PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

‘सचिव भनेर भोट मागियो अब केन्द्रीय सदस्य भनेर फेरि के माग्नु?’



पहिलोपोस्ट

‘सचिव भनेर भोट मागियो अब केन्द्रीय सदस्य भनेर फेरि के माग्नु?’

चितवन : अध्यक्ष केपी शर्मा ओलीको सर्वसम्मतिको सुत्र असफल भएपछि आज नेकपा (एमाले) को नेतृत्वसहित विभिन्न पदमा चुनाव भइरहेको छ। अध्यक्षमा ओली भीम रावलसँग प्रस्पिर्धामा छन्। यस्तै, उपाध्यक्ष, सचिव लगायतका पदाधिकारीमा पनि चुनाव भइरहेको छ।

यस्तै, खुलातर्फ ८४ केन्द्रीय सदस्य र भूगोलबाट प्रदेश १ तथा सुदूरपश्चिमलगायतका क्लष्टरमा चुनाव भइरहेको छ। समावेशीतर्फ दलित, थारु क्लष्टरमा पनि चुनाव भइरहेको छ।

ओली पक्षले रावल पक्षका र सहमति विपरीत उठेका नेताहरुलाई भोट नलिन सूची नै बाँडिसकेको छ। यसकारण ओली निकट रहेको पदाधिकारीहरु जितमा तुलनात्मक रुपमा ढुक्क छन्। तर, खुला केन्द्रीय सदस्यमा यसै भन्न मिल्ने अवस्था छैन।

अध्यक्ष ओलीसँग निकै निकट रहेका भनिएका नेताहरु सुवास नेम्वाङ, महेश बस्नेत लगायतका नेताहरु मंगलबार बिहान पार्क सफारी रिसार्टमा थिए। जहाँ अध्यक्ष ओली बसिरहेका छन्। मतदानपछि ओली पुनः रिसोर्टमै फर्किएका छन्।

आपसी सम्वादमा बस्नेतले आफू भोट माग्नभन्दा अन्तिम समयमा मतदानमा जाने बताइरहेका थिए। यसअघि सचिवका लागि मत मागिसकेको अवस्थामा पुनः केन्द्रीय सदस्यमा कसरी माग्ने भनेर नेम्वाङसँग भनिरहेका थिए।

बस्नेत नेम्वाङसँग भनिरहेका थिए, ‘सचिव भनेर भोट मागियो अब केन्द्रीय सदस्य भनेर फेरि के माग्नु? अन्तिममा भोट हाल्न जाने हो।’

उता नेम्वाङ पनि काठमाडौँ जाने हतारोबारे महेशलाई जानकारी गराइरहेका थिए। नेम्वाङ अपराह्नपछि काठमाडौँ जाने जानकारी बस्नेतलाई दिइरहेका थिए।

नेम्वाङ पनि उपाध्यक्षका उम्मेद्वार हुन्। ६ पदका लागि उनीसहित सात जनाबीच प्रतिस्पर्धा भइरहेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell