PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

'एनिमल फार्म'मार्फत् राजनीतिमाथि व्यङ्ग्य, नेपाली नाट्य रुपान्तरको तयारी यस्तो



लक्ष्मी बलायर

'एनिमल फार्म'मार्फत् राजनीतिमाथि व्यङ्ग्य, नेपाली नाट्य रुपान्तरको तयारी यस्तो

धेरै जनावरहरुको एउटै झुन्ड। त्यो झुन्डको नेतृत्व चाहिँ बुढो मेजर अर्थात् सुङ्गुरले गरिरहेको। विद्रोहका लागि तयार झुन्डमा सुँगुरदेखि घोडा, भेडा, काग, गधा, गाई, हाँस, मुसा र कुखुराहरु। सबै भेला भएको दिन पारेर मेजरले प्रश्न गर्छ, 'एउटा जनावरको जीवन प्राय दु:ख र गुलामीमै बित्छ। के यो प्रकृतिको आदेश हो?'

मेजरले फेरि थप्छ, 'प्रकृतिले कहिले भेदभाव गदैन। त्यसो भए हामी किन यो दयनीय अवस्थामा बाचिरहेका छौँ त? यसको जवाफ एउटै शब्दमा दिन सकिन्छ। 'मानिस'। हाम्रो एउटै शत्रु भनेको मानिस हो।'

उसको तगडा अभिव्यक्तिले सबै जनावर तरङ्गित हुन्छन्। मेजरले सम्पूर्ण जनावरलाई आत्मसम्मान, अधिकार र सुखमय जीवन पाउन क्रान्ति नै रोज्नुपर्ने सुनाउँछ। उसको कुरामा सबैले सहमति जनाउँदै ताली पिट्छन्। अनि एउटै स्वरमा गुन्जिन्छ - 'लाल सलाम'।

जनावरहरु क्रान्तिका लागि तयार हुन्छन्। क्रन्तिको रुप कस्तो हुन्छ भन्ने बुढो मेजरबाहेक कसैलाई थाहा हुँदैन। आखिर के हो त क्रान्ति? ह्यासट्याग क्रान्ति? शुरु हुन्छ।

यत्तिकैमा बुढो मेजरले सदियौँदेखि गाउँदै आइरहेको गीत सम्झन्छ। त्यो गीत उनले हजुरआमाबाट सिकेका थियो। उसले सबैलाई गीत गाएर सुनाउँछ अनि सिकाउँछन् पनि।

यत्तिकैमा बन्दुक पडकेको आवाज सुनिन्छ। बन्दुकको आवाज गुन्जिने बित्तिकै जनावरको झुन्ड तितरवितर हुन्छ। बन्दुक पड्काउने मानिस तिनै जनावरका मालिक। उसले टन्न रक्सी धोकेको हुन्छ। मालिकले पालैपालो सबै जनावरलाई कुट्न थाल्छ। बुढो मेजरलाई बेस्सरी कुट्न थाल्छ मालिक। बुढो मेजर भूईमा ढल्छ। अनि मधुर स्वरमा भन्छ, 'यो गीत कहिल्यै नबिर्सनु र मेरा शब्दहरु पनि नबिर्सनु।'

बुढो मेजर बित्छ।

उसको मृत्युपछि उसैले सुरु गरेको क्रान्ति र विचारलाई सुँगुर समुहका केपोलियन र एसपीले कसरी नेतृत्व गर्छन्? सत्तामा आउन उनीहरु बिच भएको द्वन्द्व र अन्य जनावरहरुले भोग्नु परेको पीडा।

+++

धेरैले पढेको जर्ज अरबेलको लघु उपन्यास 'एनिमल फार्म'को यो कथालाई समकालीन नेपाली राजनीतिसँग तुलना गर्नेहरु धेरै छन्। विद्रोह, सिद्धान्त र सत्ता राजनीतिको धक्कामक्कीको भुंग्रोमा परेका नेपालीका लागि यो कुनै फिक्सन होइन, यथार्थ हो। यसैलाई भारतका प्रशान्त नायरले नाटकीकरण गरे। नाट्यकर्मी आकांक्षा कार्कीले नेपालीकरण। कथा घेराले तयार पारेको एनिमल फार्मको कार्कीले नै निर्देशन गरेकी छिन् जसमा मानिसविरुद्ध जनावरहरुको विद्रोहको कथा समेटिएको छ।

नेपाली संस्करणको नाटक एनिमल फार्म दुई वर्षअघि नै मञ्चनको तयारी थियो। दुई साता रिहर्सल पनि गरिसकेको थियो कथाघेराले। एनिमल फार्म दुई वर्ष महामारीको सिकार भयो।

विश्वव्यापी कोरोना महामारीले सबैतिर लकडाउन र निषेधाज्ञा भए। अन्य क्षेत्रभन्दा बढी प्रभावित रह्यो थिएटर। तयारीका बाबजुद नाटक मञ्चन हुन सकेन। दुई वर्षदेखि रोकिएको यही नाटक मंसिर १४ देखि पुस ३ गतेसम्म कौशी थिएटरमा मञ्चन हुँदैछ।

सन् १९४५ मा सार्वजनिक भएको यो आख्यानले रसियाको बोल्सेभिक क्रान्तिमाथि व्यङ्ग्य गरेको थियो। नेपालको राजनीतिक उतारचढाव र राजनीतिक खिचातानीसामु अहिले पनि यसको सान्दर्भिकता भने ज्युँदै रह्यो। कोरोना महामारीपछि अझ बढी सान्दर्भिक भएको आकांक्षाको बुझाई छ। नाटकका सान्दर्भिक बनाउन थप मेहनत गरेकी छिन् उनले।

'कोरोना भाइरस संक्रमण बढ्नु अघि अनुवाद गरिएको नाटकमा अहिले निक्कै परिवर्तन भएको छ। कोरोनापछि त यो नाटक झन् सामयिक र सान्दर्भिक भएको छ,' आकांक्षाले सुनाइन्, 'कोरोना कालमा सरकारको कार्यप्रणालीमाथि यस नाटकले चोटिलो प्रहार गरेको छ।'

नाटकले नेपालको मात्रै नभएर विश्वभरिको राजनीतिक अवस्थालाई चित्रण गर्ने र हरेक प्रणाली विरुद्धमा व्यङ्ग्य गर्ने आकांक्षाको बुझाई छ। 'राजनीतिक दलका नेताको अहमताका कारण निर्दोष जनताले भोग्नुपरेको पीडा यस नाटकमा छ,' उनले भनिन्।

नाटकलाई सबैको जीवनसँग जोड्न संवादलाई गफगाफको भाषामा ढालिएको उनले सुनाइन्। नाटकका सन्दर्भ हरेक दर्शकसँग जोडिने उनको विश्वास छ।

+++

नाटकमा १६ जना कलाकारसहित २० जनाको टिमले तयारी पूरा गरेको छ। कथाघेराका लागि यो सबैभन्दा ठूलो 'टिमवर्क' पनि। दुई महिनादेखि कौशी थिएटरमा 'एनिमल फार्म'को रिहर्सल चलिरहेको छ। कलाकारहरु जनावरको रुपमा देखिनुपर्ने भएकाले त्यसका लागि खर्च पनि राम्रै भएको सुनाइन् आकांक्षाले।

जनावरको माध्यमबाट समाजको चित्रण पचाउन सहज हुने उनको बुझाई छ। त्यसैले नाटक तयार हुनुअघि कलाकारहरुलाई राखेर हरेक विषयमाथि छलफल गरिएको आकांक्षाले सुनाइन्।

+++

ओजस्वीले यस नाटकमा सुँगुर (एसपी) छिन्। जनावर बनेर अभिनय गर्दा रमाइलोका साथै चुनौती पनि भोगिन् उनले।

जनावर भएर अभिनय गर्दा बढी स्वतन्त्रा पाएको उनको अनुभव छ। 'मानिसको भूमिकामा अभिनय गर्दा सीमा हुन्छ। तर, जनावर बन्दा त स्वतन्त्रता धेरै हुँदो रहेछ,' उनले भनिन्, 'मानिस हुँदा सभ्य हुनुपर्छ तर जनावर हुँदा उट्पट्याङ् गर्ने छुट हुँदो रहेछ।'

सेबिता अधिकारी भने 'भेडा' को भूमिकामा छिन्। नाटकको भेडासँग आफ्नो बानी मिल्ने सुनाइन् उनले। त्यसले नाटकमा काम गर्न सजिलो भएको उनको तर्क थियो।

सत्तामाथि गर्न नसकेको प्रश्न भेडामार्फत् निकाल्न पाएकोमा खुशी देखिन्छिन् उनी। यस नाटकमा अभियन गरेपछि भेडालाई हेर्ने दृष्टिकोणमा नै परिवर्तन पाएको सुनाइन् उनले।

'मैले पहिलेदेखि भेडा देखिरहेकै हो। पहिले ऊनका लागि भेडा पालेको जस्तो लाग्थ्यो। तर अहिले जनावर भएर मानिसलाई हेर्न थालेकी छु,' उनले भनिन्, 'मेरो हेराइमा परिवर्तन आएको छ।'

रङ्गकर्मी ईँगी होपो कोइँच सुनुवार यस नाटकमा मुख्य भूमिकामा छन्। उनी सुँगुर केपोलियन बनेर जनावरहरुको सत्ता हाँकिरहेका छन्। शासकको भूमिकामा देखिएता पनि तानाशाही प्रवृत्तिका कथाले निक्कै छुने उनले बताए।

शासक केपोलियनको भूमिकामा फिट हुन उनलाई त्यति सहज भने भएन। तानाशाही सुँगुर बन्दा उनले छिनमै रीस देखाउनुपर्थो त छिनमै अरुलाई फकाउनुपर्थ्यो। आफूलाई बलियो देखाउन बोलीदेखि शारीरिक हाउभाउमा पनि निकै विचार गर्नु परिरहेको उनले बताए। उनका अनुसार नाटकमा देशको मात्रै नभएर सानो सानो समूहमा हुने प्रवृत्तिलाई पनि देखाइएको छ। राम्रालाई भन्दा पनि हाम्रालाई माथि बढाउनुपर्छ भन्ने प्रवृत्तिमाथि नाटकले व्यङ्ग्य गरेको उनले सुनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell