PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

ओलीलाई कम्बोडियाका हु सेनसँग तुलना गर्दै गगन थापाले भने : एमालेमा जनवाद सकियो, डनवाद बाँकी छ



पहिलोपोस्ट

ओलीलाई कम्बोडियाका हु सेनसँग तुलना गर्दै गगन थापाले भने : एमालेमा जनवाद सकियो, डनवाद बाँकी छ

काठमाडौं : नेपाली कांग्रेसका नेता गगनकुमार थापाले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्दसत्र नभइ 'ओली शेसन' चलिरहेको बताएका छन्। आज नेपाली कांग्रेस काठमाडौं जिल्ला अधिवेशन उद्घाटन समारोहमा थापाले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा 'बन्द शेसन' नभइ 'ओली शेसन' चलिरहेको बताएका हुन्।

नेता व्यवस्थापनमा समस्या देखिँदा एमालेको बन्दसत्र सुरु हुन सकेको छैन। त्यसैलाई लक्षित गर्दै उनले भने,‘बन्दसत्र कस्तो भइरहेको रहेछ भनेर जान्न चासो लाग्यो। त्यो पनि बन्द शेसन होइन, एक प्रकारले ओली शेसन नै चलिरहेको थियो।'

शनिवार एक कार्यक्रम उनले चितवनमा एमालेको महाधिवेशन नभइ 'ओलीवेशन' चलेको बताएका थिए। आजको कार्यक्रमा उनले नेकपा एमालेमा जनवाद सकिएको र केपी शर्मा ओलीको डनवाद सुरु भएको आरोप समेत लगाए।

'प्रहरीले भीम रावल बसेको होटललाई सुरक्षा दिइरहेको अवस्था छ। विधिवत रुपमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट हिजोदेखि जनवाद सकियो, त्यहाँ अब केपी ओलीको डनवाद मात्रै बाँकी छ' उनले भने।

थापाले प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीको कार्यकालमा भएका कामहरु हेर्दा आफूलाई कम्बोडियाका प्रधानमन्त्री हु सेन जस्तो लागेको बताए।

'तत्कालीन प्रधानमन्त्री केपी ओलीको आदर्श पुरुष कम्बोडियाका प्रधानमन्त्री हु सेन हो। हु सेन गएको २० औँ वर्षदेखि कम्बोडियाको प्रधानमन्त्री हुनुहुन्छ। कम्बोडियामा प्रजातन्त्र छ, प्रेस पनि छ, अदालत, अख्तियार सबै छ, चुनाव पनि हुन्छ। २५ वटा कम्बोडियाको पार्टीले चुनावमा भाग लियो। चुनावमा भाग लिनु भन्दा केही समयअघि मात्रै प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षि दलका नेतालाई राजद्रोहको मुद्दा लगाइदिए। त्यो पार्टीले अर्को नेता चुन्यो, उसलाई जेल हालियो' थापाले भने,'तै पनि पार्टीले चुनावमा भाग लिन्छु भन्दा पार्टीलाई प्रतिaन्ध लगाइयो। १२५ निर्वाचन क्षेत्रमा २५ पार्टीले भाग लिँदा हुनसेनको पार्टीले १२५ सिटमा नै जित निकाल्यो। कम्बोडियामा प्रेस छ, तर हुनसेनको खिलाफमा लेख्ने प्रेस भीम रावललाई लखेटिएको जस्तै लखेटिन्छ। उसको बिरुद्ध फैसला गर्ने न्यायाधीशले त्यही दिनबाट अदालत छोडेर जानुपर्छ।’

सम्बन्धित समाचार : कम्युनिस्ट तानाशाह पोल पोटको देशमा नेपालका कम्युनिस्ट प्रधानमन्त्री ओली

थापाले चितवन महाधिवेशनपछि नेतृत्वमा आएको नेकपा एमालेलाई कांग्रेसले तह लगाउने समेत बताए। १० औँ महाधिवेशनपछि नेतृत्वमा आउने एमालेले जनवाद गुमाएर देशको प्रजातन्त्र सक्ने बाटोमा अघि बढेर आउने उनको दाबी थियो।

‘चितवन महाधिवेशनपछि आएको नेकपा एमालेले आफ्नो भित्रको जनवादलाई सकाएको मात्रै होइन, देशको प्रजातन्त्रलाई सक्ने बाटोमा यो अघि बढेर आउँछ। एमाले हाम्रो शत्रु होइन तर बरालिएको एमालेलाई ठीक ठाउँमा ल्याएर प्रतिष्पर्धा गर्ने काम कांग्रेसको हो। यो तागत नेपाली काँग्रेसले अबको अधिवेशनबाट ल्याउनु पर्छ’ थापाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell