PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ओली अराजकताको अर्को नमुना : बोल्ने एक गर्ने अनेक



प्रकाश भण्डारी

ओली अराजकताको अर्को नमुना : बोल्ने एक गर्ने अनेक

चितवन: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई १० औं महाधिवेशनमा बिरोधीले रोक्न सक्ने छैनन्। प्रतिनिधि छनोटमा एकछत्र ओलीराज र उद्घाटन सत्रदेखि नै देखिएको उनको पक्षको महोल यसको बलियो आधार हो। उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालको काउण्टर ओलीका अघि फिक्का देखिन्छ। किनकि रावल-भुसालको आवाज सुनुवाइ हुन त टाढाको कुरा आफ्नो विषय राख्नसमेत चुनौती छ।

शनिवारको बन्द सत्रमा अध्यक्षका आकांक्षी भीम रावलले ओलीको बिरोध गर्नासाथ प्रतिनिधिले उनलाई रोक्न खोजे। जबकि उनलाई उपमहासचिव विष्णु पौडेलले बोल्नका लागि समय दिएका थिए। ओलीको 'इमोशनल' भाषणलाई सुनेका प्रतिनिधि रावलको आवाजलाई हलमा सुन्ने पक्षमा थिएनन्। किनकी ओलीले चाहेकै थिए-सोझै टीका लगाएर पदाधिकारी र अध्यक्ष चयन गर्ने। ओलीका लागि रावल कदम पार्टी हित विपरित हो। उनले शनिवारको भाषणका क्रममै भनेका छन्: 'हामी चुम्बकजस्तो हुनुपर्छ। एउटै ठाउँमा टास्सिने। पार्टी हित विपरित गतिविधि कसैले नगरौँ,' चुनाव गर्न नहुने भन्दै ओलीले भनेका थिए।

किन 'टिके' अध्यक्ष र पदाधिकारीको पक्षमा छन् ओली?

ओली आफू दोहोरिनेमा ढुक्क भए पनि निर्वाचनमा ढुक्क छैनन्। जसरी पनि चुनाव गर्नपर्ने रावलको अडानलाई ओली टार्न चाहन्छन्। किनभने उनले आफू अनुकुलको प्रस्ताव शनिवारको बन्द सत्रको अन्त्यतिर प्रस्तुत गरे। पदाधिकारी र केन्द्रीय सदस्यको नाम ओलीले वाचन गर्ने र प्रतिनिधिले ताली पड्काउने प्रस्तावलाई ओलीले हलमा प्रवेश गराएका थिए। जसलाई ओली इतरहरुले अलोकतान्त्रिक निरंकुश कदमको रुपमा लिइरहेका छन्। 'म राजनीति शास्त्रको विद्यार्थी पनि हो। यो कुनै अध्यक्ष हुने कुरासँग मात्रै सम्बन्धित छैन। जबजको सिद्धान्त मान्ने एमालेले अब स्थानीय र अरु चुनावमा पनि किन लडने,' रावलले भनेका छन्।

ओलीको अराजकता

ओली कतिसम्म विरोधीको घाँटी निमोठ्न चाहेका छन् भने उनले असोजमा विधान महाधिवेशनका बेला पारित विधानलाई दुई महिनामै 'हाइज्याक' गर्ने नीतिअनुसार अघि बढे। ६ हजार बढी प्रतिनिधिले पारित गरेको विधानलाई उनले आफू अनुकुल मात्रै परिभाषित गराएका छैनन् आफ्नै गुटको भारी बिसाउन पदाधिकारी थप्ने जस्तो एमालेका लागि दीर्घकालिन महत्व राख्ने निर्णय गरे। जबकि त्यतिबेला महासचिव इश्वर पोखरेल र बिष्णु पौडेलले प्रतिनिधिलाई जवाफ दिँदै भनेका थिए - कमरेडहरु पार्टी कमिटी ठुलो भयो भने भद्रगोल हुन्छ।

बोली एक, व्यवहार अनेक

महाधिवेशन सुरु हुनुअघि एमालेले काठमाडौंमा अयोजना गरेको पत्रकार सम्मेलनमा ओली यति भलाद्मी बनेका थिए कि उनले आफ्ना प्रत्यासीलाई कुनै खालको दबाब हुने बोली व्यवहार नदेखाउने उद्घोष नै गरे। तर, सौराहमा उनको त्यो वाचा टिकेन। किनभने आफै अध्यक्षका उम्मेद्वार ओलीले आफै पदाधिकारी र केन्द्रीय सदस्यको नाम छान्ने प्रस्ताव गराए। उनका बिरोधीलाई तह लगाउन ओलीको सबैभन्दा ठुलो अस्त्र भए पनि समग्रमा जबजको पक्षपोषक एमालेका लागि यो अर्को निरंकुश कदम हो। उनले चुनाव नगर्न मात्रै चाहेका छैनन्। पार्टीको समिकरण नमिलाएरै आफ्नै गुटका नेतालाई मात्रै पदाधिकारी र केन्द्रीय सदस्य बनाउने रणनीति बनाएका छन्। जसका लागि ओलीले एकक्षत्र गरी छानेका प्रतिनिधि उनको हतियार हुन्। किनभने ओलीको इच्छामा ताली बजाउने बाहेक उनीहरुको भूमिका हुने छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell