PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

को हुन ट्‍वीटरका नयाँ सीईओ ?



पहिलोपोस्ट

को हुन ट्‍वीटरका नयाँ सीईओ ?
Photo : The Verge

ट्‍वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले राजीनामा दिएका छन्। डोर्सेको राजीनामासँगै ट्वीटरले भारतीय मूलका पराग अग्रवाललाई कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको छ। उनी ट्वीटरको प्रमुख प्रविधि अधिकृत (सीटीओ) को भूमिकामा थिए।

गत वर्षदेखि नै ट्‍वीटरको संचालक समिति डोर्सेलाई बिदाइ गर्ने तयारीमा जुटेको थियो। ट्‍वीटरले आफ्ना प्रतिद्वन्दी सामाजिक सञ्जाल फेसबुक र टिकटकसँग प्रतिस्पर्धा गर्न विगत केही वर्षदेखि प्रडक्ट इनोभेसनमा ठूलो लगानी र मेहेनत गर्दै आएको छ।

ट्वीटरले सन् २०२३ सम्ममा आफ्नो वार्षिक आम्दानी दोब्बर बनाउने लक्ष्य राखेको छ। डोर्सेले १६ वर्षको प्रमुख कार्यकारी भूमिकाबाट राजीनामा दिनुपर्ने कारण र किन अग्रवाल उक्त भूमिकामा परिपक्व छन् भन्ने बारे ट्वीटमार्फत् जानकारी दिएका छन्।

‘मैले ट्वीटर छोड्ने निर्णय गरेको छु। किनभने मलाई विश्वास छ अब यो कम्पनी संस्थापकबेगर अघि बढ्न सक्ने भएको छ। परागले १० वर्षमा जे गरे त्यो रुपान्तरणकारी छ। उनको खुबी र मनलाई गहिरोसँग बुझेको छु। अब नेतृत्व गर्ने समय आएको छ,’ डोर्सेले भनेका छन्।

अग्रवाल सन् २०११ मा ट्वीटर प्रवेश गरेका हुन्। सन् २०१७ देखि अग्रवाल प्रमुख प्रविधि अधिकृत छन्। अग्रवालले स्ट्यान्डफोर्ड विश्वविद्यालयबाट पीएचडी गरेका छन्। उनले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मुम्बईबाट कम्प्युटर साइन्स र इन्जिनियरिङमा स्नातक गरेका छन्।

डोर्सेको बिदाइपछि ब्रेट टेलरलाई ट्वीटरले आफ्नो बोर्डको स्वतन्त्र अध्यक्षमा नियुक्त गरेको छ। उनी सन् २०१६ देखि ट्वीटरको बोर्ड सदस्य छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell