सौराहा: होटल पार्क सफारी रिसोर्टको पहिलो तल्लाको बायाँतिर छ कोठा नम्बर २२२। गेटदेखिकै प्रहरीको कडा पहरा कोठा बाहिरसम्मै छ। अगाडि धेरै खाली ठाउँ छैन। पछाडि टहलिन खाली ठाउँ छ। त्यहाँ स्विमिङ पुल र बेन्चसेट बाहेक केही छैन। राप्ती किनार र चितवन राष्ट्रिय निकञ्जलाई नियाल्न सकिन्छ त्यहीँबाट।
के छ २२२ मा?
सौराहाको हात्तीचोकबाट अलिकति अगाडि बढ्दा दायाँतिर कच्ची सडक छ। त्यहिँदेखि १५० मिटर पश्चिम लाग्दा पुगिन्छ पार्क सफारी रिसोर्ट। रिसोर्टको दोस्रो तल्लामा छ कोठा नम्बर - २२२। जहाँको माहोल अरु ठाउँको भन्दा भिन्नै। पत्रकारको बाक्लो उपस्थिति। एमालेका कार्यकर्ताको खासखुस।
त्यहाँ भीडभाड हुनुको एउटै कारण हो, एमालेको शक्ति केन्द्र। जहाँ ओली चितवनमा रहुन्जेल बसे।
११ गते एमालेको १०औँ महाधिवेशनको बन्दसत्र थियो बिहानदेखि, होटल सेभेन स्टारमा। तर, दिउँसो मात्रै सुरु भयो। अघिल्लो दिन नारायणी किनारमा भीड थामिसक्नु थिएन। त्यही भीडले गर्दा पनि होला सौराहा एमालेमय देखियो। भित्र बन्दसत्र भए पनि बाहिरको माहोल जात्राजस्तो देखिन्थ्यो। माहोल कतिसम्म थियो भने सेभेन स्टार अगाडिको सडक बन्दै गर्नुपर्यो, बन्दसत्र थाल्न।
रिसोर्ट हट केक
बन्दसत्र सुरु भए पनि एमालेका कार्यकर्ताका लागि भने सफारी रिसोर्ट 'हट केक' बन्यो। सेभेन स्टारमा भन्दा सफारीमै चासो थियो सञ्चारकर्मीलाई पनि। ओली बन्दसत्रमा निर्धारित समयमा त आउँदैन थिए नै। अझ अनुपस्थिति हुन्छन् कि भन्ने आशंकासमेत हुन्थ्यो प्रतिनिधिलाई। पहिलो दिन ओलीले विदेशी पाहुनालाई स्वागत गरे र इमोस्नल स्पिच दिए। उनको हाउभाउमा परिवर्तन थिएन। तर ओलीले प्रतिनिधिको मन जित्ने जुक्ति निकाल्दै भनेका थिए-जिन्दगीको ठेगान छैन। प्रतिनिधिलाई मात्रै यो इमोस्नल स्पिच केन्द्रित थिएन आफू इतरलाई पनि निशाना थियो ओलीको।
ओलीको उन्माद
चुनावै नै नगर्ने अडानमा थिए ओली। टसमस नहुने अड्डी निकै कसे ओलीले। भीम रावलमा पनि उम्मेद्वारीबाट पछि हट्ने छाँट थिएन। ओली दोस्रो कार्यकाल अध्यक्ष हुनेमा जति दृढ थिए रावल पनि चुनाव गराउनेमा। यद्यपि ओलीलाई अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीहरु एकपटक रावलसँग वार्ता गर्न अनुरोध गर्थे। रावल चाहन्थे चुनाव अघि ओलीसँग वान टु वान भेट। तर ओलीले विभिन्न बाहना बनाउँदै रावललाई बाल दिएनन्। 'रावलसँग भेटवार्ता गरे चुनाव हुँदैनथियो कि?' लबिङ थालेका नेताहरुको अनुरोध हुन्थ्यो। तर ओली आफैँले भने रावलले समय नदिएको भन्दै पन्छिन्थे।
बन्दसत्रको हलले ओलीलाई नै पदाधिकारी र केन्द्रीय कमिटीको सूची प्रस्तुत गर्ने अधिकार दिएको थियो। अघिल्लो दिन राति बसेको केन्द्रीय कमिटीको बैठकले ओली अनुकूल निर्णय गरेको थियो। पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाएर ३०१ बनाउने। अधिकांशले सहमति जनाए पनि रावल र उपाध्यक्षका उम्मेद्वार घनश्याम भुसालले भने त्यसको बिरोध जनाए।
बन्दसत्रमै घम्साघम्सी
ओलीले आफ्नो शक्ति कतिसम्म प्रयोग गरेका थिए भने बन्दसत्रमा बिष्णु पौडेलसँग समय मागेर रावल बोल्दा उनको विपक्षमा प्रतिनिधिहरुले होहल्ला नै गरे। तर, रावल हच्किएनन्। न त परिस्थिति ओलीले चाहे अनुरुप रह्यो।
१२ गते दिनभरको माहोल ओली रावलका लागि सकसपूर्ण रह्यो। ओली चाहन्थे आफ्नो शक्तिलाई सोझै अनुमोदन गर्न अर्थात् टीका लगाएर पदाधिकारी र केन्द्रीय कमिटी छान्न। तर, रावल-भुसाल त्यसको बाधक बने। रावललाई उम्मेद्वारी फिर्ता गराउन कोसिस नभएको होइन। उपाध्यक्षमा चित्त बुझाउन हरसम्भव कोसिस गरे ओलीले। तर, ओलीको उक्त प्रयास असफल रह्यो।
आफ्नै बने तगारो
ओलीको संकट बढ्दो थियो। त्यतिबेला ओलीका लागि रावलमात्रै बाधक थिएनन् उनकै गुटका नेता सुवास नेम्बाङ र बिष्णु पौडेल पनि टाउको दुखाइको विषय बनेका थिए। किनभने वरिष्ठ उपाध्यक्षका लागि नेम्वाङले दाबी गरेका थिए भने महासचिवका लागि पौडेलले। लामो समयसम्मको रस्साकस्सीपछि १२ गते राति निकै अबेर कुरा मिल्यो। ओलीले बन्दसत्रमा प्रस्तुत हुने सूची पार्क सफारीको रिसेप्सनमा प्रिन्ट गराए। बन्दसत्र सुरु भयो र उनले ३०१ जनाको कमिटी घोषणा गरे। जहाँ रावल-भुसालहरुले असहमति जनाए पनि ओलीले चित्त नबुझे चुनाव लड्न भन्दै टारे। मनोनयनका लागि फारम भरे पनि रावलले उम्मेद्वारी त्यो दिन दर्ता गर्न पाएनन्।
कतै सास्ती, कतै मस्ती
१३ गते बिहानको माहोल फेरिएको थियो। ओली समूहका पदाधिकारी र केन्द्रीय सदस्य खुसी साटिरहेका थिए भने रावल र भुसाल निकट चुनावको याचना। भुसालले त्यतिबेला भनेको थिए -हामीलाई हराउनका लागि चुनाव गर्नुस्। बिहान रावलले उम्मेद्वार निर्वाचन आयोगमा दर्ता गराएपछि भने चुनाव हुने निश्चित भयो। रावलसँगै भुसाल, भीम आचार्य र टंक कार्कीले पनि उम्मेद्वारीको घोषणा गरेका थिए। त्यो दिन ओली बिहान मनोनयन दर्ता गर्नबाहेक रिसोर्टबाट निस्केनन्। साँझसम्म चुनाव हुने कार्यतालिका भए पनि हुन सकेन। ओली पक्षले केन्द्रीय सदस्य र अरु पदमा परेको उम्मेद्वारी फिर्ता गराउन निर्वाचनको समय लम्बाइरहेको थियो। रातिसम्मै पनि सुरु भएन। धेरैजसो प्रतिनिधि कोठा फर्किए। तर, बिहान २ बजेको समय घोषण गरियो। बिहान भने लामबद्ध रहेका प्रतिनिधिले मतदान गरे। भोटिङ मेसिनबाट मतदान भएकाले तत्काल नतिजा आउने बताइएको भए पनि तत्काल आएन। नतिजा आउन १४ गते अपरान्ह कुर्नुपर्यो। नतिजा घोषणा भने साँझमात्रै भयो। रावलको मत थियो २२३ र ओलीको १८३७।
२२२ मा २२३ को 'डार्टगन'
रावलले ओलीलाई चुनावसम्म मात्रै पुर्याएनन्। सर्वसम्मत चुनिएर शक्तिशाली अध्यक्ष बन्ने आकांक्षामाथि तुसारापात गरिदिए। पराजित रावल ओलीको अहंकारसँगको लडाईंमा भने एक हदसम्म सफल रहे। किनभने अनेक तिकडम बाजीका बीच निर्वाचन भयो जो रावलको लोकतन्त्रप्रतिको निष्ठा थियो भने ओलीका लागि चुनौती।
जसरी जंगलको राजा बनेर हिँडिरहेको सिंहलाई स्थान्तरण गर्नका लागि लठ्याउन 'डार्ट गन'को साहरा चाहिन्छ रावलले ओलीको ठाउँ देखाउन चुनावको साहरा लिए।
ओलीमाथि रावलले प्रहार गरेको डार्टगनले ओलीलाई कतिको लठ्यायो त्यो त भविष्यले पनि देखाउँछ नै। तर जसरी थरिथरि औषधि प्रयोग गरिसेकका बिरामीलाई सामान्य औषधिले छुँदैन, रावलले प्रहार गरेको डार्टगन अहिलेका लागि त्यस्तै देखिएको छ ओलीका लागि। खासै नलठ्ठिएजस्तै। अहमताका साथ एमालेमा रजाईं गरेर ओलीले १८३७ मत त ल्याए।
तर उनको रजगजका कारण एमालेले सत्तामात्र गुमाएन, हुँदाखाँदाको पार्टीसमेत दुई टुक्रा भएको इतिहास एमालेका प्रतिनिधिले भुसुक्कै बिर्सको देखिन्छ। पार्टी फुट रोक्न संसदबाट राजीनामा दिनसमेत तम्सेका रावललाई पार्टीमा बिरानो बनाउने प्रयास ओलीले जारी राखे। यद्यपि गुटले फुट निम्त्याउँछ भनेर रावल गुट बनाउन लागेनन्। त्यसो त ओलीको नेतृत्व आरोहण इतिहासलाई हेर्ने हो भने मनी-मसल अत्याधिक प्रयोग भएको थियो। त्यसको साक्षी रावलले सौराहामा त्यो तमासा गरेनन्। बरु चुनावी नतिजा स्विकार्दै ओलीसँग परिणाम घोषणामा बसे।
यस्तो अवस्थामा पनि २२३ को रावलको त्यो डार्टगन शक्तिशाली नै थियो। किनभने ओलीको शक्तिका अगाडि रावललाई चुनावका लागि खुट्टा टेक्नु फलामको चिउरा चपाउनु सरह थियो।