PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

एमाले महाधिवेशनलाई प्रचण्डले भने 'झेली' : तीन वटा पार्टी फुटाएर कस्तो एकता महाधिवेशन?



पहिलोपोस्ट

एमाले महाधिवेशनलाई प्रचण्डले भने 'झेली' : तीन वटा पार्टी फुटाएर कस्तो एकता महाधिवेशन?

काठमाडौं  : नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा सम्पन्न नेकपा एमालेको १० औं महाधिवेशन 'झेली' भएको बताएका छन्।

आज राजधानीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले पार्टी फुटाएर बनेको एमालेले महाधिवेशनको नाम एकता महाधिवेशन राखेको भन्दै आलोचना गरेका हुन्।

'तपाईंहरु तीनवटा पार्टी मिलेर एउटा बन्नु भयो। महाधिवेशनको नाम एकता महाधिवेशन राख्नु भयो। जे हो त्यही गर्नुभयो, त्यसमा धन्यवाद। तर, पार्टीलाई तीन टुक्रा पारेर नाम चाहिँ एकता महाधिवेशन राखेको हामीले भर्खर देख्यौं।'

प्रचण्डले केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेलाई 'झेली' काम नगर्न पनि आह्वान गरे। 'पार्टी फुटाउने नाम चाहिँ एकता राख्ने ? त्‍यस्तो जाली झेली गर्नु भएन,' प्रचण्डले भने।

नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटनसत्रमा प्रचण्डलाई निमन्त्रणा दिइएपनि उनी कार्यव्यस्तता भन्दै नायारणगढ पुगेका थिएनन्।

सीपी मैनालीमाथि  पनि कटाक्ष

प्रचण्डले नेकपा मालेका महासचिव सीपी मैनाली राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष बन्ने लागेको भन्दै व्यङ्ग्य गरे।

भृकुटीमण्डपमा जारी राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रचण्डले मैनाली राप्रपाको 'राजावादी' लाइनमा आएको बताएका हुन्।

प्रचण्ड अघि उद्घाटनसत्रलाई सम्बोधन गरेका मैनालीले राजा महेन्द्रको प्रशंसा गरेका थिए। महेन्द्रको राष्ट्रभक्तिमाथि मैनालीको प्रशंसा सुनेपछि प्रचण्डले राप्रपाकै कार्यक्रममा उभिए पनि मैनाली जस्तो भाषा बोल्न नसक्ने बताएका हुन्।

'हाम्रो विचार मिल्दैन। म त्यस्तो भाषा बोल्न सक्दिन। हाम्रो सीपीजीले सजिलै बोल्नु भयो। राजतन्त्र सिद्याउनुपर्छ भनेर टाउको काट्ने सुरुवात उहाँले नै गर्नुभयो। अहिले महान राजा भनेर बोल्नुभयो। उहाँ राप्रपाको अध्‍यक्ष हुन तयारी गर्दै हुनुहुन्छ क्यारे। म चाहिँ त्यस्तो बोल्न सक्दिन,' प्रचण्डले भने।

आफू गणतन्त्रवादी र धर्मनिरपेक्षवादी भएको भन्दै प्रचण्डले राप्रपासँग वैचारिक  मतभेद रहेको बताए। तर, राष्ट्रवादको सवालमा भने सबैजना एकै कित्तामा उभिएको उनले बताए। तर, मैनालीले जस्तै भाषा बोल्न आफूले नसक्ने उनले बताएका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell