PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

इपिसेन्टर ‘रुम नम्बर २२२’ : भित्र खासखुस, बाहिर गोकुल र दुर्गा प्रसाईंको टाठो बोली



प्रकाश भण्डारी

इपिसेन्टर ‘रुम नम्बर २२२’ : भित्र खासखुस, बाहिर गोकुल र दुर्गा प्रसाईंको टाठो बोली

काठमाडौं: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको बास महाधिवेशनभर सौराहाको पार्क सफारी रिसोर्टमा छ। उनी त्यहाँ बसेकाले आकांक्षी नेता कार्यकर्ताको चहलपहल हुने नै भयो। बिहीबार काठमाडौंबाट हवाइमार्ग हुँदै सौराहा आएका ओली पार्क सफारीमै बसिरहेका छन्। उनी निकट नेताहरुले उनी बास बसेकै ठाउँलाई छलफलस्थल बनाएका छन्। शुक्रबार सुरु भएको एमालेको महाधिशनको शनिबारदेखि बन्दसत्र सुरु भएको थियो। आइतबार भने दिनभर बन्द सत्र सुरु हुन सकेन। बन्द सत्र सुरु नहुँदा सेभेन स्टार होटलमा प्रतिनिधि फुर्सदिला भएका थिए भने ओली बसेको रिसोर्टको चहलपहल बढ्दो।

कोठा नम्बर २२२ 

रिसोर्टको पहिलो तल्लामा सुरक्षाकर्मीले पहरा दिइरहेको देख्न सकिन्थ्यो। त्यही तल्लामा २२२ नम्बर कोठा छ। यही कोठामा ओलीको अड्डा। एमाले महाधिवेशनको इपिसेन्टर अर्थात् मुख्य केन्द्रविन्दु यही हो। ओलीले नेता कार्यकर्ताका लागि आउजाउमा रोकटोक गरेनन्। बन्दसत्र स्थलबाट आएका नेता कार्यकर्ताले ओलीलाई भेटिरहेका थिए। ओली शुक्रबार दिनभर जसो कोठा नम्बर २२२ मा बसे। उनले आफू निकट नेताहरुलाई शुक्रबार, शनिबार कोठामै बोलाएर छलफल गरेकोमा आइतबार पनि निरन्तरता दिए। आइतबारको बन्दसत्र १० बजे सुरु हुने बताइएको थियो। ओलीले त्यसअघि नै आफू निकटका नेताहरु ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली लगायतलाई भेटेका थिए।

सुवासको अलमल

एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङ वरिष्ठ उपाध्यक्षका उम्मेद्वार हुन्। उनले ओलीलाई निर्वाचन भएमा आफ्नो उम्मेद्वारी वरिष्ठ उपाध्यक्षका लागि हुने र त्यसमा ओलीले सघाउनुपर्ने बताइसकेका छन्। नेम्वाङ आइतबार दिउसो साँढे २ मा निस्केका थिए। ओलीसँग छलफल गरेका नेम्वाङले प्रस्ट रुपमा छलफलबारे जानकारी दिएनन्। उनले सहमतिका लागि प्रयास भइरहेको बताएका थिए। बन्दसत्र ढिलो भएको भन्दै नेम्वाङले आफूले ओलीलाई चाँडो हलमा आउन निम्तो दिएर फर्केको बताएका थिए। यद्यपि उनले केन्द्रीय सदस्य र पदाधिकारीबारे भने केही बताएनन्।

विष्णुको ठट्टा

ओली बास बसेको बाहिरको माहोलमा अनेक अड्कलबाजी त भइरहेकै थियो। बेला मौकामा सञ्चारकर्मी र कार्यकर्ताले ख्यालठट्टा गरेको समेत देखिन्थ्यो। एमालेका उपमहासचिव विष्णु पौडेल दिउँसो ३ बजेर ५० मिनेटमा रिसोर्टको भुँइ तलमा रहेको रिसेप्सनमा देखिए। उनी सञ्चारकर्मीको घेरामा परिहाले। त्यतिबेला उनी त्यहाँ केही प्रिन्ट गरेको देखिन्थ्यो।

त्यो के हो उपमहासचिवज्यू?

सुरुमा जवाफ नदिएर मुस्कुराइरहेका पौडेल पछि भने मौन रहन सकेनन्। उनको जवाफ थियो -केही पनि होइन। सहमतिको खाका हो कि? उनलाई यस्तै प्रश्न गरे सञ्चारकर्मीले। तर उनले त्यसलाई स्वीकारेनन्। बरु केही कागजपत्र भएको बताए। उनी हतारहतार प्रिन्ट गरेर ओलीको कोठातिर उक्ले। त्यो केन्द्रीय सदस्यको सूची प्रिन्ट भएको सचिवालयबाटै केही बेरमा बाहिरियो। जुन फाइनल टच दिन ओलीकहाँ पुर्‍याइएको थियो।

पृथ्वीले दिएको सन्देश

पौडेल ओलीको कोठामा छिरे पनि सोफामै थिए एमाले सचिव पृथ्वीसुब्बा गुरुङ। उनलाई पनि सञ्चारकर्मीले घेरामा पारे। उनी सञ्चार्मीसँग कुरा गर्न भने इच्छुक थिएनन्। उनलाई पनि सहमति के भयो भन्ने प्रश्न थियो। उनको जवाफ - सहमति भएको भन्न मिल्दैन भन्ने रह्यो। आफ्नो बारेमा भने उनी खुलेर बोले -सचिवभन्दा तल हुँदैन त्यसमाथि के हुन्छ थाहा छैन।

उनले यसो भनिरहँदा उनलाई कोट्याउन सोधियो, 'तपाईं हँसिलो हुनुहुन्छ। उपाध्यक्ष पाउनु भयो कि?'

उनी त्यसोभन्दा मुस्कुराएनन् मात्रै आफू कहिले निरास हुने मान्छे नभएको बताए। उनले दुःखमा पनि आफू हाँस्न सक्ने नेता भएको सुनाए। 'मलाई कहिले नहासेको देख्नु भएको छ। म दुःखमा पनि हाँस्न सक्ने मान्छे हो,'गुरुङले भने।

गोकुलको रफ्तार

एमाले नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटा हक्की नेताका रुपमा चिनिन्छन्। उनी आफूलाई लागेको कुरा प्वाकै भनिहाल्छन्। उनी शनिबार ओलीलाई भेट्न ओली बसेको रिसोर्ट पुगेका थिए। हतारहतार रिसोर्ट पुगेका बास्कोटाले धेरै समय ओलीसँग बिताएनन्। उनी ५ मिनेटमै निस्किए। निस्कँदै गर्दा उनले आफ्नो पुरानै शैलीमा अपडेट गराए। 'त्याग नगरी कही सहमति हुन्छ। सहमति हुने स्थितिमा म पनि त्याग गर्छु। अध्यक्षले बोलाएर आएको होइन आफैँ भेटन आएको हुँ। दाबी गर्न आएको होइन,' बास्कोटाले भने।

त्यतिबेला भने उनले कहिले बन्दसत्र सुरु हुन्छ भनेर पर्खिरहेका प्रतिनिधिका लागि आशा जगाएका थिए। ७ बजे बन्दसत्र सुरु हुने उनको भनाइ थियो। तर उनको भनेको बेलामा बन्दसत्र सुरु हुन सकेन। बाँस्कोटले ओलीलाई भेटेको बेला ४ बजेको थियो।

जब फाइनल कपी प्रिन्ट भयो

विष्णु पौडेल ओली निकट नेता हुन्। उनी आइतबार पनि अरु नेताको तुलनामा व्यस्त नै देखिए। पदाधिकारी र केन्द्रीय सदस्यको अन्तिम सूची प्रिन्ट गर्न उनी ७ बजे फेरि ग्राउण्ड फ्लोरमा झरेका थिए। त्यतिबेला भने उनले मुख खोलेनन्। ९ बजेर २० मिनेटमा दोस्रो पटक प्रिन्ट गर्न आएका पौडेलले सूचना गोप्य राख्न मौन बसे। तर, गोप्य भने रहन सकेनन्। उनी ओलीको कोठामा गएको केहीबेरमा पदाधिकारी र केन्द्रीय सदस्यको नाम भएको सूची लिक भएको थियो। जसमा अध्यक्ष र उपाध्यक्ष राखेर अरु पदलाई खाली राखिएको थियो।

लेखराजलाई ओलीको १० मिनेट

एमालेमा पूर्व माओवादीको स्थान के हुने भन्ने विषय चर्चाको विषय बन्न थालेको छ। महाधिवेशनमार्फत आफ्नो अस्तित्व पार्टीमा कायम गर्ने पक्षमा छन्, पूर्व माओवादीका नेताहरु। पदका बारेमा बेला बेलमा उनीहरुले ओलीसँग गफगाफ गरेका छन्। पूर्व माओवादी नेता लेखराज भट्टले शनिबार ओलीलाई भेटेका थिए। ९ बजेर ३० मिनेटमा ओलीको कोठामा प्रवेश गरेका भट्ट १० मिनेटमै निस्किए। उनले के कुराकानी भयो भन्नेबारे भने केही बताएनन्।

दिनभरको रस्साकस्सीले माहोल यतिसम्म तातेको थियो कि ओली बस्ने रिसोर्ट बाहिर सञ्चारकर्मीको भीडभाड थियो।  नेताहरु भित्र छलफलमा थिए। ९ बजेर ४० मिनेटमा ओली बन्दसत्रस्थल जान निस्किए। ओलीसँगै छलफल गरेका नेता प्रदीप ज्ञवाली, ईश्वर पोखरेल र शंकर पोखरेल निस्किएका थिए।

दुर्गा प्रसाइसँग ख्याल ठट्टा

एमाले नेता तथा व्यवसायी दुर्गा प्रसाईं पनि शनिबार ओली बास बसेको रिसोर्टमा पुगेका थिए। उनले सञ्चारकर्मीसँग लामो कुराकानी गरे। राजनीति सत्ता कब्जा गर्नका लागि भएको उनको भनाई थियो। 'राजनीति भनेकै सत्ता कब्जा गर्न। सरकार चलाउन, राज्य चलाउनका लागि हो। पशुपतिमा गएर भिख माग्न त कसैले गर्दैन,' उनले भनेका थिए।

उनले आफ्नो बारेमा मात्र बोलिरहेका थिएनन्। अहिलेका शीर्ष नेताहरुको बारेमा समेत टिप्पणी गरिरहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell