PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ओलीको सहमतिविरुद्ध उत्रिए तीन नेताः रावलले दिए अध्यक्षमा उम्मेद्वारी, भुसाल र आचार्यको पनि पदाधिकारीमा दाबी



प्रकाश भण्डारी

ओलीको सहमतिविरुद्ध उत्रिए तीन नेताः रावलले दिए अध्यक्षमा उम्मेद्वारी, भुसाल र आचार्यको पनि पदाधिकारीमा दाबी

चितवनः नेकपा (एमाले) को अध्यक्षमा भीम रावलले उम्मेद्वारी दिएका छन्। मध्यरातमा ओलीले गरेको पदाधिकारी प्रस्तावको विरोध गर्दै रावलले उम्मेद्वारी दिएका हुन्। आइतबार राति नै मनोनयन फाराम तयार पारे पनि अचानक निर्वाचन कार्यक्रम स्थगित भएको थियो। सोपछि सोमबार बिहान रावलले उम्मेद्वारी दिएका हुन्। 

रावलको उम्मेद्वारीको प्रस्तावकमा महादेव बजगाईं र समर्थकमा दूधकला विष्ट रहेका छन्। 

रावलले यसअघि नै काठमाडौंमा नै उम्मेद्वारी घोषणा गरेका थिए। उपाध्यक्षमा यथावत राखेर मनाउने प्रयत्न भए पनि रावल मानेका थिएनन्। 
रावलको उम्मेद्वारीसँगै सर्वसम्मत अध्यक्ष हुने ओलीको इच्छामा ब्रेक लागेको छ। 

ओलीले प्रस्ताव गरेको पदाधिकारीमा रावल र वर्तमान उपमहासचिव घनश्याम भुसालको नाम सामेल छैन। भुसाल पनि उपाध्यक्षमा उम्मेदवारी दिइसकेका छन्। 

उपाध्यक्षमा ओलीले विष्णु पौडेल, सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र रामबहादुर थापालाई प्रस्ताव गरेका छन्।
निर्वाचन आयोगका अनुसार सचिवमा भीमप्रसाद आचार्यको पनि उम्मेद्वारी दर्ता भएको छ। सचिवमा ओलीले योगेश भट्टराई, गोकर्ण विष्ट, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराव भट्ट र पद्मा अर्यालको नाम प्रस्ताव गरेका छन्। 

आइतबार मध्यरातमा ओलीको प्रस्तावमा ३०१ केन्द्रीय सदस्य सर्वसम्मत भएका थिए। साथै अनुशासन र लेखा आयोग पनि गठन भएको छ। रावलले एक व्यक्तिलाई सर्वाधिकार दिएर पदाधिकारी चयनको विरोध गरेका थिए। बन्दसत्रमा नै रावलले उक्त निर्णय मान्य नभएको र आफूले निर्वाचन चाहेको बताएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell