काठमाडौँ: सर्वोच्च अदालतमा आजदेखि गोला प्रणालीबाट पेसी तोकिँदैछ। मंसिर ८ गतेको न्यायाधीशहरुको बैठकले आजदेखि गोला प्रणाली लागूको निर्णय गरेको थियो। उक्त व्यवस्था लागू गर्नेगरि गरिएको सर्वोच्च अदालत नियमावली संशोधन कार्यान्वयनको निर्णय सोमवार नै राजपत्रमा प्रकाशित भइसकेको छ।
प्रधानन्यायाधीशको अधिकार कटौती गरेर पहिलोपटक गोला प्रणालीबाट पेसी ताकिने लागिएको थियो। पेसी प्रधानन्यायाधीशको विशेषाधिकार भए पनि सर्वोच्च न्यायालय गठनको ७० वर्षपछि पेसी व्यवस्थापनमा नयाँ तरिका अपनाइन लागिएको हो।
न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको सुधारको सुझाव अनुसार गोला लागू गरिएको हो। पछिल्लो महिना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग असन्तुष्ट रहेको न्यायाधीशले गोला प्रणालीमा जान जोड दिएका थिए।
गोला प्रणाली लागूसँगै बुधबारदेखि सर्वोच्चमा सबै प्रकारका मुद्दाको सुनुवाइ पनि हुनेछ। एक महिनाभन्दा लामो न्यायाधीशको हड्ताल समेत सकिँदैछ।
कसरी तोकिन्छ पेसी
मुद्दा महाशाखाको विवरण अनुसार अदालतमा अब प्रत्येक दिन सबै न्यायाधीश र मुख्य रजिस्टारको उपस्थितिमा बिहान १० बजे गोलाबाट पेसी तोकिनेछ। मुद्दा व्यवस्थापनको गोपनीयताको मुख्य दायित्व मुख्य रजिस्टारमा हुनेछ।
साप्ताहिक तथा दैनिक पेसी सूची र भैपरी सूची समेतका आधारमा दैनिक रुपमा बृहत् पूर्ण, पूर्ण, एकल र संयुक्त इजलास गठन हुनेछ। गोला प्रयोजनका लागि समान रुप, रुङको गोटी प्रयोग हुनेछ।
यसरी तानिएको गोटीको अभिलेख कम्युटरमा पनि राखिनेछ।
जस्तोः सर्वोच्चमा १८ न्यायाधीश भएमा गोलाका लागि १ देखि १८ अंक अंकित गोटी थैलीमा राखिनेछ। यसरी गोटी तान्दा वरिष्ठताका आधारमा न्यायाधीशले तान्ने व्यवस्था मिलाइने छ।
बृहत् पूर्ण इजलास गठन हुनुपर्ने भएमा जति न्यायाधीशको गठन हुने हो सोही आधारमा वरिष्ठताका आधारमा क्रमशः एकदेखि न्यायाधीश संख्यासम्म गोटी तानिने छ। एकमात्र पूर्ण इजलास भएमा एकदेखि तीनसम्मका गोटी तान्न लगाइने छ। दुई पूर्ण इजलास रहने भएमा क्रमशः ४ देखि ६ सम्मका गोटी राखिने छ। र, दुई इजलास गठन हुनेछन्।
बृहत् पूर्ण इजलासपछि पूर्ण इजलास पनि गठन गर्नुपर्ने दिनमा बृहत् पूर्ण गठनपछिका पहिला तीन गोटी ६, ७ र ८ को गोटी तान्ने न्यायाधीश पूर्ण इजलासमा रहनेछन्। बृहत् पूर्णका लागि १ देखि ५ सम्मका गोटी कायम हुनेछन्।
पूर्ण इजलास नभएको दिनमा भने एकल इजलास गठन भएपछि मात्र संयुक्त इजलास गठन हुनेछ।
गोला प्रणालीबाट पेसी तोकिँदा पनि हेर्दाहेर्दैका मुद्दा र निर्णय सुनाउने मिति तोकिएको दिनमा तीन न्यायाधीशलाई बाहेक गरेर मात्र गोला तान्न लगाइनेछ। हेर्दाहेर्दैको इजलास पेसी तोकिएको दिनमा स्वतः गठन भएको मानिने छ।
