PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ओलीहरु पदाधिकारी र केन्द्रीय सदस्यको सूची बनाउँदै, भीम रावलका समर्थक पर्चा बाड्दै, प्रतिनिधिहरु चाहिँ प्रतीक्षामै



पहिलोपोस्ट

ओलीहरु पदाधिकारी र केन्द्रीय सदस्यको सूची बनाउँदै, भीम रावलका समर्थक पर्चा बाड्दै, प्रतिनिधिहरु चाहिँ प्रतीक्षामै

चितवन : आज बिहान १० बजेका लागि डाकिएको नेकपा एमालेको महाधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन। सहमतिका लागि हिजोदेखि जारी प्रयासले ठोस रुप लिन नसकेपछि मनोनयनको प्रकृया ढिलो हुँदै गएको छ।

किन महाधिवेशन बन्दसत्र सुरु नभएको भन्ने प्रश्नमा एमाले नेता ठाकुर गैरेले 'खाना खाने समय परेकाले' भन्ने जवाफ दिएका छन्। बैठकअघि पटकपटक पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिबाट नेतृत्व चयनको विषयलाई लिएर छलफल चलाएको भए पनि त्यसले आकार लिन सकेको छैन। भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी दिने बताइसकेका छन्। उनको उक्त कदमले सर्वसम्मतबाट अध्यक्ष बन्ने ओलीको योजनालाई धक्का लागिरहेको छ।

कार्यसूची अनुसार हिजो नै निर्वाचनको प्रकृया सुरु भइसक्नुपर्थ्यो। सहमतिका लागि लगातार बैठक जारी राखेर त्यसलाई अध्यक्ष ओलीले टार्दै आएका छन्। 

'नेताहरुको छलफलपछि सहमति हुन सक्छ,' गैरेले भने, 'सर्वसम्मतिबाट चयन हुनुपर्छ भन्ने हिजोको हलबाट आशय व्यक्त भएको थियो।'
हिजोदेखिको बैठक आज फेरि बस्ने गरी स्थगित भएको थियो। 'रात रहे अग्राख पलाउँछ' भन्ने उखान एमाले राजनीतिमा चरितार्थ हुने अपेक्षा धेरैले गरेको भए पनि पदाधिकारीमा महत्वकांक्षी धेरै भएपछि ओलीलाई नेतृत्व व्यवस्थापन गर्न कठिन भइरहेको छ। यसले नेतृत्व चयनको प्रजातान्त्रिक अभ्यास नै अवरुद्ध हुने आशंका पनि व्याप्त छ।

निर्वाचनका लागि मनोनयन दर्ताको प्रक्रिया समेत अगाडि बढ्न नसक्दा महाधिवेशन तोकिएको अवधिमा नसकिने निश्चित बन्दै गएको छ। 
'जटिलता छ  छनोटमा। सबै मनोविज्ञानको सेमेटनुपर्ने छ,' गैरेले भने। 

अध्यक्ष ओली समर्थकहरु भने ओलीले जसलाई घोषणा गर्छ उसैले पद पाउने तर्क गरिरहेका छन्। ओली, सुबास नेम्बाङ, ईश्वर पोखरेल लगायतका नेता अहिले पदाधिकारी र केन्द्रीय सदस्यको सूची तयार पार्न एकै ठाउँमा छन्। त्यसकै अगाडि गेटमा भने भीम रावल समर्थकहरुले उनको उम्मेदवारी किन भन्ने पुस्तिका बाढ्दैछन्। ओली पक्षका नेताहरु जसरी पनि सर्वसम्मतिमा अधिवेशन टुङ्ग्याउन लागि परेका छन्।
यता बैठक हलमा प्रतिनिधिहरु भने पार्टी अध्यक्ष ओलीको प्रतीक्षमा बसिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell