PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

पार्टी नेताहरुलाई देउवाको सुझावः ‘अरुको पार्टीको चिन्ता नगर्नुस्, बुढापाकालाई अर्ती नदिनुस् ’



पहिलोपोस्ट

पार्टी नेताहरुलाई देउवाको सुझावः ‘अरुको पार्टीको चिन्ता नगर्नुस्, बुढापाकालाई अर्ती नदिनुस् ’
फोटोः रासस

काठमाडौँः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अरुको पार्टीको चिन्ता नगर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन्। सुवर्ण शमशेर पुस्तक विमोचन एवं नवनिर्वाचित जिल्ला सभापति तथा क्षेत्रीय सभापति सम्मान कार्यक्रममा प्रधानमन्त्री देउवाले अरुको पार्टीको चिन्ता नगर्न आग्रह गरेका हुन्।

उनले विगतका दिनमा पार्टीभित्रै अन्तर्घात भएको स्मरण गर्दै अब एकतावद्ध भएर पार्टीलाई अघि बढ्नुपर्ने बताए। प्रधानमन्त्री देउवाले अरुको पार्टीमा आँखा लाउन छाडेर आफ्नो पार्टीलाई अरुको भन्दा ठूलो पार्टी बनाउन लाग्नुपर्ने बताए।

देउवाले भने, ‘पार्टीलाई भोलिका दिनमा अगाडि बढाउनु छ। हामी सबै एक भएर जानुछ, एकजुट हुनुछ। तपाईंहरुलाई थाहै छ, सत्य कुरा लुक्दैन। पार्टीभित्रै अन्तर्घात हुनेदेखि लिएर अनेक भए। आगामी दिनमा यो पार्टीलाई एकतावद्ध गरेर राम्रोसँग जाने पार्टीको निर्णयलाई मानेर अघि बढ्नुपर्छ। हाम्रो पार्टी बनाउनेतिर लागौँ, अरुको पार्टी कस्तो छ? आँखा धेरै लगाउनु पर्दैन, आफ्नो पार्टी बनाउनेतिर लागौँ। अरुको पार्टीको चिन्ता उनीहरुलाई गर्न दिनुस् न किन हामी गर्ने? आफ्नो पार्टीको चिन्ता गरौँ, आफ्नो पार्टी बनाउँ। उहाँहरुको भन्दा ठूलो पार्टी बनाउँ।’

देउवाले चाँडो गरिएको निर्णयले पछुताउनु पर्ने भन्दै कुनै पनि निर्णय गर्दा सोच विचार गर्नुपर्ने बताए। उनले नेतृत्व गर्ने अधिकार सबैको आउने भन्दै विश्वप्रकाश शर्मा र प्रकासशरण महतलाई नेतृत्व गर्न नहतारिन आग्रह समेत गरे। प्रधानमन्त्री देउवाले बुढापाकाहरुलाई अर्ती दिनुभन्दा बुढापाकाबाट अर्ती लिन सुझाए।

देउवाले भने, ‘अहिले हाम्रो विश्वप्रकाशले अति महत्वपूर्ण कुरा उठाउनु भएको छ। उहाँले आफ्नो बेलामा गर्नुभयो भने उहाँलाई धन्यवाद दिनुहोस् तपाईंहरुले। उहाँको समयमा उहाँले कति गर्नुहुन्छ। अरुलाई अर्ति दिन सजिलो छ, आफूले गर्नु गाह्रो छ। उहाँलाई आफ्नो बेलामा गरेर देखाउनु होला भनेर शुभकामना दिन चाहन्छु। अहिले नहत्तारिनुस्, अहिले हत्तारिएर के गर्नुहुन्छ पछि? समय आइहाल्छ नि। त्यस्तै प्रकाश महतजीले पनि भन्नुभयो, निर्णय नै गर्न सक्दैन निर्णय ढिलोढिलो गर्छ भनेर। निर्णय भन्दैमा जथाभावी गर्नु, जे पायो त्यही त गर्नु भएन नि। निर्णय भनेको सोचविचारले गर्नुपर्छ। निर्णय गरेर पछुताउनुभन्दा ढिलो निर्णय गर्नु बेश हुन्छ। सोच विचार गरेर गर्नुपर्छ। त्यसकारण तपाईंहरुलाई भोलि निर्णय गर् निर्णय गर् भनेर फसाउलान् नि। निर्णय गर्ने इच्छा राख्नु भएका नेता हुनुहुन्छ, को हुन्छ त थाहा छैन, नेता हुने इच्छा चाहसँ छ, भविष्यमा सफल हुनुहुनेछ भन्ने शुभकामना दिन चाहन्छु। त्यसैले अर्ती भनेको बुढापाकाहरुबाट सिक्नुपर्छ क्या, त्यसकारण बुढापाकालाई अर्ती दिने होइन, अर्ती लिने गर्नुहोस्। त्यसकारण हाम्रो अर्ति सुनेर काम गर्नुहोला। हतार नगर्नुस्, गर्नुभयो भने बिग्रिन्छ। बिपीले हतार गर्नुभएन, कृष्णजीले हतार गर्नुभएन पालो आउँछ। तपाईंको पालो आइहाल्छ हतार नगर्नुस्।’

प्रधानमन्त्री देउवाले राजनेता सुवर्ण समशेर जबराले पार्टीको लागि र प्रजातन्त्रको लागि दिएको योगदानलाई बिर्सन नसक्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell