PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ओलीको तजबिजमा रमिते एमालेभित्रको पूर्वमाओवादी समूह, घनश्याम भर्सेस बादल र भीम आचार्यविरुद्ध रायमाझी र भट्ट



विधुर ढकाल

ओलीको तजबिजमा रमिते एमालेभित्रको पूर्वमाओवादी समूह, घनश्याम भर्सेस बादल र भीम आचार्यविरुद्ध रायमाझी र भट्ट

काठमाडौँ: सौराहामा जारी नेकपा (एमाले) को १०औँ महाधिवेशनमा अध्यक्ष ओलीको रजगज चलेको छ। ओलीको तजबिजमा रमिते बनेको छ- एमालेभित्रको पूर्वमाओवादी समूह।

तत्कालीन नेकपालाई अदालतले पूर्ववत् एमाले र माओवादी केन्द्रमा फर्काएपछि एमालेतिर लागेका माओवादी केन्द्रका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरीहरू अहिले एमालेको १०औँ महाधिवेशनमा रमिते बनेका छन्।

न उनीहरू दुई हजार बढी प्रतिनिधिहरूको बीचमा शक्तिमा छन्। न त एमालेमा आफ्नो हैसियतमा देखिन्छन्। उनीहरू खाली ओलीको तजबिजलाई स्वीकार गर्दै महाधिवेशनमा ताली पिट्न उपस्थित भएका छन्।

एमालेभित्र सर्वसम्मतिमा नेतृत्व चयनका लागि पदाधिकारी र केन्द्रीय समितिको आकार बढाइएको छ। सहमतिका नाममा ओलीले पेस गरेको प्यानलमा ओलीकै तजबिजमा पूर्वमाओवादी समूहबाट बादलले उपाध्यक्ष, रायमाझी र भट्टलाई सचिवमा राखिएको छ। साह पदाधिकारीको लाइनबाट रिङआउट भएका छन्। भूगोलबाट २ नं प्रदेशको केन्द्रीय सदस्यको लिस्टमा परेका छन्। साहभन्दा वरीयतामा माथि रहेका मणि थापा पनि पदाधिकारीका आकांक्षी भए पनि उनको चर्चा सुनिएको छैन। उनलाई खुलातर्फ केन्द्रीय सदस्यमा राखिएको छ।
त्यस्तै चौधरीको स्थान समावेशी समूहको थारु तर्फ केन्द्रीय सदस्यमा राखिएको छ।

केन्द्रीय कमिटीको निर्वाचन हुँदै गर्दा ओलीको सूचीमा नपरेकाहरूले पनि मनोनयन दर्ता गराए पूर्वमाओवादी समूहका नेताहरूलाई निर्वाचन जित्न सकस पर्न सक्छ। किनभने दुई हजार बढी प्रतिनिधिमा मुस्किलले दुई सय प्रतिनिधि पनि यो समूह सँग छैन।

हुन त यो समूहले माओवादीका नेता कार्यकर्तालाई प्रलोभन दिन एमालेको १०औँ महाधिवेशनलाई ‘एकता महाधिवेशन’ भन्दै आएका छन्। प्रभु साहले १०औँ महाधिवेशनलाई एकता महाधिवेशन भन्नुपर्ने भन्दै केन्द्रीय समितिको बैठकमा फरक प्रस्ताव पठाएका थिए। ओलीसँग सम्बन्धविच्छेद गर्नेसम्मको अवस्थामा पुगेर फेरि ओलीलाई जिन्दगीभर साथ दिने उद्घोष गरेका साह अहिले आफ्नो अस्तित्व र पद जोगाउनकै लागि ओलीले जे भन्छन्- त्यसैमा ताली ठोक्दै छन्।

‘हाम्रो न त दस्ताबेजमा फरक मत राख्ने हैसियत छ। न सहमतिमा नेतृत्व चयन गर्दा पदमा बार्गेनिङ गर्ने दाबी पुगेको छ,’ पूर्वमाओवादी तथा रुपन्देहीबाट महाधिवेशन प्रतिनिधिको रूपमा सौराहा पुगेका एक जनाले भने, ‘जे जे गर्नुहुन्छ उहाँहरू नै गर्नुहुन्छ। लड्ने पनि उहाँ (एमाले) हरू नै हो। भिड्ने पनि उहाँहरू नै हो। हामी त बस छेउमा बस्ने रमिता हेर्ने।’

एमालेको वरिष्ठ उपाध्यक्षमा इच्छा राखेका बादललाई उपाध्यक्षमा खुम्च्याइसकेका छन् ओलीले। ओलीले उपाध्यक्षमा भाग पुर्‍याउनका लागि चार उपाध्यक्षबाट दुई थपेर ६ पुर्‍याइएका थिए। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल सर्वसम्मत भएका छन्।

पदाधिकारीको टकराब चल्दै गर्दा रिङआउट भएका घनश्याम भुसालले उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन्। उपाध्यक्षमा पनि निर्वाचन हुँदै गर्दा बादलाई पनि आफ्नो स्थान सुरक्षित गर्नका लागि भुसालसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। यसरी हेर्दा यो निर्वाचन उपाध्यक्षमा प्रतिस्पर्धा बादल र घनश्यामको देखिन्छ।

बादललाई सुरक्षित गर्न अन्तिममा सहमतिका लागि ओली पक्षबाट एक जनाको उम्मेदवारी फिर्ता गराएर भुसाललाई भित्राउने विकल्प बाँकी छ। तर, यो सम्भव छैन। उपाध्यक्षमा प्रस्ताव गरिएकाहरूलाई अन्त झार्ने ठाउँ छैन।

यदि प्रतिनिधिहरूले ओलीको प्यानल नहेरी एमालेका नेताहरूलाई छनोटमा पारे भने बादल रिङआउट हुनु पर्नेछ।

त्यस्तै रायमाझी र भट्टको पनि हालत यस्तै हुने देखिन्छ। सचिव पदमा एमालेका सचिव भीम आचार्यले दोहोरिने चाहनासहित उम्मेदवारी दर्ता गराएका छन्। उनी ओलीको लिस्टबाट रिङआउट भएका थिए।

केन्द्रीय सदस्यको लागि पनि निर्वाचन भएको अवस्थामा पूर्वमाओवादी समूहलाई सकस पर्ने देखिन्छ। त्यसैले पनि उनीहरू ‘सहमति’को ओली रटानमा समर्थन गरिरहेका छन्।

‘नेतृत्व सर्वसम्मत हुन्छ भनेर हामीलाई अध्यक्ष (ओली)ले भन्नु भएको छ। त्यसै अनुरूप हामीले उहाँसँग हाम्रो आकांक्षाको बारेमा जानकारी गराएका छौँ,’ एक पूर्वमाओवादीले भने, ‘पदाधिकारीदेखि केन्द्रीय सदस्य सम्मको आकांक्षाको लिस्ट उहाँसँग पुर्‍याएका थियौँ। केही समेटिनु भएको छ। पदाधिकारीमा केही आंकाक्षी छुट्नु भएको छ।’

पूर्वमाओवादी समूहलाई समेट्नका लागि पनि ओलीले सहमतिबाट नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएको ती नेताले बताए।

‘सहमतिमा नेतृत्व चयन हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। यो महाधिवेशन एमालेको महाधिवेशनभन्दा पनि एकताकै महाधिवेशन हो,’ ती नेताले भने, ‘चुनावी प्रतिस्पर्धा हुने हो भने हाम्रो स्थान के? हामीलाई प्रतिनिधि छनोटमा पनि किनारामा पारियो। चुनाव भए हामी हार्छौँ। हामीले निर्वाचित भएको पद पनि गुमायौँ। पार्टीको पनि पद गुमाउँछौँ। हाम्रो राजनीतिक भविष्यमा विराम लाग्छ त्यस्तो भए त।’

ती नेता यति भन्दै गर्दा निराश पनि सुनिए- ‘तर, उहाँहरू भित्रै प्रतिस्पर्धा छ। ओली आफैँ सहमतिको अध्यक्ष बन्न बाधक देखिन्छ। हाम्रो बाटो छेक्ने त अरू पनि उभिन्छन् नि। अब जे हुन्छ अध्यक्षकै हातमा छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell