चितवनः उम्मेद्वारबीच सहमतिको प्रयास जारी रहँदा नेकपा (एमाले) को जारी निर्वाचन प्रक्रियामा अन्तिम नामावली सार्वजनिक गर्न ढिलाइ भएको छ। निर्वाचन आयोग प्रमुख डा. विजय सुब्बाका अनुसार अहिलेसम्मको अवस्थामा दश क्लष्टरमा चुनाव गराउनुपर्ने अवस्था छ। त्यसमा पनि सहमतिको प्रयास भइरहेको सुब्बाले बताए। पदाधिकारी बाहेकका अन्यमा सहमतिको प्रयास जारी छ।
हालसम्म अध्यक्ष, उपाध्यक्ष, सचिवमा निर्वाचित निश्चित छ।
केन्द्रीय सदस्यको खुला र महिलामा सहमति भइसकेको छ। भूगोलतर्फको केन्द्रीय सदस्यमा भने चुनाव हुने अवस्था छ।
भूगोलतर्फ प्रदेश १ खुला र महिला दुबैतर्फ निर्वाचन हुने अवस्था छ। यस्तै, सुदूरपश्चिममा महिला सदस्यका लागि निर्वाचन हुने अवस्था छ। दलित, थारु, पिछडिएको क्षेत्रतर्फको खुला केन्द्रीय सदस्यमा पनि निर्वाचनको अवस्था कायमै छ।
आइतबार मध्यरातमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय सदस्य प्रस्ताव गरेका थिए। पदाधिकारीमा सहमति नहुने निश्चित भए पनि केन्द्रीय सदस्यमा भने हलले अनुमोदन गरेको थियो।
तर, असन्तुष्टहरुले सोमबारको निर्वाचन प्रक्रिया प्रारम्भ भएपछि मनोनयन गरेका हुन्। ३०१ सदस्यीय केन्द्रीय समितिमा ३१३ जनाको उम्मेद्वारी हाल कायम रहेको निर्वाचन आयोगले जनाएको छ। यस्तै १९ पदाधिकारीका लागि २३ जनाको उम्मेद्वारी दर्ता छ। जसमा अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन हुने निश्चित छ।
