PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विन्दास मुडमा ओली समूहका नेता : पद पक्का भएपछि ताराको वर्णन गरेर 'रिल्याक्स मुड'मा ईश्वर पोखरेल



प्रकाश भण्डारी

विन्दास मुडमा ओली समूहका नेता : पद पक्का भएपछि ताराको वर्णन गरेर 'रिल्याक्स मुड'मा ईश्वर पोखरेल

सौराहा: नेकपा (एमाले) का नेताहरूको आइतबारको दैनिकी सकसपूर्ण रह्यो। दिनभरको रस्साकस्सी र अबेर रातिको बन्दसत्रले पनि चैन मिलेन। पद बाँडफाँडको किचलो विधान महाधिवेशनदेखि नै सुरु भएको थियो। टुङ्ग्याउन भने आइतबार मध्यरातसम्म लाग्यो। १९ सदस्यीय पदाधिकारीसहित ३०१ जनाको केन्द्रीय कमिटी घोषणा गरेपछि भने नेताहरू फुर्सदिला भएका छन्।

सोमबार बिहान निर्वाचन आयोगमा मनोनयन दर्ता गर्नबाहेक धेरैजसो नेताहरू महाधिवेशनको हल भएको होटल सेभेन स्टारमा देखिएनन्। ओली आफैँ पनि सोमबार बिहान मनोनयन दर्ता गर्न पुगेका थिए। उनी मंसिर ९ गतेदेखि पार्क सफारी रिसोर्टमा बसिरहेका छन्। उनीसँगै उनी निकट नेताहरू पनि बस्छन् पार्क सफारीमा।

ओली समूहलाई राहत

जसरी शनिबार र आइतबार नेताहरू व्यस्त देखिन्थे सोमबार भने उनीहरूलाई राहत महसुस भइरहेको थियो। मनोनयन र निर्वाचनको दिन भए पनि विपक्षी उम्मेद्वार कमजोर भएकाले चिन्ता छैन ओली समूहलाई। अध्यक्षका उम्मेद्वार भीम रावलको चुनौतीलाई ओलीले सामान्य रूपमा लिइरहेका छन्। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध भइसकेका छन् भने महासचिवमा शंकर पोखरेललाई कसैले चुनौती दिन सकेन। ओलीले प्रस्ताव गरेका उपाध्यक्षहरूलाई घनश्याम भुसालको चुनौती छ। ७ जना सचिवलाई टंक कार्की र भीम आचार्यले सर्वसम्मत हुनबाट रोके।

निर्वाचन हुने भए पनि जित निश्चित जस्तै भएपछि ओली पक्षका नेताहरू भोट माग्न भन्दा ३ दिन देखिको धपेडीलाई रिलिफ गर्नतिर लागेका छन्। ओली पक्षका नेताहरू मात्र हैन प्रतिनिधि पनि विन्दास मुडमा होटलका रेस्टुँराहरुमा देखिएका छन्।

ताराको वर्णन गर्दै ईश्वर पोखरेल

सोमबार साँझ ओली बसिरहेको पार्क सफारी रिसोर्ट अरू दिनको तुलनामा शान्त थियो। ओली यही भए पनि सुरक्षाकर्मीबाहेक खासै कार्यकर्ताको उपस्थिति थिएन। न त मिडियाले नै पछ्याएको देखिन्थ्यो यो ठाउँ। पहिलो तलाको कोठा नम्बर २२२ मा बसिरहेका ओलीलाई सुरक्षाकर्मीको पहरा भने कडा देखिन्थ्यो। साँझ पर्दै गर्दा पछाडिपट्टिको खाली भाग राप्ती किनार पनि सुनसान नै देखिन्थ्यो।

घाम डुबेर अँध्यारोले छोप्दै गर्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भने केही कार्यकर्ताका साथ गफिइरहेका थिए। आकाशमा तारा देखिन थालेका थिए। पोखरेल कार्यकर्तासँग राजनीतिकभन्दा पनि ताजा दृश्यको चर्चा गरिरहेका सुनिन्थे। कार्यकर्तालाई उनी चितवन राष्ट्रिय निकुञ्जतर्फ देखाएर भन्दै थिए,'यो तारा पहिलेदेखि नै यसरी चम्किन्थ्यो। आखिर जे भए पनि यस्ता तारा कति वटा होलान्। यो यताबाट राम्रोसँग देखिन्छ।'

त्यसपछि उनी त्यहाँ बसेनन्। पार्क सफारीको आफू बसिरहेको कोठातिर लागे।

कता छन् अरू नेता?

ओली बसेको ठाउँमा बस्ने अर्का नेता हुन् -सुवास नेम्वाङ। उनी पनि सोमबार एक पटकबाहेक सेभेन स्टारमा कार्यकर्तामाझ देखिएनन्। उनी १०औँ महाधिवेशनमा ओलीले प्रस्तुत गरेको उपाध्यक्ष हुन्। उनलाई घनश्याम भुसालको चुनौती छ। वरिष्ठ उपाध्यक्षका लागि अड्डी कसेका नेम्वाङले सहमति भएकाले आफू पछि हटेको प्रतिक्रिया दिएका थिए। यसअघि भने उनले आफूमाथि ओली बाहेकका नेतालाई नमान्ने अडान राखेका थिए।

रावल र भुसाल मत माग्न व्यस्त

चुनावको दिनमा पनि ओली समूहका नेता मस्त छन्। तर, अध्यक्ष पदका उम्मेद्वार भीम रावल र उपाध्यक्ष पदका उम्मेद्वार घनश्याम भुसाल भने सोमबार पनि व्यस्त देखिए। बिहानैदेखि उनीहरू कार्यकर्तामाझ गफगाफ गरिरहेका थिए। महाधिवेशनका प्रतिनिधिलाई भेटेर आफूलाई मत दिन अनुरोध गरिरहेका देखिए रावल-भुसाल। त्यसो त उनीहरूलाई प्रतिनिधिहरूले त्यति भाउ दिएको देखिँदैनथ्यो। तैपनि उनीहरूको जोड भने आफूलाई जिताउनैमा छ। उनीहरूले ओली निकट प्रतिनिधिको भोट नपाउने पक्का भए पनि सुझाव भने पाइरहेका छन्। 'कमरेड अझै पनि समय छ फिर्ता लिनु। अहिलेको आवश्यकता केपी ओली हो। तपाइको बिचारसँग हामी सहमत छौँ। तर तपाइको उम्मेद्वारी फिर्ता लिएर एकताको सन्देश दिनुपर्‍यो,' रावलले प्रतिनिधिले सुनाएको सुझाव सुनाए।

तर, रावलले भने मान्ने पक्षमा छैनन्। किनभने उनले यसअघि नै भनिसकेका छन्, एक मत पाए पनि अध्यक्षमा लड्छु। उम्मेद्वारी फिर्ता लिन्न। शनिबार ओली र ओलीइतर नेताको दैनिकीमा आकाश पातलको फरक थियो। किनभने पहिले नै पद पक्का गरेका ओली निकट नेताहरूलाई फिक्री हुने कुरै भएन भने ओलीसँग जोरी खोजेका नेतालाई चुनावमा भिड्नु सहज छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell