएको थियो।
शुक्रबारको निर्वाचनमा बरालले ६ सय ४४ मत र उनका प्रतिस्पर्धी भट्टराईले ४ सय ६९ मत ल्याएका थिए। तेस्रो मत ल्याउनेमा आइबहादुर गुरुङले ४ सय ६२, पोषनाथ शर्माको ३ सय ३५ र गिरीराज गौतमको ६३ मत ल्याएका थिए। निर्वाचनमा ४७ मत बदर भएको थियो।
