काठमाडौं : यात्रु सहजतालाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा हुँदै आएको सुरक्षा चेकिङमा सबै यात्रुले जुत्ता खोल्न नपर्ने भएको छ।
आन्तरिक विमानस्थलहुँदै उपत्यका बाहिर सुन तस्करी बढेपछि यात्रुको जुत्ता खोलेर चेकिङ हुँदै आएको थियो। जसकारण विमानस्थलमा भिडभाड बढेको र फ्लाइट समेत डिले हुन थालेपछि यो प्रक्रिया हटाउन लागिएको हो।
यात्रुको सहजताका लागि विमानस्थल कार्यालयले नेपाल प्रहरीसँग छलफल गरिसकेको प्रवक्ता प्रेमनाथ ठाकुरले बताए।
'वाक थ्रु मेटल डिटेक्टर भएको ठाउँको उचाइ बढाउने कुरा भएको छ। हामीले एक चरणको डेमो गरिसकेका छौं। यो हुने वित्तिकै यात्रुलाई जुत्ता खोल्न अनिवार्य गराइने छैन,' प्रवक्ता ठाकुरले भने,'तर सेक्युरिटी नर्म्स पालना गरिनेछ। सेक्युरिटीलाई थ्रेट नहुने गरी चेकिङ गरिनेछ।'
पछिल्लोपटक फ्लाइट डिले भएको भन्दै यात्रुहरुले गुनासो गर्दै आएका छन्। आन्तरिकतर्फ दैनिक ११ हजारभन्दा बढी यात्रुले उडान सेवा लिँदै आएका छन्। तर बुद्ध, यती, श्री, सौर्य, गुण, तारा, सीता, समिट लगायत वायुसेवा कम्पनीले आन्तरिकतर्फ विभिन्न गन्तव्यमा उडान सेवा दिँदै आएका छन्।
