PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

प्रचण्ड र माधव नेपाल हिँडेपछि कमल थापाले भने : राजालाई नारायणहिटीमा ल्याउने वातावरण बनाउछौं, मिडियाबाट उहाँहरुको कानमा पुगोस्



पहिलोपोस्ट

प्रचण्ड र माधव नेपाल हिँडेपछि कमल थापाले भने : राजालाई नारायणहिटीमा ल्याउने वातावरण बनाउछौं, मिडियाबाट उहाँहरुको कानमा पुगोस्

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले जनताले राजालाई नारायणहिटीमा ल्याउने वातावरण सिर्जना गर्नु आफूहरुको रणनीति भएको बताएका छन्।

राजधानीमा आयोजित राप्रपाको एकता महाधिवेशनलाई सम्बोधन गर्दै  उनले भने, 'जनताले राजालाई नारायणहिटी ल्याउँछन्। अहिले हाम्रो नारा भनेको राजा आउ देश बचाउ होइन। जनता आउ राजा ल्याऔं हो।'

उनले सम्बोधन गर्नुअघि गणतन्त्र स्थापनाका लागि भूमिका निर्वाह गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनलाई सम्बोधन गरेका  थिए। अध्यक्ष थापाले बोल्दा गणतन्त्र पक्षधर नेताहरु मञ्चबाट बाहिरिसकेका थिए।

थापाले उनीहरुको अनुपस्थितिलाई संकेत गर्दै - मिडिया मार्फत् नारायणहिटीमा राजा ल्याउने संदेश नेताहरुको कानमा पुग्ने विश्वास व्यक्त गरेका थिए।

उनले सम्बोधनका क्रममा  बीपी कोइरालाको स्मरण गर्दै राजा सहितको राष्ट्रिय मेलमिलापको आवश्यकता रहेको समेत बताए।

दक्षिण एसियामा संकट मडारिएको अवस्थामा बीपी कोइरालाले नेपाल फर्किएर राजासँग मेलमिलाप गरेको सन्दर्भसहित थापाले भने, 'बीपीले राजा र जनताको बिच एकता हुनुपर्ने बताएका थिए। मेरो र राजाको गर्द्धन एकै ठाउँमा रहेछ भनेका थिए। राष्ट्रियत र प्रजातन्त्र सगसँगै जानुपर्छ भनेका थिए।'

थापाले बीपीले भने झै अहिले राजासहितको प्रजातन्त्र आवश्यकता रहेकोमा जोड दिए।

'अहिले पनि देशलाई राष्ट्रिय मेलमिलापको आवश्यकता छ। त्यसर्थ लोकतन्त्रवादीहरु राजतन्त्रसँग नतर्स। राजतन्त्र पक्षधर लोकतन्त्रबाट नडराउन। अहिलेको आवश्यकता परम्परागत र परिवरर्तनकारी शक्तिबिच एकता हो। राजा र जनताको बिच एकता आवश्यकता हो,' उनले भने।

६२/६३ को आन्दोलनपछि देशलाई नयाँ बाटोबाट हिँडाउन खोजिएको भए पनि त्यो असफल भएको थापाले दाबी गरे।

'राज संस्था र हिन्दु राज्यलाई ध्वस्त गरियो। एकतात्मक प्रणालीलाई हटाइयो। यसबाट जनताको अनुहारमा खुशी आउँछ भनियो। तर, अहिले देश त्यसको विपरीत छ,' थापाले भने।

थापाले अब राजा र गणतन्त्रवादी मिलेर अघि बढ्नु पर्ने समेत बताए। गणतन्त्र धर्मनिरपेक्षलाई निषेध नगरी मध्यमार्गी बाटो खोज्न पर्ने भन्दै उनले राप्रपाको नेतृत्व सर्वसम्मतिमा छनौट गर्न पनि आह्वान गरे।

थापाले भने, 'सर्वसम्मतिले नेतृत्व चयनको प्रयास हुनुपर्छ। सहमतिबाट सकेनौं भने प्रजातन्त्रिक अभ्यासबाट नेतृत्व छान्न पर्छ। तर, कुनै पनि बहानामा हामीले नयाँ पुरानो विभाजनको रेखा कोर्नु हुँदैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell