PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

बन्दसत्र अघि आफ्नो समूहका नेतासँग ओली छलफलमा, पदाधिकारीमा कसले बनाउलान् स्थान?



प्रकाश भण्डारी

बन्दसत्र अघि आफ्नो समूहका नेतासँग ओली छलफलमा, पदाधिकारीमा कसले बनाउलान् स्थान?

चितवनः आफ्नै समूहभित्रका नेताहरु व्यवस्थापनको संकट झेलिरहेको एमाले अध्यक्ष केपी शर्मा ओलीले दोस्रो दिनको बन्दसत्र प्रारम्भ हुनुअघि पनि समूहका नेतासँग छलफल जारी राखेका छन्।

बन्दसत्रमा पदाधिकारी र केन्द्रीय सदस्यको समेत नाम प्रस्तुत गर्ने अधिकार पाएका ओलीलाई निकट नेता व्यवस्थापनमै समस्या छ। जसकारण समूह भित्रकै नेता मनाउन उनी निरन्तर छलफल गरिरहेका छन्। आइतवार बिहानैदेखि ओलीले आकांक्षीसहितका अन्य नेतासँग परामर्श जारी राखेको ओली निकटका एक नेताले बताए। 

आफू सर्वसम्मत अध्यक्षको चाहना लिएर महाधिवेशनमा होमिएका ओलीले नेता व्यवस्थापनका लागि विधान सम्मेलनको निर्णय समेत उल्ट्यासकेका छन्। उक्त निर्णयले पनि ओलीलाई राहत दिन सकेको छैन। उपाध्यक्ष भीम रावलले बन्दसत्रका पछिल्ला सबै प्रक्रियामा प्रश्न उठाउँदै आएका छन्। रावल पछि नहटे ओलीको सर्वसम्मत हुने चाहनामा ब्रेक लाग्नेछ।

आफूबाहेक पनि आफ्नै समूहका नेता व्यवस्थापन नहुँदा ओली थप संकटमा छन्। एक पद रहेको वरिष्ठ उपाध्यक्षमा ओली निकटकै दुई नेता सुवास नेम्वाङ र ईश्वर पोखरेलबीच विवाद छ। दुवैले अडान कायम राख्दा ओली अप्ठ्यारोमा छन्। 

साथै अन्य उपाध्यक्ष व्यवस्थापनमा पनि ओलीलाई समस्या छ। 

माधव नेपाल समूहसँग नयाँ पार्टीमा नगइ एमालेमै रहेका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, लगायतको व्यवस्थापन कसरी गर्ने निश्चित छैन। माओवादीबाट एमाले प्रवेश गरेका नेताहरुमध्ये रामबहादुर थापालाई ओलीले यसअघि महत्वपूर्ण जिम्मेवारी दिँदै आएका छन्। तर, महाधिवेशनमा भने थापको भविष्य निश्चित छैन। 

एकमात्र महासचिव पदमा पनि ओलीका दुई निकट नेता विष्णु पौडेल र शंकर पोखरेलको लडाईँ छ। पौडेल र पोखरेल केन्द्रमा ओली निकटमात्र हैनन्, प्रदेशको राजनीतिमा पनि उत्तिकै प्रतिस्पर्धी हुन्। पौडेलकै भूगोल भित्रका अर्का प्रतिस्पर्धी घनश्याम भुसालको स्थान पनि अहिलेसम्म यकिन छैन। 

गुट व्यवस्थापन नहुँदा बन्दसत्रको कार्यक्रम आइतवार पनि ढिलाइ हुने नेताहरु बताउँछन्।

साथै ओलीले पदाधिकारीको नाम सर्वसम्मतका लागि प्रस्ताव गरेमा अध्यक्षका आकांक्षी भीम रावल समूहले विरोध जनाउने  निश्चित छ। विवादको झल्को शनिवारकै बन्दसत्रमा देखिएको छ। रावलले ओलीलाई एकलौटी निर्णयको अधिकारमा आपत्ति जनाइसकेका छन्। रावलको प्रतिवादमा ओली पक्षका कार्यकर्ताले चर्को विरोध गरेका थिए। जसलाई रावलले आफूलाई बोल्न समेत नदिएको भनेर टिप्पणी गरेका छन्। 
रावलले जबजको सिद्धान्तले अंगीकार गरेको प्रतिस्पर्धाको व्यवस्थालाई निस्तेज पारेको बताएका छन्। प्रतिस्पर्धा गर्न नदिएको भनेर रावल रुष्ट छन्। 

तर, अन्य नेताहरु भने कठिन अवस्थामा महाधिवेशन भइरहेको भन्दै सर्वसम्मत नेतृत्व चयनको पक्षमा छन्। यस्तो अवस्थामा ओलीले प्रस्ताव गर्ने पदाधिकारीको नामलाई भने चासोपूर्वक हेरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell