PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

चितुवाको छालासहित तीन जना पक्राउ



रासस

चितुवाको छालासहित तीन जना पक्राउ

काठमाडौं : काठमाडौं महानगरपालिका-९ स्थित एयरपोर्ट सेकुवा कर्नरबाट दुर्लभ वन्यजन्तु चितुवाको छालासहित प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ। उनीहरूका साथबाट करिब दुई फिट दुई इञ्च लम्बाइ र सात इञ्च चौडाइ भएको एक थान चितुवाको छाला बरामद भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-२ का २८ वर्षीय विशाल तामाङ, सोही ठाउँका ३२ वर्षीय विनोद तामाङ र गोकर्णेश्वर नगरपालिका-३ बस्ने चितवन राप्तीका ४२ वर्षीय कामी सिंह स्याङ्तान रहेका छन्।

काठमाडौं महानगरपालिका-९ एयरपोर्ट एरियामा केही व्यक्तिले दुर्लभ चितुवाको छाला अवैधरूपमा बिक्री वितरण गर्नको लागि लुकाई राखेको छ भन्ने सूचनाको आधारमा खोजतलासका लागि महानगरीय अपराध महाशाखा मीनभवनबाट प्रहरी टोली खटाइएको थियो। उक्त टोलीले आज उनीहरूलाई चितुवाको छालासहित फेला पारी पक्राउ गरेको हो।

बरामद छालासहित आवश्यक कारबाहीका लागि उनीहरुलाई जिल्ला डिभिजन बन कार्यालय काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell