काठमाडौंः जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। नेपालगञ्जबाट रुकुम पश्चिमका लागि छुटेको ना ६ ख २७५७ नम्बरको रात्रि बस भेरी नगरपालिकाको बराह चोकनजिकै दुर्घटनामा परेको हो।
दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको र २७ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी मधुकुमार थापाले जानकारी दिए। बिहान अन्दाजी २ बजे भएको दुर्घटनाका घाइतेलाई प्रहरीले उद्दार गरेर अस्पताल पुर्याइएको पनि थापाले बताए। उनका अनुसार केहीको अवस्था गम्भीर छ।
मृत्यु हुनेमा जाजरकोटमा अनिला नेपाली, शेरबहादुर परियार, रुकुमकी सन्ध्या मल्ल, दिब्या शाही र सप्तरी राजविराजका गंगाराम यादव रहेका छन्। यादव जाजरकोटको दिपेन्द्र आधारभूत विद्यालयको शिक्षक रहेको प्रहरीले जनाएको छ।
घाइतेहरुलाई जिल्ला अस्पताल जाजरकोट लगिएको छ। तीन गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ। बस दुर्घटनाबारे अनुसन्धान भइरहेको छ।
