अमेरिकाको मिसिगनमा रहेको एक हाइ स्कुलमा १५ वर्षीय किशोरले सेमी अटोमेटिक पेस्तोल चलाउँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। केही दिन अघिमात्रै आफ्नो बाबुले किनेको पेस्तोल स्कुलमा चलाएका थिए ती किशोरले। प्रहरीले ती किशोरलाई नियन्यत्रणमा लिइसकेको छ।
ओकल्यान्ड काउन्टीका सेरिफ माइकल बुचार्डले घटनाबारे जानकारी दिँदै अक्सफोर्ड हाइस्कुलमा भएको घटना अक्षम्य र अकल्पनीय बताए।
गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिइसकेको र निशस्त्र पारिसकिएको उनले जानकारी दिए। गोली चलाउन थालेको एक मिनेटपछि नै उनलाई नियन्त्रणमा लिइएको बताइएको छ। गोली चलाउने किशोरका अभिभावकले उनलाई केही पनि सोध्न र बोल्न रोक लगाएका छन्। उनीहरुले वकिलमार्फत् प्रकृया अगाडि बढाएका छन्।
'घटनाबारे उसले मुख खोल्न चाहिरहेको छैन। उसको उद्देश्य के थियो थाह हुन सकेको छैन,' सेरिफले भने। गोली चलाउने किशोरको स्कुल अनुशासनमा कस्तो रेकर्ड छ त्यो अहिले थाहा नभइसकेको उनले बताए।
मारिनेमा १६ वर्षीय किशोर र १४ तथा १७ वर्षीया किशोरी रहेका छन्। घाइतेमध्ये सात जना विद्यार्थी नै रहेका छन्। टाउकामा गोली लागेका दुई जनाको अस्पतालमा उपचार भइरहेको छ। एक जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
घाइते शिक्षकलाई भने सामान्य उपचार पछि डिस्चार्ज गरिएको छ।
पेस्तोल चलाउने बालकले ९ एमएमको सेमी अटोमेटिक ह्यान्ड गन चलाएका हुन्। नोभेम्बर २६ मा उनका बुबाले उक्त पेस्तोल र १५ राउन्ड म्यागजिन किनेका थिए।
