PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

मकवानपुरका सबै गणकले बुझाए जनगणना टिपोट, मंसिर २५ गते केन्द्रमा पठाइने



निशा गुरुङ

मकवानपुरका सबै गणकले बुझाए जनगणना टिपोट, मंसिर २५ गते केन्द्रमा पठाइने

हेटौँडा : ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नारासहित गत कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म भएको १२ औँ राष्ट्रिय जनगणनामा मकवानपुरका सबै गणकले टिपोट बुझाएका छन्।

राष्ट्रिय जनगणना-२०७८ को तालिकाअनुसार मकवानपुरको गणना सकिएको छ। जिल्लाका सबै क्षेत्रमा खटिएका गणकले पालिका केन्द्रमा र सदरमुकाममा हुनेले तथ्याङ्क कार्यालयमा जनगणना टिपोट बुझाएका छन्।

सबै गणकले जनगणना टिपोट बुझाइसकेको हुँदा मंसिर २५ गते केन्द्रमा पठाइने जिल्ला तथ्याङ्क कार्यालय मकवानपुरका प्रमुख राजेस दासले बताए। मकवानपुरमा कुल ५ सय ५० जना गणक सहभागी थिए।

हेटौँडा-८ मा गणकका रुपमा खटिएकी जेनिशा घिमेरेले गणनामा सहभागी हुँदा अनौठो अनुभव बटुलेको बताइन्।

‘हामी घरघरमा पुग्दा कतिपयले आ-आफ्ना गुनासाहरु सुनाए’, गणक घिमिरेले भनिन्, ‘धेरैले सहयोग पनि गरे तर केहीले भने गणनामा सहभागिता जनाउन मानेनन्।’

कार्यालयसँग समन्वय गरी कुरा बुझाएपछि मानेको उनको अनुभव छ। साथै, कतिपयले सम्झाइबुझाई गरेपछि भने गणनाको उद्देश्य थाहा पाएर कमजोरी भयो भनेर माफीसमेत मागेको घिमिरे बताउँछिन्।

गणनाका क्रममा कोही नछुटुन् भनेर बिहान ६ बजेदेखि बेलुकी अबेरसम्म पनि घरघरमा पुगेको र छुटेकाको हकमा आफैँले फोन गरेर समय लिएर अर्को दिन काम सम्पन्न गरेको गणकहरु बताउँछन्। गणकहरुले एउटै घरमा आधा घन्टा समय बिताए। गणनाबाट धेरै विषयमा जानकारी भएकोले अवसरका लागि उनले तथ्याङ्क कार्यालयलाई धन्यवादसमेत दिइन्।

कैलाश गाउँपालिका ६ नम्बर वडामा खटेका एलिश लामाको क्षेत्रमा तामाङ, चेपाङ, मगर, दलित समुदाय छ। गणनाका लागि जनताको घरदैलोमा पुग्दा उनलाई जनताले प्रश्नको जवाफ दिनुको साटो गुनासो सुनाए।

‘राज्यका प्रतिनिधिहरु आफू भएको ठाउँमा नआएको उनीहरुको गुनासो थियो’, उनले भने, ‘घरको छाना चुहिएको, सडक र पानीको अभाव, महँगीको विषयसमेत गुनासो गर्न भ्याए।’

उनले थप भने, ‘सबैले सबै कुरा किन चाहियो समेत भने, कतिपयले जातको विषयमा जानकारी लिन खोज्दा किन? भनेर प्रतिप्रश्न गरे’, गणक लामाले भने, ‘जनगणनाले धेरै कुरा सिक्ने मौका मिल्यो।’

कतिपयले जनगणनाको बारेमा जानकारी नहुँदा समस्या भएको र धेरै बेरसम्म सहजीकरण गरेपछि मात्रै बुझ्ने गरेको उनले बताए।

जिल्लामा सौहार्दपूर्ण वातावरणमा गणनाको काम सकिएको तथ्याङ्क कार्यालय मकवानपुरका प्रमुख दासले बताए। गणकहरु घरघरमा जानुअघि ५ सय ५० जना सुपरिवेक्षकले प्रारम्भिक जानकारी लिएका थिए। एउटा ब्लकमा करिब २ सय ५० घर परेको थियो। जनगणनामा छुटेको भनी केहीले कार्यालयमा फोन गरेर जानकारी गराएको उनले बताए।

छुटेकाहरुको हकमा आइतवारसम्म उनीहरुकै निवासमा पुगेर गणना गर्ने गरिएकोमा अबदेखि भने सम्बन्धित व्यक्ति नै तथ्याङ्क कार्यालयमा आउनुपर्ने प्रमुख दासले बताए। गणकहरुसँगको कार्यसम्झौता सकिएको भन्दै अब उनीहरुबाट थप काम लिन नसकिने कार्यालयले जनाएको छ। गणक तथा सुपरीवेक्षकको लागि मकवानपुरको विभिन्न ७ स्थानमा तालिम सञ्चालन गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell