PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

बद्री पाण्डेले गरे कांग्रेस सहमहामन्त्रीमा उम्मेद्वारी दिने घोषणा



पहिलोपोस्ट

बद्री पाण्डेले गरे कांग्रेस सहमहामन्त्रीमा उम्मेद्वारी दिने घोषणा

काठमाडौँः नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले पार्टीको १४औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पाण्डेले उम्मेद्वारी घोषणा गरेका हुन्।

उनले पार्टी सुधारेर राजनीति सुधार्ने र राजनीति सुधारेर देश सुधार्ने बाटोमा लैजान आफू अग्रसर भएको बताए। पाण्डेले विचारमा एकरुपता र स्पष्टता, विधानको अक्षरशः पालना आफ्नो एजेण्डा भएको बताए।

पुराना पुस्ताको योगदान र बलिदानलाई स्मरण गर्दै नयाँ पुस्ताको सोचलाई पार्टीमा अघि बढाउने उनले बताए।

पाण्डेले भने, ‘म १२औँ महाधिवेशनमा सेती अञ्चलबाट केन्द्रीय सदस्य निर्वाचित भएको हुँ। १३औँ अधिवेशनमा खुला २५ जनाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएको हुँ। अहिले पदाधिकारी तहमा जानुपर्छ, पदाधिकारीको संख्या पनि केन्द्रीय समितिमा बढेको छ, त्यो हिसावले मैले आफ्नो पिछडिएको क्षेत्र, म आफू बाजुराको नागरिक पनि भएको कारणले बाजुराको बासिन्दा पनि भएको कारणले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीको उम्मेदवारी दिने विचार गरेको छु।’

देशभरका शुभेच्छुकको सुझावका आधारमा पदाधिकारीमा उम्मेद्वारी दिने निर्णयमा पुगेको उनको भनाई छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell