PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

केपी ओली नेतृत्वको नयाँ टिममा लुम्बिनी प्रदेशको हालीमुहाली, १९ पदाधिकारीमध्ये प्रदेशका ७ जना शक्तिको केन्द्रमा



पहिलोपोस्ट

केपी ओली नेतृत्वको नयाँ टिममा लुम्बिनी प्रदेशको हालीमुहाली, १९ पदाधिकारीमध्ये प्रदेशका ७ जना शक्तिको केन्द्रमा

बुटवल : नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनबाट पुनः केपी शर्मा ओलीकै नेतृत्वमा बनेको नयाँ टिममा लुम्बिनी प्रदेशबाट मात्रै नेतृत्व तहमा ७ जना नेता पुगेका छन्।

महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीमध्ये लुम्बिनीबाट २ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र ३ सचिव गरी ७ जना निर्वाचित भएका हुन्। पदाधिकारीमा निर्वाचितहरू मध्ये दाङ, रुपन्देही र गुल्मीका २-२ जना र अर्घाखाँचीबाट एकजना नेता परेका छन् भने अरु ८ जिल्लाका करिब चार दर्जन नेताले केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

महासचिवका दुई आकांक्षी शंकर पोखरेल (दाङ) र विष्णु पौडेल (रुपन्देही) मध्ये लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री पोखरेल महासचिवमा निर्विरोध निर्वाचित भए। ओलीका विश्वासपात्र पोखरेलले पार्टीको प्रभावशाली पद मानिने महासचिव पदमा बाजी मारेका हुन्।

यसअघि नै एमालेको प्रथम विधान महाधिवेशनमा अध्यक्षको राजनीतिक प्रतिवेदन पढ्न दिएर ओलीले शंकरलाई उत्तराधिकारीका रूपमा अघि सारेको चर्चा पार्टीभित्र चलेको थियो। नवौँ महाधिवेशनमा उपमहासचिवमा पराजित भएपनि पोखरेल पार्टी राजनीतिको केन्द्रमा रहँदै आएका छन्।

त्यस्तै, महासचिवका अर्का दावेदार विष्णु पौडेल उपाध्यक्ष बनेका छन्। उनी पूर्व अर्थमन्त्री तथा रूपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद समेत हुन।

माओवादी केन्द्र र एमाले मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको महासचिव रहेर काम गरेका नेता पौडेल एमालेको नवौँ महाधिवेशनमा उपमहासचिव पदमा निर्वाचित भएका थिए। अध्यक्ष ओलीसँग पौडेलको निकट सम्बन्ध रहेको छ।

त्यस्तै, उपाध्यक्षमै दाङका युवराज ज्ञवाली पनि निर्वाचित भएका छन्। एमालेबाट पटक–पटक मन्त्री बनेका गुल्मीका प्रदीप कुमार ज्ञवाली उपमहासचिव बनेका छन्। नवौँ महाधिवेशनमा ज्ञवाली सचिवमा निर्वाचित भएका थिए।

गुल्मीकै अर्का नेता गोकर्ण विष्ट पनि सचिवमा निर्वाचित भएका छन्। विष्ट सर्वाधिक मत ल्याएर निर्वाचित भएका हुन्। एमालेको नवौँ महाधिवेशनमा पनि उनी सचिवमै विजयी भएका थिए। गुल्मीमा मात्र नभई लुम्बिनी प्रदेशमै ज्ञवाली र विष्ट लोकप्रिय नेता मानिन्छन् ।

त्यस्तै, नेकपा विभाजन भएपनि माओवादी छोडेर एमालेमै बसेका अर्घाखाँचीका टोपबहादुर रायमाझी सचिवमै निर्वाचित भएका छन्। उनको अर्घाखाँचीमा जनआधार राम्रो छ। रूपन्देहीका अर्का नेता छविलाल विश्वकर्मा पनि सचिवमा निर्वाचित भएका छन्। लामो समयदेखि ओलीलाई साथ दिँदै आएका विश्वकर्मा यस अगाडि एमालेको पोलिटव्यूरो सदस्य थिए।

ओलीले रूपन्देहीका नेत्र पन्थीलाई अनुशासन आयोगको उपाध्यक्षमा चयन गरेका छन्। त्यस्तै केन्द्रीय लेखा आयोगको उपाध्यक्षमा कपिलवस्तुका विष्णु पन्थी चयन भएका छन्।

महासचिवमा बाजी मारेका पोखरेलकी श्रीमती सुजिता शाक्य र बहिनी मेनुका पोखरेल केन्द्रीय सदस्य बनेका छन्।

यस्तै, लुम्बिनीबाट केन्द्रीय सदस्यमा पूर्वमन्त्री वैजनाथ चौधरी, दिनेश पन्थी, दधिराम न्यौपाने, गिरीधारीलाल न्यौपाने, बलराम अधिकारी, विमला घिमिरे, शिवराज सुवेदी, गुमादेवी आचार्य, सावित्रा अर्याल, दलबहादुर राना, कोमल ओली, नरुलाल चौधरी, घनश्याम पाण्डेलगायतका चार दर्जनभन्दा बढी नेता निर्वाचित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell