PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

राजनीतिक दलको 'ब्रान्डिङ' बारे माधव नेपालको प्रवचन : जसले ब्रान्ड बोकेनन् उनीहरु अस्तित्व बिहीन



पहिलोपोस्ट

राजनीतिक दलको 'ब्रान्डिङ' बारे माधव नेपालको प्रवचन : जसले ब्रान्ड बोकेनन् उनीहरु अस्तित्व बिहीन

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले इतिहासलाई हेर्ने दृष्टिकोण फरक भए पनि नेपालको विविधता नै एकताको सुत्र भएको बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले फरक विचारको सम्मानबाट नै देशको जग बनेको बताए। तर, सबै कुरामा बाह्य हस्तक्षेपको कुरा गर्न नहुने उनको मत थियो।

'परिवर्तनको मूल कारण आन्तरिक हुनेगर्छ। परिवर्तनको मूल कारक आन्तरिक नभइ बाह्य भनियो भने गम्भीर गल्ती हुनेछ। नेपालमा २०४६ साल होस् या २०६२/६३ को आन्दोलन। संविधान निर्माण प्रक्रिया होस् कि संघीयताको कुरा होस्। त्यसमा नेपालका राजनीतिक पार्टी र नेताको भूमिका नै महत्व छ। यो बिर्सियो र बाह्य कुरालाई मात्र हेरियो भने गलत निष्कर्षमा पुगिन्छ,' नेपालले भने।

उनले नेपाल दुई ठूला देशको बिचमा रहेको भन्दै यसको स्वतन्त्रता र भौगोलिक अखण्ड रक्षा गर्न र आन्तरिक मामिला मा हस्तक्षेप रोक्न सबै एक ठाउँमा उभिनुपर्ने बताए।

अध्यक्ष माधवकुमार नेपालले नेपालमा पार्टीहरुको तीन वटा ब्रान्ड रहेको समेत बताए।

'राष्ट्रियता ब्रान्ड, लोकतन्त्र तथा प्रजातन्त्रको ब्रान्ड र सामाजिक परिवर्तन/ न्याय र समानताको ब्रान्ड। यी तीनवटा जजसले बोके उनीहरुले आफ्नो अस्तित्व देखाउन सकेका छन्। जनतामा प्रभाव पार्न सकेका छन्,' नेपालले भने।

२००६ सालमा यही तीनवटा विचार बोकेर कम्युनिष्ट पार्टीको स्थापना भएको नेपालले बताए। कम्युनिष्ट पार्टीले राष्ट्रियता, लोकतन्त्र, प्रजातन्त्र, सामाजिक परिवर्तन, न्याय र समानताको झण्डा बोकेर अघि बढेको उनको मत छ। साथै उनले जवानदखि वृद्ध सबै कम्युनिष्ट हुनुपर्ने भन्दै सबैलाई राम्रो कम्युनिष्ट पार्टी छान्न आह्वान गरे।

'जति बुढो भयो त्यति कम्युनिष्ट हुनुपर्छ। उनीहरुलाई समानता चाहिन्छ। सम्मान चाहिन्छ। जीवन सहज ढंगले बिताउन चाहिन्छ। नव जवान त आउँछ नै बुढो नि आउँछन्। त्यसैले सही कम्युनिष्ट पार्टीमा जानुस्। मेरो आग्रह छ गलत पार्टीमा नजानुस्,' नेपालले भने।

उनले विश्वभर विचारको उदय र अस्त हुने भन्दै जनताको बहुदलीय जनवादको सिद्धान्त आफूहरुले अघि बढेको बताए।

समय अनुसार अघि बढ्न सक्नुपर्छ भन्दै उनले देशभक्तिको भावना नबोक्नेलाई जनताले अस्वीकार गर्ने उनले बताए। कम्युनिष्ट माथि अधिनायकवादीको आरोप लाग्ने गरेको भन्दै उनले आफूहरु बहुदलमा प्रतिस्पर्धा र विचारको श्रेष्ठता मा विश्वास गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell