PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

एमाले महाधिवेनमा भीम रावल रुघा, ओली मैमत्त चालक!



नेत्र तामाङ

एमाले महाधिवेनमा भीम रावल रुघा, ओली मैमत्त चालक!

चितवन: चितवनको सौराहमा यतिबेला नेकपा एमालेको १० औं महाधिवेशनको रौनक छ। बन्द सत्र शुरु भए पनि सकिएको भने छैन।

अध्यक्षका दाबेदार भीम रावलका कारण बन्द सत्र र महाधिवेशन लम्बिएको बताइएको छ। यद्यपि रावल पक्षले भने प्रक्रियाअनुसार आफूले उम्मेद्वारी नछाड्ने बताइरहेका छन्।

अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुले रावललाई एमालेको रुघाका रुपमा लिन थालेका छन्। जसरी रुघा लागेपछि शरीर केही दिन थाङथिलो हुन्छ। यद्यपि केही दिन आराम गरेपछि शरीर तन्दुरुस्त हुन्छ। यही प्राकृतिक सत्यताजस्तै एमालेलाई बन्दसत्रमै रुघा लागेको छ। जसका कारण बन्दसत्र लम्बिँदै एमालेको महाधिवेशन लम्बिने देखिएको छ। अध्यक्ष ओलीले पनि केही समय आराम गरेर लम्ब्याउँदै आफूइतरका नेतालाई गलाउने नीति लिएका छन्।

रुघाको प्राकृतिक नियमअनुसार केही दिन आराम गरे निको हुन्छ कि भन्ने आशामा ओली पक्षका कार्यकर्ता छन्।

यता ओली भने मैमत्त चालक झैं अघि बढिरहेका छन्।

यात्रुवाहक बस अफरोडमा कुदाउँदा कहिलेकही घचाकघुचुक हुन्छ। सोही क्रममा यात्रुहरु कराउँछन्। चिच्याउँछन्। यात्रु कराएको सुनेर चालकलाई मुड चल्छ र बसलाई थप घचाकघुचुक पार्ने गरी कुदाउँछन्। मच्चिन्छन्।

यसरी नै ओलीले एमाले महाधिवेशन सञ्चालन गरिरहेका छन्।

शुक्रवार उद्घाटनसत्रमा ओलीले आफूबाहेक अरु शीर्ष नेतालाई बोल्न दिएनन्। नारायणगढको तिरमा उनले जे बोले शनिवार बन्दसत्रमा पनि त्यही बोले।

बन्दसत्रको हल २००० भन्दा बढी प्रतिनिधिले भरिभराउ थियो। शुरुमा विदेशी पाहुनाको पट्यारलाग्दो भाषण सुनेपछि महाधिवेशन प्रतिनिधि हलको स्टेरिङ ओलीको हातमा गयो। सवा तीन बजे ओली सेभेन स्टार होटलमा रहेको बन्दसत्र हलमा प्रवेश गरेका थिए। त्यहीसँगै बन्द सत्र शुरु भयो। हलको स्टेरिङ आफ्नो हातमा परेपछि ओलीले इमोसनल भाषण शुरु गरे। प्रतिनिधिहरु बस घचाकघुचुक हुँदा यात्रु कराए झै चिच्याउन थाले। ताली बजाउन थाले। त्यसपछि ओली पनि के कम - मैमत्त चालक झैं मच्चिन थाले।

ओलीले झन्डै दुई घण्टा आफ्नो धारणा राखे। जुन कतिपय नारायणीतरमै बोलेका थिए।

ओलीले जे बोले पनि प्रतिनिधिहरु ताली ठोक्थे। ओलीले सर्वसम्मत गर्नुपर्छ भन्दा २००० प्रतिनिधिहरुको बीचतिरबाट सानो आवाज सुनिन्थ्यो - सधैं यस्तो गरेर कहाँ हुन्छ? तर ती आवाज केही बेरमै बिलिन हुन्थ्यो। यसरी नै ओलीले १० औं महाधिवेशन चलाइरहेका छन्।

'रावल रुघा'ले कति बेलासम्म एमालेलाई अवरुद्ध पार्ने हो त्यो भने हेर्न बाँकी नै छ। यद्यपि ओलीको मैमत्त चाल हेर्दा सूर्यास्त अवलोकनका लागि प्रख्यात स्थान सौराह महाधिवेशनले एमालेलाई कता पुर्‍याउँला त्यो गम्भीर प्रश्नको उत्तर के आउला नेता कार्यकर्ताको लागि चिन्ताको विषय बनेको छ। किनभने बन्दसत्र सकिएपछि चोकभट्टीतिर प्रतिनिधिहरु मदिराको चुस्कीसँगै ओलीको अराजकताबारे ओकलिरहेका थिए। तर होसमा उनीहरुले ओलीको प्रतिवाद गर्न सकिरहेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell