PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

के पुसदेखि सहज होला भारतसँगको हवाई उडान?



वसन्तराज उप्रेती

के पुसदेखि सहज होला भारतसँगको हवाई उडान?

काठमाडौं : भारत सरकारले एयर बबल सम्झौता खारेजी गरेसँगै पुसबाट नेपाल र भारतका निजी वायुसेवा कम्पनीले नियमित उडान सुरु गर्न पाउने भएका छन्।

भारतको नागरिक उड्डयन प्राधिकरणले केही दिन अघि एयर बबल खारेज गरेको थियो। कोभिड-१९का कारण भारतले दुईतर्फी उडानमै बन्देज लगाएपछि एक वर्ष यता एयरबबल सम्झौता अनुसार दुई मुलुकका ध्वजावाहकले काठमाडौं-नयाँदिल्ली उडान गर्दै आएका थिए।

निजी वायुसेवा कम्पनीले नियमित उडान सुरु गर्न आन्तरिक गृहकार्य गरिरहेका छन्। काठमाडौं-दिल्ली साताको सातवटा उडान गर्दै आएको निगमले पुसबाट साताको १४ वटा उडान गर्ने जनाएको छ। निगमले काठमाडौं-दिल्ली तर्फ साताको १४ वटा र बैंगलोर र मुम्बई साताको दुई-दुईवटा गरी कुल १८ वटा उडान गर्ने जनाएको छ।

हाल साताको सातवटा उडान गर्दै आएको एयर इण्डियाले पनि पुसबाट काठमाडौं-दिल्ली साताको १४ वटा र काठमाडौं-कोलकाता साताको चार गरी  कुल १८ वटा उडान गर्ने योजना बनाएको छ।

'भारत सरकारले नोभेम्बर १५बाट एयरबबल सम्झौता खारेज गरेको छ। अब यो गन्तब्यमा निजी वायुसेवा कम्पनीले पनि उडान गर्न पाउँछन्,' एयर इण्डियाका एक कर्मचारीले भने।

अलमलमा निजी एयरलाइन्स

हालै अफ्रिकाबाट फैलिन सुरु भएको ओमिक्रोन भाइरसका कारण नेपाल-भारत उडान गर्दै आएका निजी वायुसेवा कम्पनी भने द्विविधामा छन्।

'भारतीय उड्डयन प्राधिकरणबाट अप्रुभल त आएको छ। यससँगै ‌ओमिक्रोन संक्रमणको चर्चा चलिरहेको छ। दुई साताभित्र टुंगो लाग्ला,' उनले भने, 'एयर बबल सम्झौताको समयावधि अझै बढ्न पनि सक्छ।'

कोभिड अघि काठमाडौं-दिल्ली उडान नेपाल वायुसेवा निगमले गर्दै आएको थियो। बुद्धले बनारस उडान गर्दै आएको थियो। भारतको तर्फबाट एयर इण्डिया, भिस्तारा, इण्डिगो लगायत कम्पनीले नियमित उडान गर्दै आएका थिए। कोभिड अघि स्पाइस जेटले पनि भारत-नपाल उडानका लागि प्रकृया सुरु गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell