PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

राजनीतिक ‘पर्वको सिजन’: एमालेसँगै महाधिवेशनको चटारोमा अरू राजनीतिक दल, कांग्रेस, माओवादी केन्द्र र राप्रपा पाइपलाइनमा



विधुर ढकाल

राजनीतिक ‘पर्वको सिजन’: एमालेसँगै महाधिवेशनको चटारोमा अरू राजनीतिक दल, कांग्रेस, माओवादी केन्द्र र राप्रपा पाइपलाइनमा

काठमाडौँ: यतिबेला नेपालका राजनीतिक दलहरू महाधिवेशनको चटारोमा होमिएका छन्। संघीय संसद्को सबैभन्दा ठूलो दल नेकपा (एमाले) को १० औँ महाधिवेशन चितवनको सौराहामा जारी छ।

मंसिर १० गते उद्घाटन भएको महाधिवेशन आइतबार सम्मका लागि निर्धारण भए पनि पुनः मंगलबारसम्मको कार्यसूची थपिएको छ। महाधिवेशनको बन्दसत्रको कार्यसूची पछाडि धकेलिएको छ। महाधिवेशनको बन्दसत्रसँगै शनिबार मनोनयन दर्तादेखि उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यसूची राखिएको थियो जुन सोमबार बिहान मात्र मनोनयन दर्ता भयो।

पछिल्लो संशोधित कार्यतालिका अनुसार सोमबार राति ९ बजेदेखि मंगलबार बिहान तीन बजेसम्म मतदानको कार्यक्रम तय गरिएको छ। तर, उम्मेद्वार संख्या धेरै भएको र उम्मेदवारहरूको भोटिङ मेसिनमा रुजु गर्दै नाम चढाउन ढिलाइ हुने हुँदा निर्धारित समयमा नै निर्वाचन सुरु हुनेमा निर्वाचन समितिका संयोजक विजय सुब्बा नै ढुक्क छैनन्।

एमालेले केन्द्रीय महाधिवेशन गरे पनि उसको जिल्ला तथा प्रदेश अधिवेशन भएका छैनन्। स्थानीय तहमा वडा र पालिका अधिवेशन गरेको एमालेले त्यसभन्दा माथिल्ला तहको अधिवेशन गरेको छैन।

केन्द्रीय महाधिवेशन सकेपछि प्रदेश र जिल्ला अधिवेशन गर्दै जाने एमालेका केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

देश संघीयतामा गइसके पनि संघीय प्रावधान अनुसार एमालेले अधिवेशन गर्न सकेको देखिँदैन। माघमा एमालेका अध्यक्ष केपी शर्मा ओली ७० वर्ष पूरा हुने भएका कारण उनको सहजताका लागि मंसिरमै महाधिवेशन तोकिएको हो।

एमालेको गत असोजमा सम्पन्न प्रथम विधान महाधिवेशनबाट उमेर हद ७० वर्ष निर्धारण गरेको थियो। ओलीलाई अध्यक्ष बन्ने बाटो खोल्नका लागि पदाधिकारीमा निर्वाचित हुँदा ७० वर्ष पूरा नभएको र कार्यकालकै बिचमा ७० वर्ष पूरा भए बाँकी कार्यकाल पदमा रहनेगरी व्याख्या गरिएको थियो।

त्यसैले ओली ७० वर्ष पुग्न अगाडि नै महाधिवेशन गर्नकै लागि एमालेले जिल्ला र प्रदेश अधिवेशनलाई थाती राखेर केन्द्रीय महाधिवेशन आयोजना गरेको हो।

जिल्ला अधिवेशन सक्यो कांग्रेसले

अहिले सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस पनि महाधिवेशनको चटारोमा छ। अहिलेसम्म कांग्रेस वडा अधिवेशन, पालिका अधिवेशन, प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गरेको छ। गत साता मात्र कांग्रेसले अधिकांश जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ। तर, केही जिल्लामा विवाद जारी छ।

१० गते सम्पन्न जिल्ला अधिवेशनबाट जिल्लाको नेतृत्व चयन भइरहेका छन्। कतिपय जिल्लाका नेतृत्व सर्वसम्मत तथा कतिपयमा मतदानबाट नेतृत्व कांग्रेसले टुंगो लगाइसकेको छ। केही जिल्लामा निर्वाचन हुन सकेका छैनन् भने केही जिल्लामा उम्मेदवारले बहुमत हासिल नगर्दा पुनः मतदान हुँदैछ।

नेपाली कांग्रेसले केन्द्रीय महाधिवेशनका लागि कामलाई तीव्रता दिएको छ। पटकपटक महाधिवेशनको कार्यतालिका संशोधन गर्दै आएको कांग्रेसले केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौँमा गर्दैछ। पहिलो पटक २०७७ फागुनमा महाधिवेशन गर्ने तय भएको कांग्रेसको महाधिवेशन तालिका पाँचपटक संशोधन भइसकेको छ।

मंसिर १० मा एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन गर्ने तय थियो। यस अवधिमा चितवन लगायतका केही जिल्लामा महाधिवेशन हुन सकेको छैन।

यसैबीच संशोधित कार्यतालिका अनुसार मंसिर १६ र १७ गते प्रदेश अधिवेशन हुनेछ। केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्मलाई निर्धारण गरिएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए। केन्द्रीय नेतृत्वका लागि हुने निर्वाचनका लागि मंसिर २१ गतेदेखि मनोनयन दर्ता प्रक्रिया थाल्ने तयारीसमेत निर्वाचन समितिले गरेको छ।

कांग्रेसले महाधिवेशनका लागि पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल समिति बनाएको छ।

त्यस्तै, अर्थ संकलन समिति, भोजन तथा आवास व्यवस्थापन, विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति, प्रचार प्रसार समिति, उद्घाटन समारोह एवं मञ्च व्यवस्थापन समिति, स्वास्थ्य समिति, सांस्कृतिक समिति, स्वयंसेवक व्यवस्थापन समिति बनाएर महाधिवेशनको तयारी तीव्र पारेको छ।

माओवादी केन्द्रले सक्यो पालिका अधिवेशन

सत्तारुढ गठबन्धनको अर्को दल नेकपा (माओवादी केन्द्र) पनि केन्द्रीय सम्मेलनको तयारीमा जुटेको छ। सोही अनुसार माओवादी केन्द्रले टोल भेला, वडा सम्मेलन र पालिका अधिवेशन सम्पन्न गरेको छ।

शनिबार माओवादी केन्द्रले देशैभरका पालिका सम्मेलन गरेको छ। माओवादी केन्द्रले ७५३ स्थानीय तहका अलावा सम्पर्क समन्वय समिति र विशेष समिति समेत गरी ७७६ पालिका कमिटी बनाउँदै छ। जसमध्ये केही जिल्लामा पालिका सम्मेलन रोकिएका छन्। रुपन्देही जिल्लामा त्यहाँका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य रामप्रसाद बञ्जाडे ‘टंकमणि’को सडक दुर्घटनामा परी मृत्यु भएपछि अधिवेशन स्थगित भएको छ। रुपन्देहीमा मंसिर १६ गते पालिका अधिवेशन गर्ने तयारी भइरहेको छ।

पालिका अधिवेशनबाट पालिका कमिटी चयन हुनुका साथै प्रदेश सम्मेलनका लागि प्रतिनिधि छनोट गर्नेछ।

माओवादी केन्द्रले मंसिर २५ गते सातै प्रदेशमा प्रदेश सम्मेलन गर्दै छ। स्थानीय स्तरका सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय नेतृत्व होमिएका छन्। शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल रूपमा एकैपटक देशैभरका पालिका सम्मेलनको उद्घाटन गरेका थिए।

केही पालिकामा सम्मेलन सम्पन्न भई शनिबार नै नेतृत्व चयन भइसकेका छ भने केही जिल्लामा आइतबार साँझ सम्म नेतृत्व चयन भइसक्ने माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।

माओवादी केन्द्रले पुस ११ देखि १३ गते सम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्दै छ।

राप्रपाको महाधिवेशन यसै साता

यता राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर १५ देखि १७ सम्म भृकुटीमण्डप काठमाडौँमा महाधिवेशन गर्दै छ। एकता महाधिवेशन दिइएको महाधिवेशनका लागि राप्रपाले स्थानीय स्तरमा अधिवेशनहरू सम्पन्न गरिसकेको छ।

यसअघि मंसिर ११ देखि १३ गते सम्म आयोजना गर्ने भनिएको महाधिवेशन नेकपा एमालेको महाधिवेशनसँग जुधेपछि सारिएको थियो।

राप्रपाले महाधिवेशन प्रतिनिधि छनोटका लागि मंसिर ६ देखि ८ सम्म स्थानीय स्तरमा निर्वाचन गरेको थियो।

त्यस्तै, महाधिवेशनमा ४५ सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि तथा प्रर्यवेक्षकहरु सहभागी हुने प्रचार प्रसार संयोजक मोहन श्रेष्ठले जानकारी दिए।

‘राप्रपाका एक लाख ४० हजार सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि छनोटको काम सकिएको छ। हामीले महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली तयार गर्दै छौँ,’ उनले भने, ‘त्यसका अलावा स्थानीय स्तरका पालिका अध्यक्ष, जिल्ला अध्यक्ष तथा सातै प्रदेशका प्रमुख पनि महाधिवेशनमा पदेन प्रतिनिधि हुन्छन्।’

महाधिवेशनका तयारी अन्तिम अवस्थामा पुग्दै गर्दा राप्रपामा नेतृत्वका लागि ध्रुवीकरणसमेत सुरु भइसकेको छ। राप्रपाको आगामी अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन्।

अर्कोतर्फ प्रकाशचन्द्र लोहनीले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने तयारीमा जुटेका छन्।

अहिलेका अर्का अध्यक्ष पशुपति शमशेर जबराले भने यसपटक अध्यक्षमा उम्मेदवारी नदिने आफू निकटका नेता कार्यकर्ताहरूलाई जानकारी गराइसकेका छन्। यद्यपि, उनको समर्थन कसलाई भन्ने खुलाइसकेका छैनन्।

यता निर्वाचन आयोगमा दर्ता भएको तर, संसदमा प्रतिनिधित्व नरहेको नेकपा (माले) ले पनि आफ्नो महाधिवेशन सम्पन्न गरिसकेको छ। मालेले कात्तिकको अन्तिम साता चितवनमा राष्ट्रिय महाधिवेशन सम्पन्न गरी पुनः महासचिवमा सिपी मैनालीलाई नै निर्वाचित गरिसकेको छ।

नेपालको संविधान र राजनीतिक दलको विधानमा व्यवस्था भए बमोजिम संघीय र प्रदेश तहका पदाधिकारीको पाँच वर्षम निर्वाचन हुनुपर्ने प्रावधान बमोजिम राजनीतिक दलहरूलाई निर्वाचन आयोगमा आफ्नो दल अद्यावधिक गराउनका लागि महाधिवेशन गर्नुपर्ने बाध्यता छ।

साथै, राजनीतिक दल सम्बन्धी ऐन, नियमावली बमोजिम स्थानीय तहमा दलको निर्वाचन हुनुपर्ने व्यवस्था रहेको छ। सो अनुरूप दलहरूले निर्वाचन आयोगलाई अद्यावधिक विवरण बुझाउनुपर्ने छ। आवधिक निर्वाचन नभए दल खारेजीसम्म जान सक्छ। त्यसैले पनि दलहरूलाई महाधिवेशनको चटारो चलिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell