PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अझै सुरु भएन एमालेको बन्दसत्र, ओली अझै रिसोर्टमै



पहिलोपोस्ट

अझै सुरु भएन एमालेको बन्दसत्र, ओली अझै रिसोर्टमै

चितवन : नेपाल कम्युनिष्ट पार्टी एमालेको १० औं महाधिवेशन नेता व्यवस्थापनको किचलोका कारण लम्बिने देखिएको छ। पदाधिकारीमा धेरै नेताहरु आकांक्षी बनेपछि नेताहरु हिजोदेखि छलफलमा छन्। आज पनि नेताहरु बिहानैदेखि छलफलमा जुट्दा बन्दसत्र सुरु हुन सकेको छैन।

पार्क सफारी रिसोर्टमा एमाले अध्यक्ष ओलीले सर्वसम्मतिको प्रयास गरिरहेका छन्। ओली आफू निकट नेताहरुसँग हाल छलफलमा छन्। सहमतिका लागि हिजोदेखि जारी प्रयासले ठोस रुप लिन नसकेपछि आज बिहान १० बजेका लागि डाकिएको बैठक अहिलेसम्म सुरु हुन नसकेको हो

यता, नेताहरुले भने बन्दसत्र चाँडै सुरु हुने बताएका छन्। रिसोर्टमा पत्रकारहरुसँग कुरा गर्दै एमालेका उपमहासचिव विष्णु पौडेले सहमतिको सम्भावना नसकिएको बताए। पौडेलले महासचिव पदको दाबेदारी पेश गरिरहेका छन्।  

'बन्दसत्र चाँडै सुरु हुन्छ। सकेसम्म आजै सकिन्छ। सहमतिको सम्भावना छ' पौडेलले भने।

त्यस्तै, एमाले नेता पृथ्वी सुब्बा गुरुङले पनि आफ्नो दाबी सचिव पदमै रहेको बताए।

'सचिवभन्दा तल हुँदैन. त्यसमाथि के हुन्छ थाहा छैन। सकेसम्म आजै राति सकेर घोषणा हुन्छ' उनले भने।

यसअघि ओलीसँग सुवास नेम्वाङ, इश्वर पोखरेल लगायतका आकांक्षी नेताहरुले भेट गरेका थिए। ओली निकट नेम्वाङ र पोखरेल वरिष्ठ उपाध्यक्ष पदका आकांक्षी हुन्। आफ्नै समूहमा धेरै नेताहरु पदाधिकारीमा आकांक्षी भएपछि ओलीलाई नेता व्यवस्थापनमा सकस भएको हो।  

ओलीले आफू इतर समूहमा रहेका भीम रावल र घनश्याम भुसाललाई बिहानैदेखि छलफलका लागि बोलाएको एक नेताले बताए। तर, रावल र भुसालले ओलीलाई भेट्न समय दिएका छैनन्। माधव नेपाल समूह छाडेर एमालेमै फर्केका केही शीर्ष नेताहरुले रावल र भुसाललाई मिलाएर अघि बढ्न ओलीलाई दबाब दिइरहेका छन्।

ओलीले सहमतिका लागि रावललाई बोलाइरहँदा अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका रावलले भने चुनाव बाहेक अरु कुनै विकल्पका लागि आफू तयार नभएको जवाफ ओलीलाई पठाएका छन्।

नेताहरुबिचको छलफलका कारण बन्दसत्र सुरु नहुँदा सौराहमा पुगेका एमालेका महाधिवेशन प्रतिनिधि अलपत्र परेका छन्। बैठक सुरु हुने यकिन नहुँदा कोही घुम्न निस्किएका छन् भने कोही बन्दसत्र स्थलमै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell