PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जनगणनामा जनताको प्रश्न : वास्तै नगर्ने सरकारलाई किन दिने विवरण?



पहिलोपोस्ट

जनगणनामा जनताको प्रश्न : वास्तै नगर्ने सरकारलाई किन दिने विवरण?

  • फूलमान तामाङ-

यसपटक म पनि राष्ट्रिय जनगणना कार्यक्रम २०७८ को गणक बन्ने अवसर पाएँ। खुसीको कुरा आफ्नै गाउँ सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा ४ मा गणक बनें। वडा ४ पहिले नवलपुर गाउँ विकास समिति हो। यही गाविसको साबिक ६ र ७ वडाका १३५ घरको तथ्यांक संकलन गर्नु मेरो जिम्मेवारी।

मंसिर २५ गते बिहान साढे ६ बजे ८० वटा प्रश्न भएको फारम बोकेर निस्के कैजले। साथमा जनगणना कार्यक्रमको परिचयपत्र, केही किताब थिए झोलामा। कलम त छुट्याउने कुरै भएन। सवारी साधन पुग्ने सडक भएपनि सवारी नचल्ने भएकोले ३० मिनेटमा पैदलै कैजले पुगे, अनि थालेँ काम।

शिवप्रसाद सापकोटाको विवरण सबैभन्दा पहिले लिएँ। इन्द्रावती गाउँपालिकाको केन्द्र नवलपुरमा कात्तिक १३ देखि १६ गतेसम्म तालिम लिएकाले विवरण लिन खासै अप्ठेरो परेन। सायद नेपालीभाषी र बाहुन परिवार भएकोले पनि होला सजिलो हुनुको कारण। अर्को चिनजानले पनि साथ दियो। २० देखि ३० मिनेटभित्र यहाँका घरहरुको विवरण भर्दै गए।

हामीलाई वास्ता नगर्ने सरकालाई किन दिने विवरण?

तथ्यांक संकलन गर्न दिउँसो गाउँगाउँ पुग्दा मान्छे भेटिन गाह्रो भयो। मंसिरमा धान काट्ने कोदो भित्र्याउने चटारोले कृषि मुख्य पेशा भएका यहाँका मानिसहरु प्रायः बिहान र बेलुका मात्रै भेटिन थाले। विवरण टिप्न कहिले खेतको फाँट त कहिले बारीको पाटोमा समेत पुगे।

विवरण लिन प्रश्नपत्र बोकेर घरघर पुग्दा कोही सोध्थे : के का लागि, किन घरिघरि लिन आएको? यो सरकारको कार्यक्रम हो। नेपालमा कति जनसङख्य बढ्यो? नेपालमा बस्नेहरुको आर्थिक, भौगोलिक शैक्षिक स्थिति प्रष्ट पार्न र त्यसैअनुसार बजेट नीति तथा कार्यक्रम ल्याउन यसले मद्दत पुग्ने भनेपछि विवरण दिन राजी हुन्थे।

पहिलो दिन त अलमलिए पनि महल २१ र २२ मा प्रायः जस्तो धेरै अल्मलिन्थे म। कहिलेकाही कोड खोज्न समय लाग्थ्यो। कोडको आधरमा विभिन्न चिजहरु वर्गीकरण गरिएको हुन्थ्यो। कसैलाई आफू जन्मेको, बिहे गरेको मिति थाहा हुदैन थियो। नगारिकता अनि विवाह दर्ता झिक्दा अझ समय लाग्थ्यो। अझ पहिलेका नागरिकता त जन्ममितिमा पनि वर्षमात्रै लेखिएको हुन्थ्यो। जसलाई कन्भर्ट गर्न केही समय लाग्थ्यो।

जन्म बसाई, बिहे, मृत्यु, शैक्षिक र आर्थिक क्रियाकलापसम्बन्धी प्रश्नहरु समेटिएको थियो यसपटक।

कहिलेकाही त सोध्नै नहुने उमेर समूहकालाई पनि प्रश्न सोध्न पुग्थे। धेरैजसोमा विवरण लिन सजिलै भयो।

पत्रकारिता लागेको भनेर थाहा पाएर पनि होला कतिपयले विवरण सहजै विवरण दिए। तर केही स्थानमा भने हम्मेहम्मे पर्‍यो विवरण माग्न।

केहीले चुनाव आउन लाग्यो अब कुन घरका कुन पार्टीमा रहेछन् भनेर जाँच गर्न आएको होलासमेत भने।

एकजनाले त आफ्नो विवरण दिनै मानेनन्। 'किन दिने? हामी काम गर्न सक्दैनौ। हामीलाई हेर्ने कोही पनि छैन। तर सरकारले हामीलाई वास्तै गर्दैन,' उनको आक्रोश थियो सरकारमाथि।

हाम्रो वडाको सुपरिवेक्षक विद्यालक्ष्मी तामाङ। केही अप्ठेरो परे सरल सहज ढंगले समन्वय गर्न टुप्लुक्क आइपुगिहाल्ने। सुपरिवेक्षकको प्रयासपछि बल्ल ती व्यक्ति विवरण दिन राजी भए।

अहिलेसम्म जीवित जन्मेका मध्ये कतिको मृत्यु भयो भन्ने प्रश्नमा त्यति खुल्न मानेनन् मानिसहरु। १५ वर्षदेखि ४९ वर्षको महिलालाई कति बच्चा जन्मनुभयो। मृत्यु भएको छ कि छैन? मृत जन्मिए कि जन्मिएपछि मरे? जस्ता प्रश्न सोधिएको छ। ती प्रश्नको जवाफ दिन अन्कनाए महिलाहरु।

धर्म जातजाति सन्दर्भमा त्यति अप्ठेरो परेन। कतिपयले त काठमाडौ बस्नेको विवरण पनि जबरजस्ती टिप्न लगाए।

वृद्ध भत्ता नपाएको गुनासो

गणना गर्ने क्रममा नगरिकता हेरेर उमेर बर्ष र जनममिति लेख्नु पर्थ्यो वृद्धहरुरुको। किनकी उनीहरुमध्ये कतिपयलाई थाहै हुन्न थियो कति वर्ष पुग्यो भनेर। 'नगरिकता दिइसकेपछि वृद्ध भत्ता पाउन पर्ने, खै हामीले त पाएनौं,' उनीहरुको गुनासो थियो।

नागरिकता बनाउँदा कम उमेर राख्दा त्यसो भएको पाएँ। 'यो टिपेर के काम? हामीले भत्ता नपाउने। तिमीहरुको पो जागिर पाक्ने,' एकजनाले भनिहाले। एकजना महिलाले त नागरिकतामा ९७ वर्ष पुगिसकेको रैछ तर अहिलेसम्म वृद्ध भत्तासमेत नलिएको बताइन्। उनका श्रीमानको उमेर चाहि ७५। उनले वृद्ध भत्ता पाउन थालिसकेका रहेछन्। श्रीमानलाई श्रीमतीको उमेर सोधे। 'म भन्दा २ वर्ष कान्छी हो,' उनको श्रीमानले जवाफ दिए।

जितबहादुर नामले दिएको दु:ख

पाराङखोरमा जाँदा जितबहादुर भन्ने व्यक्तिको नाम क्रमश भेटियो। उतर फारममा जितबहादुरको घर पत्ता लाग्न गाह्रो भयो।

मैले भेटेको जित बहादुरको घरमा नम्बर अर्कै थियो। उत्तर फारममा लेखिएको नम्बर अर्कै। त्यसपछि अलि माथि पुगे छतमा मान्छे रहेछन्।

२ जनालाई सोधे, 'जितबहादुरको घर कता हो?'

'यही हो' उनीहरुले उत्तर दिए। त्यो घरमा नम्बर खोजे तर भेटिनँ। त्यसपछि मैले सुपरिवेक्षकलाई सम्पर्क गरे समस्या सुल्झाउन सुपरिवेक्षक आइपुगिन् र सोधे मैले यो घरमा नम्बर नै भेटिन पछि घरमुली आएर लेखिएको घर नम्बर मेटाएको सुनाए। त्यसपछि त्यो घरको परिवार सङ्ख्या सोधे घरमुलीले उतरफारममा भएकै जति परिवार सङ्ख्या रहेको उनले बताए र पक्का त्यही भनेर सुपरिवेक्षकसँग समन्वय गरी त्यही घरको विवरण लिए। पछि उतारफारममा भएको जितबहादुर त आर्कै पो रहेछ। अनि फेरि उनकोमा पुगेर तथ्यांक लिए उनकै घरको ढोकामा लेखेको नम्बर ठ्याक्कै त्यहाँ मिल्यो। त्यसपछि फेरि संशोधन गर्नुपर्यो।

ट्याबको लोभ, हातको दुखाई

शुरुमा गणकलाई ट्याब दिने समाचार पढेको थिएँ। समाचारमै भर परेर म पनि गणक बन्न लोभिएँ। तर गणनामा जब खटिने दिन आयो। हातमा ट्याब होइन निलो रङको मुख्य प्रश्नावली किताबमा पो विवरण भर्नु पर्ने भयो। कलम समाएर।

पत्रकारितामा लागे यता कलमले लेख्ने बानी कम हुँदै गएको थियो। मोबाइल, ल्यापटबाट सबै काम हुने भएकोले कलम समात्ने बानी बिर्सदै गएछ। ४ दिनसम्म त प्रश्नावली भर्दा निकै हातै दुख्यो। पछि दुखाई कम हुँदै गयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell