PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सहमति जुटाउन ओली छलफलमा, रावलको जवाफ : चुनावको विकल्प छैन



पहिलोपोस्ट

सहमति जुटाउन ओली छलफलमा, रावलको जवाफ : चुनावको विकल्प छैन

चितवन : नेकपा एमालेको महाधिवेशनको रोकिएको बन्दसत्र अझै सुरु हुन सकेको छैन। सहमतिका लागि हिजोदेखि जारी प्रयासले ठोस रुप लिन नसकेपछि आज बिहान १० बजेका लागि डाकिएको बैठक अहिलेसम्म सुरु हुन नसकेको हो।

बन्दसत्र सुरु नहुँदा मनोनयनको प्रक्रिया पनि ढिलो हुँदै गएको छ। सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने प्रयास ओलीको भएपनि अध्यक्षमा उनलाई भिम रावलले चुनौति दिने भएका छन्। यस्तै, पदाधिकारीमा ओली समूहमै रहेका नेताहरु धेरै आकांक्षी भए पछि नेता व्यवस्थापनमा ओलीलाई सकस भएको हो।

सर्वसम्मतिको प्रयासमा रहेका ओली बसेको पार्क सफारी रिसोर्ट आफू निकट नेताहरुसँग छलफल गरिरहेका छन्। बैठकमा रहेका सुवासचन्द्र नेम्वाङ बन्दसत्र स्थलका लागि निस्किएका छन्। ओली पनि बन्दसत्र स्थलमा जाने तयारीमा रहेको एक नेताले बताए।

ओलीले यसअघि पूर्व माओवादी नेताका साथै वरिष्ठ उपाध्यक्षमा दाबी गरिरहेका ईश्वर पोखरेलसँग पनि छलफल गरेका थिए। यस्तै, ओलीले प्रदेशका नेतासँग पनि छुट्टै भेट गरेका थिए।

ओलीले आफू इतर समूहमा रहेका भीम रावल र घनश्याम भुसाललाई बिहानैदेखि छलफलका लागि बोलाएको एक नेताले बताए। तर, रावल र भुसालले ओलीलाई भेट्न समय दिएका छैनन्। माधव नेपाल समूह छाडेर एमालेमै फर्केका केही शीर्ष नेताहरुले रावल र भुसाललाई मिलाएर अघि बढ्न ओलीलाई दबाब दिइरहेका छन्।

ओलीले सहमतिका लागि रावललाई बोलाइरहँदा अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका रावलले भने चुनाव बाहेक अरु कुनै विकल्पका लागि आफू तयार नभएको जवाफ ओलीलाई पठाएका छन्।

'अध्यक्ष ओलीले सहमतिका लागि बोलाइरहनु भएको छ। रावलजीले भने चुनाव चुनाव चुनाव भनी जवाफ फर्काउँदै छन्,' एक नेताले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell