PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

एमालेको महाधिवेशनमा प्युठानदेखि बाजुरासम्मका कोट : एकै स्टलबाट तीन हजारसम्म बिक्री



निशा गुरुङ

एमालेको महाधिवेशनमा प्युठानदेखि बाजुरासम्मका कोट : एकै स्टलबाट तीन हजारसम्म बिक्री

सौराहा: शनिबार सौराहामा एमालेको बन्दसत्र चल्दै गर्दा सिन्धुलीका रेशम कार्कीले ज्वारीकोट हेरे।

'कति हो?'

'एक हजार हो। अल्लोको हो। धेरै राम्रो हुन्छ,' बिक्रेताले भने। दुई तीन पटक लगाए, फुकाले। त्यसपछि मोलमोलाई भयो। एक हजार रुपैयाँभन्दा भाउ घटेन। कार्कीले हजारको नोट निकालेर दिए। कोट लगाए।

थुप्रैले नयाँ ज्वारीकोट लगाएको देखेपछि आफू पनि खोज्दै यहाँ आइपुगेको कार्कीले सुनाए।

बन्दसत्र पस्ने गेटै अगाडि सडक किनारमा राखेको उनको स्टलमा उदयपुरका थीरबहादुर बस्नेत पनि आइपुगे। र, एकै छिनको मोलमोलाइपछि ज्वारीकोट भिरे।

'महाधिवेशन हेर्न चितवन आएका बेला चिनो लैजाऊ भनेर नि,' उनी भन्दै थिए, ‘सस्तो रहेछ अनि न्यानो पनि हुने देखियो।’

एमालेको १०औं महाधिवेशन स्थलमा सबैभन्दा रुचाइएको देखियो अल्लोको कोट र टोपी। महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधि तथा एमाले कार्यकर्ताले अल्लोको कपडा निकै मन पराए। केही महाधिवेशन प्रतिनिधि अल्लोकै कपडा लगाएर बन्दसत्रमा बसेका देखिन्थे।

महाधिवेशनमा अल्लोका ज्वारीकोट बेच्न आइपुगेका रहेछन् बाजुराका दिपक काफ्ले। आफूसहित ६ जनाको टोली नारायणढ हुँदै सौराहा आइपुगेको उनले बताए।

उद्घाटन सत्रका दिन दिपकले नारायणगढ किनारमा पनि टोपी र ज्वारीकोट बिक्री गरेका थिए।

बाजुरामा बनेका कोट नारायणी किनारमा मात्र ३ हजार वटा बिक्री भएको उनले बताए।

'नारायणी तीरमा मात्रै तीन हजार बिक्री भए। सौराहामा पनि गएको छ,' काफ्लेले भने, 'हेरौँ ल्याएका सबै बिक्री हुन्छ होला।'

आइतबार पनि बन्दसत्र जारी रह्यो। तर काफ्ले आइतबार उक्त क्षेत्रमा देखिएनन्।

त्यसको केही पर अर्को कोट, टोपी बेच्न राखिएको स्टल थियो आइतबार।

टोपी बेच्दै गरेको उक्त पसलकी विक्रेता रहेछिन प्युठान बहालेकी चित्रकली बुढा मगर।

होलसेलमा अल्लोकै टोपी ५०० रुपैयाँमा बेचिन् उनले। कोरोना र विभिन्न कारणले रोकेको व्यापार यसपटक महाधिवेशनले उठेकोमा चित्रकली खुसी देखिन्थिन्।

'कोरोनाले सामान त्यसै थन्किएका थिए। यहाँ आइपुगेर सामान बिक्दा सारो मजा लागेको छ,' चित्रकलीले भनिन्।

अल्लोले बनेका कोटको मूल्य उनकोमा भने नौ हजार रुपैयाँ पर्ने रहेछ।

'होलसेल रुपैयाँ नै यही हो,' उनले भनिन्।

उक्त कोट ३५ वटा बिक्री भएको उनले सुनाइन्। ७ गते नारायणगढ आइपुगेका चित्रकलीको पसलमा पाइने ज्वारीकोटको मूल्य रहेछ ४५ सय।

प्युठानबाट एमालेका कार्यकर्ता लिएर २५ वटा गाडी नारायणगढ आएको थियो। त्यही समूहमा आफूहरु आएको उनका श्रीमान् खिमबहादुरले बताए। चित्रकलीसँगै उनका श्रीमान् पनि अल्लोका टोपी र कोट बेच्न व्यस्त थिए। उसो त खिमबहादुर र चित्रकलीको कोट र टोपी बिहीबार नारायणगढको नारायणी तीरमा धेरैले मन पराएको देखिन्थ्यो।

चितवनमा जारी एमालेको १०औं महाधिवेशनमा सूर्य अंकित क्याप र अध्यक्ष केपी शर्मा ओलीको फोटो भएको क्यापसमेत निकै बिक्री भएको थियो। त्यसैगरी ओलीको समर्थनमा नारा लेखिएको मास्कसमेत बिक्री भएको देखिन्थ्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell