PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ओलीकै रजगजले दबिएको फरक आवाज



पहिलोपोस्ट

ओलीकै रजगजले दबिएको फरक आवाज

काठमाडौँ: नेकपा (एमाले) को १०औँ महाधिवेशन सौराहामा जारी छ। नेतृत्व चयनका सकसका बीच सोमबार नै सम्पन्न हुनुपर्ने महाधिवेशन लम्बिएको छ। सोमबार रातिसम्म मतदान प्रक्रिया प्रारम्भ हुँदैछ।

एमालेको अघिल्लाभन्दा यो महाधिवेशन फरक देखिएको छ। पुराना अनुहार यसपटक देखिएका छैनन्। पूर्वप्रमुख झलनाथ खनाल र माधवकुमार नेपाल एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) क्रमशः सम्मानित नेता र अध्यक्ष भएका छन्।

अर्कोतर्फ एमालेका उपाध्यक्ष तथा प्रभावशाली नेता बामदेव गौतम अहिले अध्यक्ष केपी शर्मा ओली एमालेमा रहँदासम्म एमालेमा नजाने भन्दै राजीनामा दिएर बसेका छन्। भलै उनको राजीनामालाई आधिकारिक रूपमा स्वीकृत गरिएको जानकारी एमालेले गराएको छैन।

यी नेताका अलावा एमालेको ९औँ महाधिवेशनमा हर्ताकर्ताको रूपमा रहेका नेता १०औँ महाधिवेशनमा आउँदा कोही पार्टी छाडिसकेका छन्। कोही एमालेमै भएर पनि दबिएर बसेका छन्।

अघिल्लो महाधिवेशनमा माधव नेपालको एउटा प्यानल बनाएर चुनाव लडेको अवस्थामा ओली र बामदेव गौतमले अर्को प्यानल बनाएर लडेका थिए। ओली-बामदेव समीकरण बन्दा बामदेव समूहमा रहेका नेता हर्ताकर्ताको रूपमा आफूलाई उभ्याएका थिए।

एमालेभित्र बामदेवको नेतृत्वमा रहेको पूर्वमाले समूह त्यो बेला हाबी भएको थियो। अहिले त्यो स्थिति रहेन। ओलीसँगको सहमतिमा ओलीको प्यानलमा बामदेव समूहको ४० प्रतिशतको हाराहारीमा समेटिएका थिए।

‘अब हामी पूर्वमाले मात्र रहेनौँ। ढुक्क हुनुस्, पूर्वमाले भएकै आधारमा उम्मेदवार बन्नबाट कसैलाई पनि भेदभाव हुने छैन,’ ओलीसँग एउटै प्यानलमा उम्मेद्वारी दिने सहमति गरेका गौतमले त्यतिबेला आफू पक्षका नेताहरूलाई सम्झाउँदै भनेका थिए।

त्यतिबेला एमालेको १७ सयको हाराहारीमा रहेका प्रतिनिधिमा गौतम समूहका अझ पूर्व मालेको प्रतिनिधित्व गर्नेको संख्या न्यून थियो। तर, वामदेव-ओली सहमतिका कारण यही समूह हर्ताकर्ताको रूपमा उपस्थित हुन पुग्यो।

ओली समूहमा मात्र होइन नेपाल समूहमा पनि पूर्वमाले समूहको उपस्थिति थियो। नेपाल समूहमा माले समूहबाट आएका घनश्याम भुसाल, योगेश भट्टराई, ठाकुर गैरेलगायत हर्ताकर्ताको रूपमा रहेका थिए। अर्कोतर्फ ओली प्यानलमा बामदेवसँगै किरण गुरुङ, रघुवीर महासेठ, रवीन्द्र अधिकारीहरु हर्ताकर्ताको रूपमा उपस्थित थिए।

तर, यस पटकको महाधिवेशनमा अल्पमतमा रहेको समूह दबिएर बसेको छ। तत्कालीन नेकपाको गुट र पछि एमालेको फरक समूहमा रहेका नेताहरू अहिले पेलिएका छन्।

अध्यक्ष ओलीले एमालेको माधव समूहमा रहेर संघर्ष गरेका र १० बुँदे सहमतिबाट एमाले फुट्दा एमालेमै रहेका नेताहरूको आवाज ओलीले सहमतिका नाममा छानेर ल्याएका महाधिवेशनका सामु दबिएर गएको छ।

१०बुँदे सहमतिबाट एमालेमै रहेका १० भाइहरू मध्ये भीम रावलले अध्यक्षमै उम्मेदवारी घोषणा गरेका छन्। उनको आवाज पनि त्यसै दबिएको छ। घनश्याम भुसालले उपाध्यक्षमा दाबी गरिरहेका छन्। तर, उनलाई पनि खुलेर आफ्नो मत राख्न दिएका छैनन्।

बन्द सत्रको सुरुको दिन नेता रावलले आफ्नो कुरा राख्दै गर्दा प्रतिनिधिहरूले हल्ला गरेरै उनको आवाजलाई मलिन बनाइदिए।

१० भाइमध्ये अघिल्लो पटक नेपालको प्यानलबाट विजयी भएका योगेश भट्टराई छायामा छन्। उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उपाध्यक्षमै चित्त बुझाउँदै छिन्। महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डेको आफ्नै गृह जिल्लामा कतै सुनिएका छैनन्। भीम आचार्य कतै हराएजस्तै छन्।

ओलीकै रजगजले दबिएको फरक आवाज

सहमतिका नाममा अध्यक्ष ओलीले गत असोजमा भएको विधान महाधिवेशनबाट पारित सांगठनिक संरचनालाई पनि संशोधन गरेका थिए। विधान महाधिवेशन गर्दै गर्दा एमाले नेताहरूको एउटै आवाज थियो- ‘महाधिवेशनमा सबै निर्वाचनमा केन्द्रित हुँदा विधान लगायतका दस्ताबेज माथि छलफल हुन पाउँथेनन्। त्यसैले विधान महाधिवेशनमा विचार मन्थन गरेर दस्ताबेज पारित भए। अब पाँच वर्ष यही दस्ताबेज अनुसार एमाले अगाडि बढ्छ।‘

एमाले नेतृत्वले यतिबेला आवाज मात्र फेरेनन्, पाँच वर्षका लागि भन्दै पारित प्रस्ताव तीन महिनामै संशोधन गर्नुपर्‍यो। यो सबै ओलीले आफूलाई एमालेको सर्वसम्मत नेताको रूपमा स्थापित गर्ने ध्येय हो। यसमा साथ दिएका छन्- ओलीकै रजगज र तजबिजले महाधिवेशन प्रतिनिधि बनेर आएका एमालेजन।

त्यस्तै उनको साथमा एमालेका नेताहरू त छन् नै आफ्नो पद जोगाउनका एमालेका फरक आवाज भनिएका १० भाइ मध्ये ८ भाइ पनि मिसिएका छन्। अष्टलक्ष्मी शाक्य उधारो राष्ट्रपतिमा परेर सहमतिको रटान गर्दैछिन्। आफूलाई महासचिवमा दाबी गर्ने सुरेन्द्र पाण्डे रिङआउट भइसकेका छन्।

आइतबार अबेर सुरु भएको महाधिवेशनको बन्दसत्रमा ओलीकै रजगज देखियो। उपमहासचिव विष्णु पौडेलले सर्वसम्मत पदाधिकारी तथा केन्द्रीय सदस्यको नाम सुनाउने जिम्मा अध्यक्ष ओलीलाई दिने प्रस्ताव राखे यसमा ओलीकै तजबिजबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूले ताली पिटे। भीम रावल तथा घनश्याम भुसालको आवाज दबिए। योगेश भट्टराई, गोकर्ण विष्ट, अष्टलक्ष्मीहरू लम्पसार परे।

'हामी १० बुँदेले रोकिएकाहरू एक्ला भयौँ। अलिअलि आवाज रावल कमरेडले अलिअलि घनश्याम कमरेडले उठाउनु भएको छ। तर स्वर दबाइएको छ,' एक महाधिवेशन प्रतिनिधिले भने, 'हामी जसको भरोसामा यहाँ अडियौँ। उहाँहरू नै लम्पसार परे पछि हामी रमिते मात्र रह्यौँ। रावल कमरेडकै त आवाज दबाइएको छ। हामी बोल्न सक्ने हैसियत नै राखिदिनु भएन।'

निर्वाचन आयोग निकम्मा जस्तै बन्यो। शनिबार मतदाता नामावली संकलन, अन्तिम नामावली प्रकाशित गर्ने र आइतबार मतदान गर्ने कार्यसूची बनाएको आयोगले कुनै प्रक्रिया अगाडि बढाउन सकेन।

यदि निर्वाचन समितिले कार्यक्रम अगाडि बढाउँथ्यो त आइबार सौराहाको राप्ती किनारमा घाम तापिरहेका महाधिवेशन प्रतिनिधि मतदानका लागि लाममा उभिइरहेका हुन्थे।

महाधिवेशन बन्दसत्रमा ओलीकै रजगज हुँदाहुँदै पनि रावल यतिवेला ओलीलाई एक्लो टक्कर दिँदै चुनाव प्रचारमा छन्। ओलीले एकलौटी गरेर गए निर्वाचन आयोग, सर्वोच्च अदालतसम्म पुगेर भए पनि चुनौती दिने चेतावनी दिँदै चुनाव प्रचारमा छन्।

अहिले एमालेमा सुनिने आवाज एउटा मात्र- ओलीको जयजयकार। एक्ला भीम र एक्ला घनश्यामको मलिन आवाज ओलीका छोराहरूको चिच्च्याहटसँग मलिन मलिन सुनिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell