- रमेश पराजुली -
बुटवल : नेपाल कम्युनिष्ट पार्टी मसाल भित्र फूट देखा परेको छ। लामो समयदेखि पार्टी भित्र अन्तरसंघार्ष सञ्चालन गरिरहेको अल्पमत पक्षले पार्टीको केन्द्रीय समन्वय समिति गठन गरेपछि पार्टी पुन: फूटको संघारमा गएको हो।
बुटवलमा पत्रकार सम्मेलन गरी एक पार्टी दुई कार्यनीति अनुसार सञ्चालत हुने गरी केन्द्रीय समन्वय समिति गठन गरिएको राष्ट्रिय जनमोर्चाका पूर्व महासचिव समेत रहेका सो समूहका संयोजक सन्तबहादुर नेपालीले बताए।
मोहनविक्रम सिंह नेतृत्वको मसालमा आठौँ महाधिवेशन पछि पार्टीको संस्थापन पक्षले ठूलो संख्यामा सो समूहका नेता कार्यकतालाई कारवाही गरेको थियो। दक्षिणपन्थी कार्यदिशा लिएको भन्दै भिन्न प्रस्ताव पेश गरेपछि कारवाही गरिएको थियो। पार्टी फुटाउने वा जुटाउनेमा मसाल नेतृत्व जिम्मेवारी रहेको उल्लेख गर्दै नेता नेपालीले समन्वय समितिले नेतृत्वलाई लामो समयसम्म पर्खेर बस्नसक्ने अवस्थामा नरहेको दावी गरे।
नेकपा मसालको नेतृत्वले पार्टीलाई दक्षिणपन्थी बाटोमा लैजाने नीति पारित गरेको भन्दै आफूहरु क्रान्तिकारी विचार बचाउन संघर्षमा जान बाध्य भएको मसालका पूर्व संगठन विभाग प्रमुख समेत रहेका समन्व्य समितिका प्रवक्ता कृष्णराज पौडेलले बताए। आफूहरु निरन्तर वार्ताका लागि पहल कदमी लिए पनि पार्टी नेतृत्वले वार्तालाई परिषद बैठकबाट नै लत्याएको उनको आरोप छ।
नेकपा(मसाल)को आठौं महाधिवेशनले लिएका दक्षिणपन्थी नीतिहरु नसच्याए र कार्यशैलीमा परिवर्तन नगरे एक वर्षभित्र विशेष महाधिवेशन गर्ने निर्णय भएको प्रवक्ता पौडेलले बताए। नेतृत्वले विशेष महाधिवेशनको आयोजना नगरेको खण्डमा समन्वय समितिले नै विशेष महाधिवेशन गरेर पार्टी निर्माण गर्ने उनको दावी छ।
समन्वय समितिले पार्टी परिचालनका लागि अन्तरिम कार्यविधि बनाएर काम गर्नेछ। पार्टी मातहतका जनवर्गीय संगठन, वैधानिक मोर्चा वा विभिन्न मंच तथा संघसंस्थाहरु पनि बनाउन सक्ने भेलाले म्यान्डेट दिएको पौडेले बताए।
विभिन्न प्रदेश समितिहरु तथा जनवर्गीय संगठनहरुले विद्रोह गरिसकेको भन्दै उनले विद्रोही संगठनहरुलाई समन्वय समिति मातहतमा परिचालन गर्ने समेत बताए। विशेष महाधिवेशन सम्पन्न नहुँदासम्मको समयलाई अन्तरिम अवधि मान्दै यो अवधिभर समन्वय समितिले पार्टीको नेतृत्व गर्ने, निर्देशन दिने, अन्य पक्षसँग सम्पर्क गर्ने, वार्ता संवाद गर्ने, सहकार्य गर्ने, आन्दोलनको नेतृत्व गर्ने, अपील तथा वक्तव्य जारी गर्ने लगायतका काम समन्वय समितिको नामबाट हुने गरि निर्णय भएको उनको भनाई छ।
पार्टी फूट कै दिशामा गएको संकेत देखिएको भए पनि नेताहरु फूट भएको घोषणा भने गरेका छैनन्। पार्टीको मुखपत्र प्रकाशन गर्ने, वैधानिक पत्रिकाहरु प्रकाशन गर्ने, सांस्कृतिक मोर्चा, संयुक्त मोर्चा, रणनीतिक मोर्चा, कार्यगत एकता आदि सम्बन्धी नीति निर्धारण गर्ने लगायतका कामहरु समन्वय समितिले गर्ने भए पछि एउटै पार्टी भित्र दुई वटा धार अस्तित्वमा रहने देखिएको छ।
देशमा भ्रष्टाचार, महंगी, तस्करी, घुसखोरी, नातावाद, परिवारवाद जस्ता विकृतिहरु मौलाइरहेकाले संसदीय लोकतन्त्र बदनाम र असफल सावित भइसकेको सो समूहको निष्कर्ष छ। संसदीय व्यवस्था असफल भएको भन्दै नयाँ जनवादी व्यवस्था स्थापनाका लागि त्यसको प्रचारमा जोड दिने कार्यनीति समेत पारित भएको प्रवक्ता पौडेलले बताए।
