काठमाडौँः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन एमालेमा आफूहरुले गरेको विद्रोहको पुष्टि चितवन महाधिवेशनले गरेको बताएका छन्। सोमवार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले बिद्रोह गर्नुको कारण बुझ्न चितवनको तमासा पर्याप्त रहेको बताए।
नेपालले एमालेभित्र फरक मत राख्नेको अपमान भइरहेको पनि बताए। जनताको बहुदलीय जनवादलाई एमालेले गफमात्रै बनाएको उनको आरोप छ। एमालेमा कुनै पनि जनवादी अधिकार प्रदान नगर्ने, विचारको बहस सञ्चालन नगर्ने प्रवृत्तिले अधोगतितर्फ गइसकेको दाबी नेपालले गरे।
नेपालले भने, ‘अहिले हामीले कम्युनिस्ट आन्दोलनमा विद्रोह गरेका छौँ। नेकपा एमालेबाट विद्रोह ग¥यौँ। किन विद्रोह ग¥यौं त्यसको व्याख्या गरिरहनु पर्दैन, चितवनको तमासा नै पर्याप्त छ। त्यहाँको कुम्भमेला नै पर्याप्त छ, त्यहाँ फरक मत राख्ने व्यक्तिहरुमाथि जसरी अपमान भएको हामीले समाचार पाइराखेका छौँ। त्यो नै पर्याप्त छ। जनताको बहुदलीय जनवादका गफ मात्रै हाँक्ने, कुनै पनि जनवादी अधिकारहरु प्रदान नगर्ने, त्यसबाट वञ्चित गर्ने, विचारको बहस सञ्चालन नगर्ने, आदेशको पालन गर्ने, त्यो प्रवृत्तिले नै प्रस्ट पार्दछ कि अब त्यो नेकपा एमाले कम्युनिस्ट क्रान्तिकारी दिशामा बढ्न सक्दैन, त्यो अब अधोगतितर्फ गइसकेको छ, दक्षिणपन्थी बाटोतर्फ लागिसकेको छ।’
विदेशीको दलालीले मात्र प्रशंसा गर्नसक्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताले महाधिवेशन उद्घाटनमा एमालेको उच्च प्रशंसा गर्नु स्वभनीय नभएको नेपाल बताए। वामपन्थी, लोकतान्त्रिक शक्ति मिलेर ५ दलीय गठबन्धन सरकार बनाएको र मुलुक र संविधान मास्नेहरुबाट मुक्ति दिलाएको नेपालको जिकिर छ।
‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताले उच्च प्रशंसा गरेको, विदेशीहरुको दलाली गर्नेहरुले उच्च प्रशंसा गरेको, त्यसबाट थाहा हुन्छ कि वास्तवमा त्यो पार्टी कुन दिशातर्फ जान खोज्दै छ। राम्रोले राम्रोलाई प्रशंसा गर्दा रहेछन्, नराम्राले नराम्रालाई नै प्रशंसा गर्दछन्। त्यसैले राम्रा राम्रसँग, नराम्रा नराम्रासँग छन्, अहिले हामी वामपन्थी, लोकतान्त्रिक शक्तिहरु एकतावद्ध भएर ५ दलीय गठबन्धन बनाएका छौँ। यो मुलुकलाई, संविधानलाई क्षतविक्षत पार्न खोज्ने शक्तिबाट मुक्त गरेका छौँ। लोकतन्त्रलाई मास्न खोज्ने शक्तिहरुबाट जोगाएका छौँ। संविधानको, लोकतन्त्रको रक्षा गरेर हामीले क्रान्तिबाट प्राप्त गरेका उपलब्धिहरुको जगेर्ना गरेका छौँ। हामी क्रान्तिप्रति, त्यसबाट प्राप्त भएको उपलब्धिहरुप्रति अत्यन्त सजग छौँ। गम्भीर छौँ, रक्षा गर्न चाहन्छौँ। अगाडि लान चाहन्छौँ, प्रगतिको दिशामा बढाउन चाहन्छौँ’, उनले भने।
उनले देशलाई प्रगतिको दिशामा अघि बढाउनका लागि एकीकृत समाजवादी लागि पर्ने बताए।
